सिद्धार्थ बैंकको प्रतिशेयर आम्दानी घट्यो, खुद नाफामा ५३.३६ प्रतिशतको गिरावट
७ माघ, काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडको खुद नाफा ५३.३६ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकको नाफा घट्दा जम्मा ५३ करोड २ लाख रुपैयाँमात्र खुद नाफा आर्जन गर्न सफल भएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५३.३६ प्रतिशत कम हो । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब १३ करोड ६८ लाख खुद नाफा कमाएको थियो ।
इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा घट्न पुगेको छ भने खुद ब्याज आम्दानी सामान्य बढेको छ । बैंकको खुद ब्याज आम्दानी ०.३० प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १८.६८ प्रतिशतले घटेको छ।

पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ ६१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३९.२१ गुणा रहेको छ। त्यस्तै, सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३६ करोड १९ लाख रुपैयाँ ऋणात्मक रहेको छ।
१४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १३ अर्ब ८९ करोड ३५ लाख रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा बैंकले २ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।
त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ४.४० प्रतिशत बढेको छ। बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब १८ करोड रुपैयाँबाट बढेर २ अर्ब २६ करोड ५१ लाख पुगेको छ। जसका कारण बैंकको सञ्चालन मुनाफा ५४.३७ प्रतिशत घटेको छ। नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। बैंकको यस्तो आम्दानी ८ रुपैयाँ ६५ पैसा घटेर ७ रुपैयाँ ५३ पैसामा सीमित भएको छ।
प्रकाशित मिति : ७ माघ २०८१, सोमबार १७:१६












