६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

‘महाभोज’को गीत ‘मख्खै परेँ’ सार्वजनिक: दयाहाङ, खगेन्द्र, अञ्जना, मलिका र गौमायाको कौडा नृत्य

१९ चैत, काठमाडौं । आगामी जेठ १५ गते बिहीबार रिलिज हुने चलचित्र ‘महाभोज’को पहिलो गीत ‘मख्खै परेँ’ सार्वजनिक भएको छ । कौडा भाकाको यस गीतमा सुरेन्द्र दियालीको शब्द रचना, प्रशान्त सिवाकोटीको स्वर तथा सङ्गीत रहेको छ भने ससिका राईले स्वरमा साथ दिएकी छन् ।

यस भिडियोमा चलचित्रका प्रमुख कलाकारहरू दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ र मलिका महतले कौडा नृत्य गरिरहेका छन् । यसका साथै अभिनेता आर्यन सिग्देल र अभिनेत्री सुरक्षा पन्तको आकर्षक उपस्थिति रहेको छ । आर्यनलाई गाउँको सभ्रान्त व्यक्तिको रूपमा प्रस्तुत गरिएको छ भने सुरक्षा उनकी पत्नीको भूमिकामा देखिएकी छन् । भिडियोको अन्त्यमा मलिका र खगेन्द्र छापामारको पोसाकमा देखिन्छन्, जसले चलचित्रको विषय र कथालाई रहस्यमय बनाएको छ । गीतका कोरियोग्राफर मौसम हिमाली हुन् ।

दिनेश राउतको निर्देशनमा बनेको ‘महाभोज’लाई दर्शकले उच्च अपेक्षाका साथ पर्खिरहेका छन् । विकास सुवेदीको स्क्रिप्ट लेखन रहेको यस चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायतका कलाकारहरूको अभिनय रहेको छ । क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त निर्माणमा तयार भएको यस चलचित्रका निर्माता हिमाल कडरिया हुन् ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलवार १७:१४