७ माघ २०८२, बुधबार | Wed Jan 21 2026

मुख्यमन्त्री लामालाई रिवन काट्ने रहर चढेपछि…

२६ फागुन, नुवाकोट । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई रिबन काट्ने रहर चढेपछि तत्कालीन परराष्ट्रमन्त्री एनपि साउद र भारतीय विदेशमन्त्री एस जयशंकरले संयुक्त रूपमा उद्घाटन गरेको नुवाकोटको विदुर नगरपालिका–५ पिपलटारस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको पुनः उद्घाटन भएको छ । यसअघि भारत सरकारको सहयोगमा निर्माण भएका तीन दर्जन भवनको एकै पटक उद्घाटन गरिएको थियो ।

आइतबार मुख्यमन्त्री लामाले दोस्रो पटक भवनको उद्घाटन गर्दै सेवा विस्तारको शुभारम्भ गर्नुभएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले २५ श्ययाको अन्तरङ्ग सेवा (अस्पताल) सञ्चालनमा ल्याएको छ । स्थापनाको करिब तीन दशकसम्म बहिरङ्ग (ओपिडी) सेवा दिँदै आएको थियो ।

दोस्रो पटक अस्पतालको उद्घाटन गर्दै मुख्यमन्त्री लामा ।

उद्घाटनमा मुख्यमन्त्री लामाले अस्पतालको सेवा विस्तारलाई नियमित बनाउन चुनौती भएकाले विश्वसनीय सञ्चालनका लागि सेवा प्रवाहमा खटिन सुझाव दिनुभयो । “आयुर्वेदिक सेवा मानिसले रोगले आक्रमण गर्न सुरु गदाको बखतमा लिनुपर्नेमा स्वास्थ्य अवस्था निकै कमजोर भएर अन्यत्र उपचार नभएर निराश भएपछि मात्र आउने गरेको पाएको छु”, उहाँले भन्नुभयो, “प्रदेश सरकारले मुख्यमन्त्री स्वास्थ्य कार्यक्रमलगायतका सेवा विस्तार गरेर पु¥याउँदै आएको सहयोगका सेवालाई प्रचारप्रसारमा जोड दिएर लक्षित वर्गसम्म पुर्याउन लाग्नुहोस् । बिरामीको माग र सेवाग्राहीको चापअनुसार थप सेवा वृद्धि गर्दै लैजानेछौँ ।”

चिकित्सालयमा अस्पतालको सेवा शुभारम्भको क्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले चिकित्सालयले आफूलाई चाहिने आयुर्वेद औषधिको उत्पादनमा संलग्न हुने कार्यक्रम सञ्चालनमा ल्याउन सुझाव दिनुभयो । अस्पताललाई चाहिने भौतिक संरचना, जनशक्ति, उपकरण सहितको सेवा उपलब्ध रहेकाले बिरामीलाई आयुर्वेद सेवामा आकर्षण गर्नतर्फ लाग्न उहाँले निर्देशन दिनुभयो ।

यसअघि बिरामीको स्वास्थ्य जाँच एवं परीक्षणको आधारमा औषधि उपलब्ध गराउँदै आएको चिकित्सालयले अब बिरामीलाई भर्ना गरेर उपचार दिन पाउने भएसँगै रसुवा र नुवाकोटको सेवाग्राही बिरामीलाई यहाँबाट अन्यत्र जानुपर्ने बाध्यता अन्त्य हुने कार्यालयका प्रमुख डा नरेन्द्रप्रसाद गिरीले जानकारी दिनुभयो ।

दोस्रो उद्घाटनका लागि पत्रकारहरूको बीचमा बाँडिएको निमन्त्रणा पत्र र पहिलो पटक अस्पताल उद्घाटन भएको परिचयपाटी ।

उहाँको अनुसार चिकित्सालयबाट बिशेषज्ञ चिकित्सकसहित विषयगत प्राविधिक (स्वास्थ्यकर्मी) मार्फत बिरामी परीक्षण, पञ्चकर्म/पूर्वकर्म थेरापी, योग, प्राणायम, जीवनशैली व्यवस्थापन, अकुपञ्चर, प्याथोलोजी ल्याब, निःशुल्क र सशुल्क फार्मेसीलगायतको आयुर्वेद उपचारको सेवा प्रवाह सञ्चालनमा छ ।

बागमती प्रदेश सरकारको नवीनतम कार्यको रुपमा ज्येष्ठ नागरिकको स्वास्थ्य प्रवद्र्धन, छ महिनासम्मका सुत्केरी लक्षित दुग्धवद्र्धक औषधि वितरण, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रममार्फत उच्च रक्तचाप, मधुमेह, मुटु, श्वासप्रश्वासजन्य रोगको परीक्षण, मानसिक रोग निराकरणसम्बन्धी परामर्शले आयुर्वेद उपचारको सेवा जनस्तरसम्म विस्तार गरिएको छ ।

कोभिड–१९ को महामारीको समयमा आयुर्वेद औषधालयको सेवा प्रवाह निकै प्रभावकारी भएसँगै त्यसपश्चात् बिरामीको चाप वृद्धि हुँदै आएको चिकित्सालयले जनाएको छ । नुवाकोट, रसुवा धादिङ सहित आसपासका जिल्लाबाट हाल दैनिक एकसय बिरामीले बहिरङ्ग सेवा लिँदै आएकाले अन्तरङ्ग सेवा विस्तारले यो दर अझै धेरै वृद्धि हुने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार ०९:५०