सूचिकरण गर्न ढिलाई गर्ने सामाजिक सञ्जाल प्लेटर्फमहरुलाई कानुनी दायरामा ल्याउछौँः मन्त्री गुरुङ
२३ फागुन, काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल प्लेटर्फमहरु मन्त्रालयमा सूचीकरण हुन नआए कानुनी दायरामा ल्याउन बाध्य भइने बताउनुभएकोछ ।
सञ्चार मन्त्रालयमा आज पत्रकार सम्मेलनमा बोल्दै उहाँले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम मन्त्रालयमा सूचीकृत हुन आग्रह गर्नुभएको हो । यस अघि मन्त्रालयले सूचीकरणका लागि ट्वीटर, फेशबुक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जाल प्लेटर्फमलाई मन्त्रालयमा सूचीकृत गर्न ताकेता गरेकोछ ।
मन्त्रालयको आव्हान पालना गरेकै कारण अहिले सम्म २०८१/०६/१६ मा विटक, २०८०/११/२४ भाइबर र २०८१/०७/०८ मा टिकटक सामाजिक सञ्जाल प्लेटर्फम सूचीकृत भएका छन् । अरु सामाजिक सञ्जाल प्लेटर्फम भने अझै पनि अटेरी गरिरहेकाले उनीहरुलाई समयमै सूचीकृत हुन मन्त्रालयले जोड दिएकोछ ।
मन्त्री गुरुङले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम सञ्चार मन्त्रालयमा सूचीकृत हुनै पर्ने बाध्यकारी रहेको बताउदै सुचीकृत नहुनेलाई कानुनको दायरामा ल्याउइने बताउनुभएको हो । “हामीले पत्रचार गरेर सामाजिक सञ्जाल प्लेटर्फमलाई सूचीकरण गर्न आग्रह गरेका छाैँ”, उहाँले भन्नुभयो,“फेरि अर्को पटक आव्हान गर्छौ, अटेरी गरे कानुनी दायरामा ल्याउछौँ । सूचिकरण नगरि उम्कीन पाइदैन ।”
मन्त्री गुरुङका अनुसार नेपालमा प्रयोग भएका सामाजिक सञ्जाल जथाभावी र मनपरी दुरुपयोग भइरहको जसले गर्दा समाजको सद्भाव विथोलिन पुगेकोछ । यसलाई व्यवस्थीत र नियमन गर्न मन्त्रालयले सूचिकृत गर्न आव्हान गरेको उहाँले बताउनुभयो ।
प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार १९:००






