४ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025

१२ बीमा कम्पनीले घोषणा गरे लाभांश, कुनको कति ?

४ चैत, काठमाडौं । हालसम्म १२ वटा बीमा कम्पनीहरुले सेयरधनीका लागि लाभांश घोषणा गरेका छन् । कम्पनीहरूले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् । हालसम्म जीवन बीमा तर्फ ६ वटा र निर्जीवन बीमा तर्फ ६ वटा कम्पनीले लाभांश घोषणा गरेका छन् । ती बाहेकका अन्य कम्पनीहरुको लाभांश घोषणा हुन बाँकी छ ।

लाभांश घोषणा गर्नेमा जीवन बीमातर्फ सिटिजन लाइफ, हिमालयन लाइफ, सानिमा रिलायन्स लाइफ, आइएमई लाइफ इन्स्योरेन्स, नेपाल लाइफ र सूर्यज्योति लाइफ इन्स्योरेन्स रहेका छन् भने निर्जीवनतर्फ हिमालयन एभरेष्ट इन्स्योरेन्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, सानिमा जीआईसी इन्स्योरेन्स, शिखर इन्स्योरेन्स र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स छन्।

सिद्धार्थ प्रिमियरले सेयरधनीलाई गत आवको मुनाफाबाट ३० प्रतिशत नगद लाभांश दिने भएको छ । यस्तै, शिखर इन्स्योरेन्सले सेयरधनीलाई १० प्रतिशत बोनस र ०.५३ प्रतिशत नगद लाभांश गरि कुल १०.५ प्रतिशत लाभांश दिने भएको छ । त्यस्तैगरी, सानिमा जिआइसीले ७.५ प्रतिशत नगद र ०.३९ प्रतिशत नगद गरि ७.८९ प्रतिशत लाभांश दिने भएको छ । यस्तै, नेपाल इन्स्योरेन्सले १५ प्रतिशत बोनस र ०.७९ प्रतिशत नगद लाभाशं,आइजीआई प्रुडेन्सियलले ९.७४ प्रतिशत नगद र एभरेष्ट इन्स्योरेन्सले ८.७५ प्रतिशत नगद लाभांश मात्रै दिने भएको हो ।

साथै, सानिमा रिलायन्सले १.२४ प्रतिशत बोनस र ८ प्रतिशत नगद गरि कुल ९.२४ प्रतिशत लाभांश दिने भएको छ । त्यस्तै, नेपाल लाइफले १० प्रतिशत बोनस सेयर र ११.५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । यस्तैगरी, सूर्यज्योति लाइफले सेयरधनीलाई २० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

यस्तै, गत आवको मुनाफाबाट आइएमई लाइफले सेयरधनीहरुलाई २१.१ प्रतिशत नगद लाभांश दिने भएको छ भने हिमालयन लाइफले १४ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।त्यसैगरि सिटिजन लाइफले गत आवको मुनाफाबाट सेयरधनीलाई २६.९८ प्रतिशत बोनस र १.४२ प्रतिशत नगद लाभांश गरी २८.४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार १२:००