६ फाल्गुन २०८१, मंगलवार | Tue Feb 18 2025

विश्वभर चलिरहेको स्टार्टअप ९५ प्रतिशत असफल हुन्छः मनोज ज्ञवाली

१८ माघ, काठमाडौँ । नबिल बैंकका सिनियर डिसिईओ मनोज ज्ञवालीले विश्वभर चलिरहेको स्टार्टअप ९० देखि ९५ प्रतिशत असफल हुने बताउनुभएको छ । नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागको आयोजनामा आजबाट सुरु भएको नेपाल स्टार्टअप र साना तथा मझौला सम्मेलनमा ‘नवप्रवर्तन र उद्यमशीलताद्वारा आर्थिक रुपान्तरण’ विषयक प्यानल डिस्कसनमा बोल्दै उहाँले स्टार्टअप सुरु सुरुमै असफल हुने बताउनुभयो ।

बिजनेश असफलताको रिक्स लिन बैंकहरू तयार नहुने भएकाले स्टार्टअपलाई बैंकहरुले लगानी नगर्ने उहाँको भनाइ छ । स्टार्टअपहरुले बैंकहरु खोज्नेभन्दा पनि सरकारी श्रोतहरु खोज्नुपर्ने ज्ञवालीको सुझाव छ । उहाँले भन्नुभयो, ‘यदि स्टार्टअप गर्ने हो भने आफ्नो सञ्चित रकमबाट सुरु गर्नुहोस् । यदी पुगेन भने परिवारको सदस्यहरुबाट लिनुहोस् । त्यसले पनि पुगेको भने भेन्चर क्यापिटलहरुमा जानुहोस् । त्यसले पनि पुगेन भने सरकारमा पुग्नुहोस् । यति गरेपछि स्टार्टअप ग्रो हुन्छ र बैंक त्यसपछि तपाईको पछि पछि लाग्छ ।’

सो छलफलमा गोल्डस्टार सुजको कार्यकारी निर्देशक विदुषी रानाले उत्पादनमूलक क्षेत्रमा नेपालले लगानी बढाउन जरुरी रहेको बताउनुभयो । नेपाली युवाहरुलाई शिप, तालिम प्रदान गरेर, नेपाली राखेर रोजगारी दिन सकिने उहाँको भनाइ छ । ‘व्यवसाय गर्न नेपालमा मात्रै नभएर विश्वमै चुनौती छ । तर, नेपालमा धेरै चुनौतीहरु छन् । जुनसुकै व्यवसायमा प्रविधिको अनिवार्य भैसकेको छ । यदी प्रविधिलाई प्रयोग गरिएनौं भनेपछि परिन्छ’,  उहाँले भन्नुभयो ।

उत्पादनमूलक उद्योगलाई बैंकहरुले प्रवाह गर्ने कर्जा महंगो भएको उहाँको तर्क छ । उहाँले भन्नुभयो ‘नेपालमा करिब १५ सय वटा फुटवेयर कम्पनीहरु छन् । करिब १५० कम्पनी मझौता र ४/५ वटा ठूला कम्पनी छन् । करिब ५० हजार जनालाई प्रत्यक्ष रोजगारी फुटवेयर उद्योगहरुले दिएका छन् । जसमध्ये ७५ प्रतिशत महिला जोडिएका छन् । नेपालबाट विदेश निर्यात हुने जुत्ताहरु मध्ये ९० प्रतिशत गोल्डस्टार रहेका छन् । पछिल्लो १० वर्षयता निर्यात गर्न गाह्रो भएको छ । बैंकको ब्याजदर महंगो छ । ट्रेडिङ र उत्पादनमूलक क्षेत्रमा व्याजदर फरक हुनुपर्छ ।’

छलफल तलको लिंकमा सुन्न र हेर्न सक्नुहुन्छ

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार १४:४६