२४ पुष २०८१, बुधबार | Wed Jan 8 2025

माधव नेपालहरूका लागि एमाले फर्किने ढोका खुल्यो, यस्तो छ केन्द्रीय कमिटीको निर्णय

२३ पुस, काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीमा गएका नेताहरूका लागि एमालेमा फर्किने ढोका खुलेको छ । एमालेको ललितपुरमा सम्पन्न भएको आठौँ बैठकले पार्टी विभाजन गरी गएकाहरूका लागि पार्टीमा फर्किने ढोका खुला गरेको हो ।

बैठकले पार्टी विभाजन गरेर नेकपा एकीकृत समाजवादी पार्टी लगायतमा गएकाहरुलाई फर्किन आग्रह गरेको छ । बैठकपछि एमाले स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले पार्टीलाई निर्णायक शक्ति बनाउने अभियानका लागि पार्टीभन्दा पर पुगेकाहरूका लागि एमालेमै फर्किनका लागि आह्वान गरिएको बताउनुभयो ।

तीन दिनसम्म चलेको बैठकको निष्कर्ष सुनाउँदै पार्टी प्रचार विभागका प्रमुख समेत रहनुभएको गौतमले निर्णायक राष्ट्रिय शक्ति निर्माणको अभियानलाई सफल बनाउन पार्टी विभाजनलगायतका कारणले पार्टी बाहिर रहेका सबै नेता र स्वतन्त्र ढङ्गले क्रियाशील रहेकाहरूलाई एमालेमा फर्कन आग्रह गरेको बताउनुभयो ।

उहाँले पत्रकार सम्मेलनमा भन्नुभयो, ‘राष्ट्रिय शक्तिको निर्माण मुलुकको  अहिलेको आवश्यकता हो । यस्तो शक्तिको निर्माणबाट मात्रै राष्ट्रिय हित र स्वाभिमानको रक्षा, लोकतन्त्रको सुदृढीकरण, राजनीतिक स्थायित्वको सुनिश्चितता र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षाको परिपूर्ति र समाजवादको लक्ष्य हासिल गर्न सम्भव छ ।’

त्यसअघि केन्द्रीय कमिटी बैठकमा नेताहरूले उठाएका प्रश्नको अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिनुभएको थियो । उहाँले सो क्रममा एमालेमाथि जति प्रहार गरेपनि दृढताका साथ दरो भएर सत्यको पक्षमा उभिने बताउनुभयो । बैठकमा उहाँले भन्नुभयो, ‘हामी विश्व शान्तिको पक्षमा सधैँ उभिन्छौं । हामीमाथि जति नै प्रहार गरेपनि दृढताका साथ दरो भएर सत्यको पक्षमा हामी उभिन्छौं । हामीमाथि आन्तरिक र बाह्य चौतर्फी हमला छ तर हामी निरन्तर अगाडि बढिनै रहने छौँ ।’

अध्यक्ष ओलीले भन्नुभयो, ‘हरेक अपराधी कुरा गरेर जनतालाई भ्रममा पारेर एमालेलाई आक्रमण गर्ने काम भएको छ यी सबै षड्यन्त्र र आक्रमणका विरुद्ध सबै पार्टी पंक्ति एक ढिक्का भएर लड्ने छौं । देश र जनताको निम्ति जति नै घेराबन्दी गरेपनि जति नै हामीमाथि षड्यन्त्र भएपनि हामी त्यसकाविरुद्ध जुध्नेछौं र जित्नेछौं ।’

बैठकपछि एमालेले जारी गरेको
प्रेस विज्ञप्ति
नेकपा (एमाले) केन्द्रीय कमिटीको यही पुस २१ गतेबाट पार्टी अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा शुरु भएको आठौं पूर्ण बैठक आज सम्पन्न भएको छ । बैठकले राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा जनसरोकारका महत्वपूर्ण विषयहरू समेटिएका १४ बुँदे समसामयिक प्रस्तावहरू पारित गरेको छ ।
बैठकले राष्ट्रिय हित र स्वाभिमानको रक्षा, लोकतन्त्रको सुदृढीकरण, राजनीतिक स्थायित्वको सुनिश्चितता र ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा परिपूर्ति र समाजवादको लक्ष्य हासिल गर्न पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने प्रण गरेको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले बैठकलाई समापन सम्बोधन गर्नुहुँदै केन्द्रीय कमिटीका नेताहरूलाई पार्टीमाथिको महान् अभिभारा पूरा गर्न वैचारिक, राजनीतिक रूपमा सुस्पष्ट भएर पार्टीद्वारा निर्णित कार्ययोजना कार्यान्वयन गर्न कार्यक्षेत्रमा गएर काममा जुट्न निर्देशन दिनुभयो । अध्यक्ष ओलीले भन्नुभयो– नेकपा (एमाले) अनुशासित लोकतान्त्रिक पार्टी हो, हामीलाई समाजवादमा जानु छ, ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउनु छ । पार्टीमा अराजकता र अनुशासनहीनता सह्य हुँदैन ।

बैठकमा केन्द्रीय कमिटीका सबै सदस्यहरूलाई बोल्ने समय उपलब्ध गराइएकाले बैठक पूर्वनिर्धारित समय तालिकामा एकदिन लम्बिएर आज सकिएको हो । बैठकमा पार्टीका केन्द्रीय सदस्य, पोलिटव्यूरो सदस्य र स्थायी कमिटी सदस्यहरू गरी १५३ जनाले राजनीतिक प्रतिवेदन र संगठनात्मक कामको अवस्थामाथि आ–आफ्नो राय राख्नुभएको थियो ।

त्यसैगरी पार्टीका केन्द्रीय निकायहरू– सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहरा, अनुशासन आयोगका अध्यक्ष केशव वडाल, लेखा आयोगका अध्यक्ष डा.पुष्प कँडेल र निर्वाचन आयोगका अध्यक्ष डा.विजय सुब्बाले पनि आ–आफ्ना आयोगका कामको रिपोर्टिङका साथै प्रतिवेदनहरूमाथि सुझाव राख्दै सम्बोधन गर्नुभएको थियो ।

बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने महासचिव शंकर पोखरेलले संगठनात्मक कामको सङ्क्षिप्त जानकारी गराउनुभएको थियो । आजको बैठकमा उपमहासचिव प्रदीप ज्ञवालीले समसामयिक प्रस्तावहरू प्रस्तुत गर्नुभएको थियो ।

महासचिव पोखरेलले साङ्गठानिक अवस्थाको सङ्क्षिप्त जानकारी गराउँदै केन्द्रीय कमिटीको सातौं बैठकयता संगठन निर्माण र परिचालनका सन्दर्भमा महत्वपूर्ण कामहरू भएको, नेकपा स्थापनाको हीरक महोत्सव र राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक भव्य रूपमा सम्पन्न भएको लगायत विषय प्रस्तुत गर्नुभएको थियो ।

बैठकले पारित गरेका १४ बुँदे समसामयिक प्रस्ताव यस प्रकार छन्ः
१. राष्ट्रिय हितको रक्षा, राजनीतिक स्थायित्व, अर्थतन्त्रमा गतिशीलता, सुशासन, विकास र समृद्धिको मुख्य उद्देश्य राखेर नेकपा (एमाले) र नेपाली काँग्रेस सम्मिलित संयुक्त सरकार गठन भएसँगै देशमा राजनीतिक स्थायित्वको आशा जागृत भएको छ । मुख्य राजनीतिक दलहरुको नेतृत्वमा ७ दल सहभागी भएर बनेको यस सरकारसँग जनताका धेरै अपेक्षाहरु छन् । सरकारको काँधमा नेपालको संविधानले परिकल्पना गरेको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने दिशामा बलियो जग बसाल्ने ऐतिहासिक अभिभारा छ । सत्तारुढ दलहरु बिचको आपसी विश्वास तथा समझदारी अझ सुदृढ होस् र यो सरकार प्राप्त ऐतिहासिक अवसरलाई सदुपयोग गर्दै अर्थतन्त्रलाई गतिशील बनाउन, सुशासन, विकास र समृद्धिको अभिभारा पूरा गर्न एवं राजनीतिक स्थायित्व सुनिश्चित गर्न सफल होस् भन्ने यो बैठक कामना गर्दछ । नेकपा (एमाले) यस सहमतिको कार्यान्वयन र सरकारको सफलताका लागि हरसंभव योगदान गर्न प्रतिबद्ध छ ।

२. सशस्त्र द्वन्द्व, लामो सङ्क्रमणकाल, भूकम्प र महामारी जस्ता चुनौतीका बिचमा नेपालले गएको साढे तीन दशकमा हासिल गरेका उपलव्धिहरु महत्वपूर्ण छन् । यद्यपि आज पनि सुस्त विकास, न्यून आर्थिक वृद्धि, बेरोजगारी र परनिर्भरता जस्ता चुनौतीहरु विद्यमान छन् । राष्ट्रिय पुँजीको निर्माण गर्दै र स्वाधीन अर्थप्रणालीको विकास गर्दै समाजवाद उन्मुख राज्य निर्माणमा हामी दृढ सङ्कल्पित छौँ । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ््क्षा अवश्य पूरा हुन्छ भन्ने आत्मविश्वास बलियो बनाउन र यस सामाजिक– आर्थिक रुपान्तरण र समृद्धिको अभियानमा सहभागी हुन यो बैठक आह्वान गर्दछ ।

३. स्वदेशभित्र अवसर नदेखेर या भएको अवसर सदुपयोग गर्न नसकेर भइरहेको युवाहरुको ठूलो सङ्ख्यामा प्रवासनप्रति नेकपा (एमाले) चिन्तित र संवेदनशील छ । देशभित्रै केही गरौं भन्ने हुटहुटी बोकेका युवाहरुलाई प्रोत्साहन, सहयोग र साझेदारी गर्दैै युवाहरुमा उद्यमशीलताको विकास गर्न, उनीहरुलाई उत्पादन, रोजगारी र स्वरोजगारीमा जोड्न र सूचना प्रविधि लगायत क्षेत्रमा प्राप्त अवसरलाई सदुपयोग गर्ने उपयुक्त वातावरण निर्माण गर्दै समृद्धिका संवाहकका रुपमा युवाहरुलाई परिचालन गर्न यो बैठक सरकारको ध्यानाकर्षण गर्दछ । ५० को दशकमा सशस्त्र द्वन्द्व, ६० को दशकमा शान्ति स्थापना र ७० को दशकमा संविधान निर्माण गर्दै अगाडि बढेको मुलुकमा ८० को दशकलाई समृद्धिको दशक र रोजगारी सिर्जनाको दशकको रुपमा अगाडि बढाउन सरकार सफल होस् भन्ने बैठक कामना गर्दछ ।

४. गम्भीर सामाजिक चुनौतीका रुपमा रहेको भ्रष्टाचारलाई नियन्त्रण गर्न सरकारले सुरु गरेका कदमहरु सकारात्मक छन् । यो बैठक भ्रष्टाचारको अनुसन्धान, अभियोजन र न्याय निरुपणका लागि स्थापित राज्यका निकायहरुलाई अझ अधिकारसम्पन्न र साधनस्रोतले युक्त बनाउन, भ्रष्टाचारका विरुद्ध सामाजिक जागरण वृद्धि गर्न, सहकारी बचतकर्ताहरुको रकम सुरक्षितसाथ फिर्ता हुने कुरा सुनिश्चित गर्न, अनियमिततामा मुछिएका जोसुकैका विरुद्ध निर्ममतापूर्वक प्रस्तुत हुन र भ्रष्टाचार भएको भनी चर्चामा रहेका सबै प्रकरणहरुको यथाशीघ्र छानबिन गरी निष्कर्षमा पु¥याउन सरकारको ध्यानाकर्षण गर्दछ । र, आफ्नो पङ्क्तिमा सदाचार, स्वच्छता र पारदर्शिता सुनिश्चित गर्ने गराउने दृढ सङ्कल्प गर्दछ ।

५. नेपालको संविधान कार्यान्वयनको दश वर्ष हुन लागेको छ । संविधान कार्यान्वयनको वस्तुनिष्ठ समीक्षा गर्दै यसका सबल र दुर्बल पक्षहरुलाई निक्र्यौल गर्न र संविधानका प्रगतिशील अन्तरवस्तुहरुको संरक्षण र राजनीतिक स्थायित्वलाई सुनिश्चित गर्ने गरी वृहत् समझदारी र सहभागितामा संविधानको समयानुकूल संशोधनको प्रक्रिया अगाडि बढाउन यो बैठक सरकारसँग आग्रह गर्दछ ।

६. मिथ्यासूचना (मिसइन्फर्मेशन), दुराशययुक्त सूचना (डिसइन्फर्मेशन) र झुठ्ठा सूचना (फेक इन्फरमेशन) आज विश्वव्यापी चुनौती बनेको छ । यसले समाजमा विभाजन, प्रदूषण र नैराश्य सिर्जना गरिरहेको छ । नेपाल पनि यो समस्यासँग जुझिरहेको छ । यो बैठक संविधानप्रदत्त प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई सुनिश्चित गर्दै मिथ्याप्रचारलाई रोक्न राज्यका नियामक निकायहरुको भूमिका थप प्रभावकारी बनाउन सरकारसँग आग्रह गर्दछ । पार्टी पङ्क्तिलाई सूचना प्रविधिको सही सदुपयोग गर्न र सरकार तथा पार्टीले हासिल गरिरहेका सकारात्मक उपलव्धि, सफलता र अग्रगतिका सूचना मार्फत् जनतामा आशा र भरोसा जगाउन एवं दुराशययुक्त सूचनालाई खण्डित र निष्प्रभावी बनाउन आह्वान गर्दछ ।

७. गतः वर्ष जाजरकोट र रुकुम (पश्चिम) मा गएको भूकम्पबाट प्रभावित भूकम्पपीडितहरुको पुनस्र्थापना र पुननिर्माणका काममा भइरहेको ढिलाइप्रति यस बैठकको गंभीर ध्यानाकर्षण भएको छ । यो बैठक अबिलम्ब बाँकी किस्ता राहत सहयोग उपलब्ध गराई पुनस्र्थापना र क्षतिग्रस्त क्षेत्रमा पुननिर्माणमा तीव्रता दिन नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ । साथै, गएको असोज दोस्रो साता बागमती प्रदेश लगायत विभिन्न ठाउँमा आएको बाढी, पहिरो र डुबानबाट भएको क्षतिबाट प्रभावितहरूको पुनस्र्थापना र पुनर्निर्माणका लागि पनि बैठक सरकारसँग गंभीर आग्रह गर्दछ ।

८. सुदूर पश्चिम र कर्णाली प्रदेशमा बारम्बार गइरहेका ससाना भूकम्पका धक्काहरुले त्यस क्षेत्रमा त्रास बढाएको छ । यही पुस ६ गते बिहान बाजुराको जगन्नाथ– ५ गोत्री केन्द्रबिन्दु बनाई गएको भूकम्पले सयौं घरहरु भत्काएको छ । आज चीनको तिब्बत केन्द्रबिन्दु बनाएर गएको भूकम्पले नेपालमा पनि केही भौतिक क्षति पुगेको छ । संभाव्य प्राकृतिक विपत्तिको पूर्वतयारीलाई प्रभावकारी बनाउन आवश्यक रहेको कुरामा जोड दिँदै यो बैठक यस विषयमा सङ्घ, प्रदेश, स्थानीय तह र नागरिकहरु बिच बलियो साझेदारी निर्माणका लागि सम्बद्ध सबैको ध्यानाकर्षण गर्दछ ।

९. आज विहान चीनको स्वशासित क्षेत्र तिब्बतको सिगात्से नजिकै केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पले हालसम्म चीनमा ९५ जनाको ज्यान गएको र ठूलो भौतिक क्षति पुगेको छ । यस प्राकृतिक विपत्तिबाट पीडित चिनियाँ जनताप्रति गहिरो सहानुभूति व्यक्त गर्दछ ।

१०. निर्णायक राष्ट्रिय शक्तिको निर्माण मुलुकको आवश्यकता हो । यस्तो शक्तिको निर्माणबाट मात्रै राष्ट्रिय हित र स्वाभिमानको रक्षा, लोकतन्त्रको सुदृढीकरण, राजनीतिक स्थायित्वको सुनिश्चितता, र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाको परिपूर्ति र समाजवादको लक्ष्य हासिल गर्न संभव छ । यस्तो शक्तिको निर्माण नेकपा (एमाले) को नेतृत्वमा मात्रै संभव छ । यस यथार्थलाई मनन गर्दै निर्णायक राष्ट्रिय शक्ति निर्माणको यस अभियानलाई सफल बनाउन पार्टी विभाजन लगायत कारणले पार्टी बाहिर रहनु भएका सबै कमरेडहरु र स्वतन्त्र ढङ्गले क्रियाशील रहनुभएका मित्रहरुलाई नेकपा (एमाले) मा फर्कन, यसमा आबद्ध हुन र सक्रिय हुन यो बैठक आह्वान गर्दछ ।

११. यो बैठक श्रमजीवी जनता र विपन्न नागरिकहरुलाई केन्द्रमा राखेर दैनिक उपभोग्य बस्तुहरुको सहज आपूर्ति गर्न, महङ्गी नियन्त्रण गर्न, कालोबजारी, मिसावट नियन्त्रण गर्नका लागि बजारको प्रभावकारी अनुगमन तथा नियमन गर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ । आफूले उत्पादन गरेको कृषि उपजहरुको उचित बजार र मूल्य किसानहरुले पाउने कुरा सुनिश्चित गर्न, बिचौलियाको बिगबिगी अन्त्य गर्न र स्वदेशी कृषि उत्पादनको संरक्षण गर्न यो बैठक सरकारको ध्यानाकर्षण गर्दछ ।

१२. यो बैठक पार्टीका विभागहरुका तर्फबाट तयार गरी सम्माननीय प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरिएका सुझावहरुको प्रभावकारी र क्रमबद्ध कार्यान्वयनका लागि नेपाल सरकारसँग माग गर्दछ ।

१३. यो बैठक विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थाहरुमा भइरहेका बन्द, हडताल र अवरोधका घटनाहरुप्रति गहिरो चिन्ता व्यक्त गर्दछ । यस्ता गतिविधिले गुणस्तरीय शिक्षाको राष्ट्रिय लक्ष्यमा गंभीर नकारात्मक प्रभाव पार्नुका साथै विद्यार्थीहरुको वाह्य प्रवासनलाई बढावा दिइरहेको छ । यो बैठक त्यस्ता शैक्षिक संस्थाहरुलाई हडतालमुक्त क्षेत्र घोषणा गर्न र स्वस्थ प्राज्ञिक वातावरण निर्माणका लागि प्रभावकारी भूमिका खेल्न सरकारसँग आग्रह गर्दछ । सम्बद्ध विद्यार्थी, प्राध्यापक र कर्मचारी सङ्घसंस्थाहरुलाई यस अभियानमा सकारात्मक योगदान गर्न आह्वान गर्दछ ।

१४. गतः २०८१ कार्तिक २४ गते पार्टीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य देवीप्रसाद पोखरेलको दुःखद निधन भएको छ । तत्कालिन ‘सन्देश समूह’ मा आबद्ध हुँदै कोकेसँग एकीकरण गर्न र नेकपा (माले) र एमालेको विकासमा महत्वपूर्ण योगदान गर्नुभएका कमरेड देवीप्रसाद पोखरेलको निधनप्रति गहिरो शोक व्यक्त गर्दै यो बैठक उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछ ।

राजेन्द्र गौतम
प्रमुख
केन्द्रीय प्रचार तथा प्रकाशन विभाग

प्रकाशित मिति : २३ पुष २०८१, मंगलवार १७:०४