६ फाल्गुन २०८१, मंगलवार | Tue Feb 18 2025

कर्जा असुलीमा हिमालयन बैंकको गुण्डा परिचालन, अपहरणको शैलीमा यसरी समातिन्छन ऋणी

-माधवप्रसाद तिवारी 

१६ माघ, काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त हिमालयन बैंक लिमिटेडले कर्जा (ऋण) असुलीका लागि गुण्डा परिचालन गरिरहेको खुलासा भएको छ । बैंकले काठमाडौँ उपत्यका र उपत्यकाबाहिरका लागि छुट्टाछुट्टै कमिसनको दररेट नै तोकेर कर्जा असुलीका लागि गुण्डा परिचालन गरेको तथ्य दैनिकीले प्राप्त गरेको छ ।

बैंकले ऋण प्रवाह गरेर खरिद भएका सवारीसाधनहरू नियन्त्रणमा लिनका लागि कानुन हातमा लिएर छुट्टै गुण्डाको प्रयोग गर्ने गरेको तथ्यको करारनामा नै दैनिकीले प्राप्त गरेको छ । गुण्डा प्रयोग गरेर सवारीहरू नियन्त्रणमा लिनका लागि बैंकले २३ हजारदेखि ४६ हजार रूपैयाँसम्म कमिसन समेत दिने गरेको पाइएको छ ।

हिमालयन बैंकले परिचालन गरेका रामेछापका सञ्जिव लामा अर्कै बैंकले ऋण प्रवाह गरेको गाडीको साँचो थुत्नेक्रममा पक्राउ परेपछि बैंकले कर्जा असुलीका लागि गुण्डा परिचालन गर्ने गरेको तथ्य सार्वजनिक भएको हो । माघ १५ गते मंगलबार दिउँसो लुम्बिनी प्रदेशको रूपन्देही जिल्लाको देवदह नगरपालिकाको खैरहनीमा बीच सडकमा गुडिरहेको गाडी अपहरणको शैलीमा हिमालय बैंकबाट परिचालित भएका गुण्डाहरूले बीच सडकमा छेकाटो हानेर रोकी साँचो र कागजपत्र लुटेका थिए ।

बाग्मती प्रदेश ०१–०२६ च २१४६ नम्बरको गाडी हिमालय बैंकले परिचालन गरेका लामाले आफूलाई अधिकार भएको बताउँदै साँचो र कागजपत्र लुटेका थिए । एउटा बैंकको ऋणी माथि अर्कै बैंकले गुण्डा प्रयोग गरी अपहरणको शैलीमा बीच सडकमा साँचो र कागजपत्र लुटेपछि यसले बैंकिङ प्रणाली माथि नै प्रश्न उठाएको छ । प्रभु बैंकबाट ऋण लिएर गाडी चढिरहेका पौडेललाई हिमालयन बैंकका गुण्डाले बीच बाटोमा गाडी छेकेर धम्काउने र कागजपत्र थुत्नु निश्चय पनि राम्रो हैन । तर अपहरणको शैलीमा त्यसरी बीच बाटोमा गाडी छेकेर साँचो र कागजपत्र थुत्ने व्यक्तिसँग  हिमालयन बैंकले गरेको करारनामा भेटिएको छ ।

dainiki.com

मंगलबार अपहरणकै शैलीमा साँचो खोसिएपछि गाडी धनी भरत बहादुर पौडेल क्षेत्रीले प्रहरीलाई खबर गर्नुभएको थियो । त्यसपछि खैरहनी प्रहरी चौकीको प्रहरीले खानतलासी गर्दा साँचो लुट्ने लामासँग हिमालयन बैंकको करारनामा भेटिएको हो । यसरी दिनदहाडै कानुन हातमा लिएर गुडीरहेको गाडी समात्ने धन्दामा बैंकले असम्बन्धित व्यक्ति प्रयोग गर्नु गुण्डागर्दी भएको बैंकिङ क्षेत्रका जानकारहरू बताउँछन ।

बीच सडकमा गुडिरहेको गाडीलाई रोकेर अभद्र व्यवहार गरेको भन्दै पीडित पौडेलले इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दर्ता गराएको र दोषीलाई कारबाहीका लागि माग गरेको बताउनुभएको छ । उहाँले घटनापछि एउटा भिडियो सन्देशमा आफूलाई हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृतसहितले मिल्नका लागि अनुरोध गर्दै फोन गरेको जानकारी समेत दिनुभएको छ । आफ्नो गाडी समात्ने लामालाई भरतपुर शाखाले परिचालन गरेको पनि उहाँले पुष्टि गर्नुभएको छ । पौडेलले आफ्नो हिमालयन बैंकसँग कुनै साइनो समेत नरहेको प्रष्ट पार्नुभएको छ ।

बैंकहरूलाई नियमन गर्ने नेपाल राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलसँग दैनिकीले घटनाका बारेमा चासो राख्दा ऋण प्रवाह र असुली दुबैका बारेमा प्रष्ट कानुनी व्यवस्था भएका कारण बाहिरि व्यक्तिको प्रयोग गरेर कानुन हातमा लिएर जवर्जस्ती सवारीसाधन नियन्त्रणमा लिन नपाइने बताउनुहुन्छ । उहाँले बैंककै कर्मचारीले समेत आफैँ सवारी नियन्त्रणमा लिन नपाइने भन्दै झन कानुन हातमा लिएर गुण्डा परिचालन गर्ने कुरा कल्पना पनि गर्न नसकिने बताउनुभयो । उहाँले सवारीसाधन नियन्त्रणमा लिनुपर्ने भए नियम अनुसार ट्राफिक प्रहरीसँग समन्वय गर्नुपर्ने बताउनुभयो ।

प्रहरी कार्यालय खैरहनीले पक्राउ गरेर इलाका प्रहरी कार्यालय बुटवलमा बुझाएका सञ्जिव लामा अहिले पनि प्रहरी हिरासतमा छन । यो समाचार तयार गर्ने समयमा प्रहरीले सवारीधनी र हिमालय बैंकका प्रतिनिधि राखेर सहमतिको प्रयास गरिरहेको सवारी धनी पौडेलले दैनिकीलाई जानकारी दिनुभयो । अहिले इलाका प्रहरी कार्यालय बुटवलमा कानुन हातमा लिएर सवारीसधान नियन्त्रणमा खटाएका लामालाई छुटाउनका लागि बैंकका भरतपुर शाखाका कर्मचारी पुगेका छन ।

घटनाका विषयमा दैनिकीका तर्फबाट हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणा, सूचना अधिकृत तोकिनुभएको सहायक प्रमुख कार्यकारी अधिकृत सुनील प्रसाद गोर्खाली र गुनासो अधिकृत तोकिनुभएको सहायक प्रमुख कार्यकारी अधिकृत सिसम प्रधानाङ्ग जोशीसँग सम्पर्कको प्रयास भए पनि उहाँहरूसँग सम्पर्क हुन सकेन ।

नेपाल राष्ट्र बैंकले कर्जा असुलीका लागि विभिन्न कानुनी प्रावधान र निर्देशनहरू लागू गरेको छ । कर्जा असुलीका लागि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३, बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन २०५८ र बैंक तथा वित्तीय संस्थाको ऋण असुली नियमावली २०५९ रहेका छन । यी कानुनमा टेकेर कर्जा असुलीका प्रक्रिया र मापदण्डहरू पूरा गर्नुपर्ने हुन्छ । तर हिमालयन बैंकले भने गुण्डा परिचालन गरेर समाजमा अशान्ति मच्चाउने काम गरेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूले कर्जा प्रवाह गर्दा ऋणीसँग स्पष्ट लिखित सहमति गर्नुपर्छ, जसमा कर्जा रकम, ब्याजदर, भुक्तानी समयतालिका र अन्य शर्तहरू उल्लेखित हुन्छन् । ऋणीले कर्जा चुक्ता गर्न नसकेमा, सम्बन्धित ऐन र नियमावली अनुसार कर्जा असुलीका प्रक्रिया थालनी गर्नुपर्छ । कर्जा असुलीका क्रममा, बैंकहरूले ऋणीको सम्पत्ति धितो राख्ने, जमानीको माग गर्ने वा अन्य कानुनी उपायहरू अपनाउन सक्छन् । साथै, कर्जा असुली गर्दा नेपाल राष्ट्र बैंकको निर्देशन, प्रचलित कानुन र सर्वोच्च अदालतका निर्णयहरूको पूर्ण पालना गर्नुपर्छ ।

तर हिमालयन बैंकले भने संविधान र कानुनको मर्म र व्यवस्थाविपरित कर्जा असुलीमा कानुन हातमा लिनका लागि गुण्डा परिचालन गरेको तथ्य छर्लङ्गै भएको छ । यो ऋणी माथिको ठूलो अपराध हो । यसले वित्तीय प्रणालीको स्थायित्व र ऋणीहरूको हित संरक्षणमा गम्भीर प्रश्न उठाएको छ । पक्राउ परेका लामाले सवारीसधान नियन्त्रणका लागि लामो सूची नै बोकेर हिँडिरहेका कारण हिमालयन बैंकबाट ऋण लिएका अन्य थप त्रसित बन्नुपर्ने परिस्थिति बनेको छ ।

यसरी भयो गुण्डा परिचालनको पुष्टि

पश्चिम नवलपरासीको सुनवाल नगरपालिका वडा नम्बर १२ निवासी लोक गायक भरत बहादुर पौडेल क्षेत्री श्रीमतिसहित बाग्मती प्रदेश ०१ – ०२६ च २१४६ नम्बरको गाडी चढेर मंगबालर रूपन्देही देवदह जानुभएको थियो ।

बा २१ च ४४२३ नम्बरको इसुजी गाडीमा रहेका सञ्जिव लामाले पौडेलको गाडी अभोरटेक गरेर बाटो छेकी अपहरणको शैलीमा गाडी साँचो र कागजपत्र नियन्त्रणमा लिए । लामाको साथमा अर्का एक व्यक्ति पनि सँगै थिए । उनी लामाकै सहयोगी थिए ।

लगत्तै पौडेलले लामासँग परिचय माग्दै प्रतिकार गर्नुभयो । पौडेलले लामालाई बैङ्कको परिचयपत्र देखाउन आग्रह गर्नुभयो तर लामा धम्कीपूर्ण भाषामा पौडेल माथि नै जाइलागे । लामासँग परिचय पत्र थिएन । उहाँले खैरहनीका प्रहरीलाई तत्कालै खबर गर्नुभयो । ४० मिनेटपछि प्रहरी त्यहाँ पुग्यो । त्यसपछि खैरहनी प्रहरीले लामासहित उनको सहयोगीको शरिर गाडी खानतलासी गर्यो । खानतलासी गर्दा लामाको साथबाट चार पन्नाको करारनामा भेटियो । जसमा बैंकले लामालाई गाडी समात्न र त्यस बापत प्राप्त हुने कमिसनको व्यहोरा उल्लेख गरिएको छ । त्यसपछि खैरहनी प्रहरीले लामालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय पठायो ।

गुण्डा परिचालनमा हिमालयन बैंकले गरेको करारनामाको पूर्ण विवरण भोलि दैनिकीमा पढ्न सक्नुहुन्छ । 

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार २०:५६