१ पुष २०८२, मंगलवार | Wed Dec 17 2025

बामदेवसँग मिलेर एमाले सक्ने माधव सपनामा तुषारापात, अन्ततः बामदेव पनि ‘बा’ तिरै

८ माघ, काठमाडौँ । पूर्वउपप्रधान एवं गृहमन्त्री बामदेव गौतम अन्ततः राष्ट्रिय ‘बा’को उपमा पाउनुभएको केपी शर्मा ओली नेतृत्वको नेकपा (एमाले)मै फर्किनुहुने भएको छ । नेकपा (एकीकृत समाजवादी) पार्टीसँग पछिल्लो समय घनीभूत छलफल गरेर तेस्रो वरियताको नेता बनेर उतै जाने चर्चाका बीचमा गौतम माघ ९ गते बुधबारको साइतमा एमालेमा फर्किने हुनुभएको छ । यो कुराको पुष्टि गौतम स्वयंले गर्नुभएको छ । गाैतम ‘सोम खेती बुध घर भन्ने उक्ति चरितार्थ गर्दै बुधबारकै साइतमा एमाले फर्किने तयारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

उहाँले समाजवादीको अध्यक्ष माधवकुमार नेपालसँग पटक पटक वार्ता र छलफल गरेर पार्टी एकता राष्ट्रिय अभियान बिलाय गराउने बारेमा कुराकानी गर्नुभएको पनि थियो तर अन्तिम समयमा गौतम एमालेमै फर्किने निर्णयमा पुग्नुभएको छ । गौतम एमाले फर्किने भएपछि माधव नेपाल भने ट्वाँ पर्नुभएको छ । एमाले समाप्त अभियानमा गौतमको प्रवेशपछि केही राहत हुने माधव नेपालको ठहर थियो । तर अब त्यो पूरा नहुने भएको छ ।

यसअघि पनि सार्वजनिक रूपमै एमालेले चाहे र वोलाए फर्किन तयार रहेको भनेर गौतमले भाषण नै गर्दै आउनुभएको थियो । उहाँले कतिपय समयमा केपी ओलीले आफूलाई जिम्मेवारी दिए माधव र प्रचण्ड समेतलाई एक ठाउँमा ल्याउने दाबी समेत गर्दै आउनुभएको थियो । तत्कालीन नेकपा विघटनको संघारमा पुर्याउन प्रभावकारी भूमिका खेल्नुभएको गौतमको एमाले प्रवेशको खबरले एमाले जनमा भने खुशीको सञ्चार भएको छ ।

dainiki.com

प्रधानमन्त्री समेत रहनुभएको एमाले अध्यक्ष ओलीले बुधबारको साइतमा गौतमलाई एमालेमा स्वागतका लागि मंगलबार पार्टीका शीर्ष नेताहरूसँग अनौपचारिक छलफल समेत गर्दै हुनुहुन्छ । उहाँले एमालेका केही शीर्ष नेतालाई अपरान्ह ४ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमै निम्तो दिनुभएको छ । उक्त छलफल र भेटघाट एमालेको सचिवालय बैठकमै रूपान्तरण हुने सम्भावना पनि उत्तिकै रहेको छ । उक्त भेला वा छलफलको मुख्य एजेण्डा भनेको गौतमको स्वागत र व्यवस्थान रहेको बुझिएको छ ।

एमाले महासचिव शंकर पोखरेलसँग दैनिकीले पार्टीको सचिवालय बैठक बोलाउनु भएको भन्ने प्रश्न गर्दा उहाँले सचिवालय नै भनेर नबोलाइएको तर भेटघाट र छलफल हुने पुष्टि गर्नुभयो । राष्ट्रियसभामा सत्तारूढ दल नेपाली कांग्रेस र एमाले मिल्दा समेत समान्य बहुमत समेत नपुग्ने भएपछि प्रधानमन्त्री ओलीले गौतमलाई एमालेमा स्वागत गर्न लाग्नुभएको हो । गौतम एमाले फर्किएसँगै एमालेले राष्ट्रियसभामा एक सिट थप्नेछ ।

गौतम भने एमालेले ७० वर्षको उमेर हद हटाए लगत्तै पार्टी मुख्यालय च्यासलमा पुगेर अध्यक्ष ओलीसँग भेटगरी खुशी व्यक्त गरेर पार्टी बोलाए भोलि नै फर्किने बताउनुभएको थियो । तर गौतमको तीब्र इच्छामा ओलीको अनिच्छापछि त्यो सम्भव भएको थिएन । अहिले भने ओलीले नै इच्छा गरेपछि माधव नेपालसँगको सम्पूर्ण संवाद अन्त्य गर्दै गौतम एमालेमा फर्किनुहुने भएको छ ।

डा भीमबहादुर रावल माथि कारबाही गरेपछि उहाँले मातृभूमि जागरण अभियानको नाममा एमालेबिरोधी अभियान चलाइरहेको समयमा गौतमको एमाले प्रवेशले पार्टी कार्यकर्तामा उत्साह थपेको छ । एमालेले गौतमसँगै उहाँ जता गयो त्यतै पुग्ने करिब एक सय जना नेता कार्यकर्ताको व्यवस्थापनका बारेमा आन्तरिक छलफल चलाएको छ ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलवार ११:५०