१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025

आठ महिनामा भित्रियो साढे १० खर्ब रेमिट्यान्स

२७ चैत, काठमाडौं । चालु आवको पहिलो आठ महिनामा १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले प्रकाशित गरेको वर्तमान आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार चालु आवमा रेमिट्यान्स ९.४ प्रतिशतले बढेको उल्लेख छ । गत वर्ष रेमिटेयान्स आप्रवाह १८ दशमलब ३ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.९ प्रतिशतले वृद्धि भई ७ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.१ प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा खुद ट्रान्सफर ११ खर्ब ४८ अर्ब १२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १० खर्ब ४१ अर्ब ९९ करोड रहेको थियो।

वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख १७ हजार ०६८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख १७ हजार ४०३ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ८५ हजार ३५२ र १ लाख ८२ हजार ७८३ रहेको थियो।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार १७:३४