कुम्भ मेलाबाट फर्किँदै गरेको गाडी दुर्घटनाः दम्पतीसहित ३ नेपालीको मृत्यु, ५ जना घाइते
४ फागुन, काठमाडौँ । भारतमा जारी कुम्भ मेलाबाट फर्किएको गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा परेर तीन नेपालीको मृत्यु भएको छ। दुर्घटनामा परेर रुपन्देहीको देवदह नगरपालिका-९ का ४५ वर्षका गणेश खनाल, उहाँकी श्रीमती ३५ वर्षिया दीपा खनाल र ४० वर्षीया गीता शर्माको मृत्यु भएको हो ।
कुम्भ मेलाबाट फर्किँदै गर्दा उत्तर प्रदेशको आजमगढ वाराणसी रोडको डिभाइडरमा ठोकिएर गाडी दुर्घटना भएको हो। दुर्घटनामा परेर सवारी चालकसहित ५ जना घाइते भएका छन्। घाइते हुनेमा देवदह-९, भलुहीकी कोपिला पोखरेल, उहाँका छोरा सुभम् पोखरेल, आविष्कार पराजुली, यमकलादेवी मगर र सवारी चालक भारतीय नागरिक रितेश दुबे रहेका छन्।

युपी ५३ एफ डी ४२८८ नम्बरको भारतीय नम्बरको गाडी दुर्घटनामा परेको हो। फागुन ३ गते देवदहबाट कुम्भमेला स्नान गर्न ५ वटा गाडीमा ३५ जना भारत गएका थिए। नेपाल फर्किने क्रममा चालकसहित ८ जना सवार उक्त गाडी दुर्घटना परेको हो।
प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार १४:२९






