८ माघ २०८२, बिहीबार | Thu Jan 22 2026

भगवान बुद्धले आफ्नो मृत्युको घोषणा गरेको दिनलाई राष्ट्रिय पर्वका रुपमा मनाउनुपर्छः उपप्रमुख डंगोल

३० माघ, काठमाडौँ ।  काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले गौतम बुद्धले आफुले निर्वाण प्राप्त (मृत्यु घोषणा) गर्नु भन्दा ३ महिना अघि नै आयुसंस्कारपरित्याग घोषणा गरेको दिनलाई राष्ट्रिय पर्वका रुपमा मनाउन माग गर्नुभएको छ ।

श्रीखण्ड तरुमूल महाविहार, सिखंमूबहाः बसन्तपुरले आज आयोजना गरेको ‘भगवान बुद्धको आयुसंस्कारपरित्याग दिवस’का अवसरमा बसन्तपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै यस्तो माग गर्नुभएको हो । ‘माघपूर्णिमा (सिल्लापुन्हि) भगवान गौतम बुद्धले आफुले निर्वाण प्राप्त (मृत्यु घोषणा) गर्नु भएको दिन हो,’ उपप्रमुख डंगोलले भन्नुभयो, ‘गौतम बुद्ध जन्मिएको दिन भनेर बुद्धजयन्ती मनाउँछौँ । उहाँले निर्वाण (मृत्युवरण) प्राप्त गरेको र बुद्धत्व प्राप्त गरेको दिन वैशाखशुक्ल पूर्णिमा पनि धूमधामसँग मनाउने चलन छ । तर, उहाँले अब म ठिक तीन महिनापछि निर्वाण प्राप्त गर्छु भनेर घोषणा गरेको दिन आयुसंस्कारपरित्यागको दिनबारे धेरैलाई जानकारी नै छैन ।’

उहाँले त्यो दिनको महत्वलाई दर्शाउन काठमाडौं महानगरपालिका आफ्नो ठाउँबाट सहयोग गर्न तयार रहेको पनि स्मरण गराउनुभयो । । ‘बुद्ध धर्म मान्ने विश्वका थुप्रै देशहरुले यो दिनलाई विशेष महत्वका रुपमा लिदैँ आएका छन्,’ उहाँले भन्नुभयो, ‘तर, बुद्धको जन्मभूमि नेपालमा हामीले धेरैलाई यो बारे जानकारी समेत दिन सकिरहेका छैनौँ । त्यहि कुराको महत्वलाई दर्शाउँदै हामीले खुलारुपमा मनाउने थालनी गरेका छौँ ।’

उहाँले यो दिनलाई राष्ट्रिय महत्वका रुपमा चिनाउनुपर्नेमा जोड दिनुभयो । ‘हामीले विश्वलाई हाम्रो देश चिनाउँदा सगरमाथाको देश भगवान गौतमबुद्धको जन्मभूमिको देश भनेर चिनाउँने गर्छौ र गर्व पनि गरिरहेका हुन्छौँ,’ उहाँले भन्नुभयो, ‘भगवान गौतम बुद्धको जन्मभूमिको देश भनेर चिनाउने यो भूमिलाई भगवान बुद्धका शिक्षा, सन्देश र उहाँसँग जोडिएका यस्ता महत्वपूर्ण दिनहरुलाई पनि सम्झिनु उत्तिकै महत्वपूर्ण छ ।’

उहाँले माघपूर्णिमा (सिल्लापुन्हि) का दिन हरेक वर्ष भगवान बुद्धको दिवस राष्ट्रियस्तरबाट मनाउनुपर्नेमा पनि जोड दिनुभयो । ‘श्रीखण्ड तरुमूल महाविहार, सिखंमूबहाः बसन्तपुरले यो दिवस मनाउने भनेपछि महानगरपालिकाले ‘होस्टेमा हैँसे’ मात्रै गरेको हो,’ उहाँले भन्नुभयो, ‘हामीले बुद्धका सन्देशलाई जीवनमा उपयोग गर्ने हो भने यो संसारिक दुःखबाट मुक्त हुने बाटो अपनाउँन केही सहज हुन्छ । महानगरपालिकाले बुद्धको सन्देशलाई शिक्षासँग, बालबालिका र सबै उमेरसँग पनि जोड्नुपर्छ भनेर परियति शिक्षालाई अघि बढाउँदै आएको छ ।’

कार्यक्रममा कौन्डण्य महास्थविरले ४५ वर्षसम्म उपदेश सञ्चार गरेको भन्दै युद्ध होइन शान्ति रोज्नुपर्छ भन्ने सन्देश गौतमबुद्धले दिएको स्मरण गराउनुभयो । ‘आफ्ना कर्मठ शिष्यहरु, शिक्षु र भिक्षुणीहरु, उपासक–उपासिकाहरु प्राप्त भैसकेका थिए,’ उहाँले भन्नुभयो, ‘त्यतिबेला भगवान बुद्ध ८० वर्षको हुनुहुन्थ्यो । उनीहरुले तपाईं महापरिनिर्वाण हुनका लागि उचित समय हो भनेपछि उहाँले आजकै दिन आयुसंस्कारपरित्यागलाई स्वीकार गर्दै ठिक तीन महिनापछि अर्थात बैशाख पूर्णिमाका दिन आफ्नो महापरिनिर्वाण हुने दिनको घोषणा गर्नुभएको थियो । त्यसैले पनि यो दिनको विशेष महत्व रहेको छ ।’

श्रीखण्ड तरुमूल महाविहार, सिखंमूबहाः बसन्तपुरका अध्यक्ष ईन्जिनियर्स दिलरत्न शाक्यले भगवान बुद्धले माघ शुक्लपूर्णिमामा अर्थात शिलापुन्हिका दिन आफू बैशाख पूर्णिमामा आफ्नो महापरिनिर्वाण हुने घोषणा गर्नुभएको दिन भएकाले पनि महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । ‘यसरी तीन महिना अघि नै आयुसंस्कार परित्याग गर्ने दिनको घोषणा गर्नुभएको हुनाले सोही दिनलाई विश्वभरका बौद्धमार्गीहरुले यस दिनलाई दिवसको रुपमा मनाउने गरेका छन्,’ उहाँले भन्नुभयो, ‘माघ पूर्णिमाका दिन थेरवादी विहारहरुमा यसु दिवसलाई मनाउने गरेको पाइन्छ तर महायान तथा वज्रयान बिहारहरुमा यस दिवसलाई मनाउने गरेको त्यति सुन्नमा आएको छैन,’ उहाँले भन्नुभयो, ‘श्रीखण्ड तरुमूल महाविहार, सिखंमूबहाः बसन्तपुरले गत वर्षदेखि सबै मिलेर शोभा यात्राका रुपमा मनाउने चलन सुरु गरेको छ । यसले विस्तारै प्रचार पनि पाएको छ ।’

उहाँले भगवान बुद्धले आयुसंस्कार परित्याग गर्नुभएको सन्दर्भमा यसको दार्शनिक पक्ष, ऐतिहासिक पक्ष, सांस्कृति पक्षलगायत विभिन्न कोषबाट अध्ययन–अनुसन्धान गर्दा धेरै कुरा उजागर भएको पनि स्मरण गराउनुभयो । उहाँले बुद्धकालिन समयका धेरै विषयहरु पलिभाषामा भएकाले पाली भाषालाई पनि प्रवद्र्धन तथा संरक्षण गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा उक्त विहारका सचिव संघरत्न शाक्यलगायतले पनि सम्वोधन गर्नुभएको थियो । कार्यक्रमा राष्ट्रिय सभाका सदस्य डाक्टर अन्जान शाक्य, सांसद विराजभक्त श्रेष्ठ, वागमती प्रदेशका पूर्वमन्त्री डाक्टर अजयक्रान्ति शाक्य, नेवा दे दबूःका अध्यक्ष पवित्र बज्राचार्यलगायतको पनि उपस्थिति रहेको थियो । आयुसंस्कार परित्याग दिवसका दिन भगवान बुद्धको मूर्ति विशेष रुपले सजाएर गाडीमा विराजमान गराई बसन्तपुरबाट विभिन्न सांस्कृतिक वाजागाजासहित शोभायात्रा गरी नगर परिक्रमा गराइएको थियो ।

गौतमबुद्धले २९ वर्षको उमेरमा गृहत्याग गर्नुभएको थियो भने ३५ वर्षको उमेरमा वैशाखपूर्णिमाको रातमा सम्बोधि लाभ (वोधिज्ञान) गर्नुभएको थियो । आज भन्दा २५०० वर्ष अघि वैशाखपूर्णिमाका दिन लुम्बिनीमा जन्मिनु भएका बुद्धले ८० वर्षको उमेरमा वैशाखपूर्णिमाकै दिन सहज महापरिनिर्वाण प्राप्त गर्नुभएको थियो ।

‘१२ सय ५० भन्दा बढी अर्हत् भिक्षुहरु एकत्रित भएको, एकत्रित सबै भिक्षुहरुको बुद्धवाक्यद्वारा उपसम्पदा हुनु, एकत्रित सबै भिक्षुहरुको पूर्वसूचना विना समागन हुनु, एकत्रित भिक्षुहरुलाई भगवान बुद्धद्वारा ओवाद प्रतिमोक्ष उपदेश प्रदान गर्नु जस्ता सुयोगले पनि यो दिनलाई धुमधामसँग मनाउने परम्परा छ ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार १५:१५