१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025

विदेशी मुद्रा सञ्चिति २४ खर्ब नाघ्यो, १४ महिनाको आयात धान्न पुग्ने

२७ चैत, काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनासम्ममा मुलुकमा विदेशी मुद्रा सञ्चिति २४ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको आठ महिनाको वित्तीय विवरणअनुसार असार मसान्तको तुलनामा यस्तो सञ्चिति १८ प्रतिशतले बढेको हो । असार मसान्तसम्म २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ रहेको थियो ।

अमेरिकी डलरमा भने १३.१ प्रतिशत बढेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति १७ अर्ब २७ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा फागुन मसान्तमा ४४.९ प्रतिशतले बढेर २ खर्ब ७८ अर्ब ९५ करोड कायम भएको छ । फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.७ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८१-८२ को आठ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.२ महिनाको वस्तु आयात र १४.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

फागुन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ४२.२ प्रतिशत, ११९.४ प्रतिशत र ३३.० प्रतिशत रहेका छन् । २०८१ असार मसान्तमा उक्त अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार १७:४५