२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025

एनआईसी एशिया बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने

२५ चैत, काठमाडाैं । एनआईसी एशिया बैंक लिमिटेडले आज (चैत २५ गते) देखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेकाे छ। बैंकले १० वर्ष अवधिको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०९१’ निष्काशन गरेकाे हाे ।

बैंकले प्रतिऋणपत्र १ हजार अंकित दरका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गरेकाे हो। सोमध्ये ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँड गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणमा बाँडफाँड गरिनेछ। सर्वसाधारणमा बाँडफाँड गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात १ लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ।

इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा २५ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । यो ऋणपत्रको निष्कासन बन्द छिटोमा चैत २८ गते र ढिलोमा वैशाख ८ गते बैंकिङ समयपछि हुनेछ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

 

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार ०९:१४