२ बैशाख २०८२, मंगलवार | Tue Apr 15 2025

नुवाकोटको शेरा दरबारको १८४ रोपनी जग्गा कम्पनी हुँदै यसरी पुग्यो व्यक्तिको कब्जामा

१२ पुस, नुवाकोट । नुवाकोटको शेरा दरबारको १८४ रोपनी जग्गामा भूमाफियाहरूको गिद्देनजर परेको पाइएको छ । नागरिक दैनिकमा पत्रकार टपेन्द्र कार्कीले पुस ९ गते शेरा दरबारको १८४ रोपनी कम्पनीको कब्जामा, पुस ११ मा शेरा दरबार कब्जामा माओवादीकै संलग्नता र पुस १२ मा दाहाल प्रधानमन्त्रीकालमै शेरा दरबारमा माओवादीको कुदृष्टि शीर्षकमा विस्तृतमा खुलासा गरेका छन ।

नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नम्बर २ मा रहेको ऐतिहासिक शेरा दरबारको एक सय ८४ रोपनी जग्गा नेकपा माओवादी केन्द्रका केही नेताको योजनामा भूमाफियाको कब्जामा परेको हो। सुरूमै नेपाल ट्रष्टको नाममा आउनु पर्ने जग्गा केही माओवादी नेताको योजनामा कम्पनी हुँदै व्यक्तिको नाममा पुगेको छ ।

बेलकोटगढी नगरपालिका, लिखु गाउँपालिका र विदुर नगरपालिकाको संगमस्थल रहेको तादी खोलाको किनारमा पर्ने जग्गा प्लटिङ गरेर भूमाफियाहरूले धमाधम बिक्री सुरू गरिसक्दा पनि राजनीतिक संरक्षणमा छानविन समेत रोकिएको कुरा बाहिर आएको छ ।

नेपाल एकीकरणका पिता स्वर्गीय श्री ५ पृथ्वीनारायण शाहले गर्मीयाममा आफ्नो समय बिताउन भनी उक्त दरबार बनाउन लगाएको कुरा चर्चा हुनेगरेको छ। कतिपयले यो दरबारलाई शेरा दरबारको अलवा कान्छी रानीको दरबार भनेर पनि चिन्ने गरेका छन । नेकपा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिवालयमा काम गरिसकेका विकेश श्रेष्ठले दरबारको जग्गा कम्पनीको नाम हुँदै प्लटिङ गरेर व्यक्तिको नाम पुर्याउनका लागि भूमिका खेलेको देखिएको छ ।

यो पनि पढ्नुहोस्

नुवाकोटको शेरा दरबार प्रकरण: थप अनुसन्धान र कारबाहीका लागि सिआईबीलाई पत्र

शेरा दरबारको जग्गामा गृहमन्त्रीको पनि चासो, दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन

नुवाकोटको शेरा दरबारको जग्गा फिर्ता ल्याउन सरकारलाई सिआईबीको सिफारिस

नुवाकोटको शेरा दरबारको जग्गा हिनामिना गर्ने माथि अख्तियारले थप अनुसन्धान र कारबाही गर्ने

नुवाकोटको शेरा दरबारको १८४ रोपनी जग्गा कम्पनी हुँदै यसरी पुग्यो व्यक्तिको कब्जामा

नागरिक दैनिकका अनुसार २०८० मंसिर १० गते सो जग्गामा अन्नपूर्ण फार्मिङको नाममा आएको थियो। त्यसका सञ्चालक काठमाडौँ बुढानीलकण्ठ स्थायी घर भएका विकेश श्रेष्ठ र उनका छोरा मनोबल श्रेष्ठ छन्। सुरुमा सो जग्गा गौरीशंकर फार्मिङका नाममा दर्ता भएको र पछि नामसारी गरी अन्नपूर्ण फार्मिङका नाममा आएको छ।

२०३५ फागुन १२ मा शेरा दरबार र त्यसले चर्चेको कित्ता नं. ८२, ८३, ८४, ८७, ८८, ८९, ९०, ९२, ९३, ९४, ९५, ९७ र ९८ गरी १३ कित्ता जग्गा गौरीशंकर फार्मिङका नाममा नापी भएको थियो। सो जग्गा भूमिसुधार ऐन लागु भएपछि हदबन्दी लागु हुनुअघि शेरा दरबार र त्यसले चर्चेको जग्गा तत्कालीन राज महेन्द्र वीरविक्रम शाहका भाइ अधिराजकुमार बसुन्धराकी श्रीमती हेलेन शाह र विजयराज्यलक्ष्मी शाहको अंशमा पर्न गएको थियो। त्यसपछि हदबन्दीका कारण सो जग्गा व्यक्तिको नाममा नापी हुन नसकेर गौरीशंकर फर्मिङका नाममा गराइएको थियो। सो फार्मिङ २०२७ सालमा स्थापना भएको थियो।

त्यसपछि २०५२ सालमा सो जग्गा अन्नपूर्ण फार्मिङका नाममा आएको थियो। त्यतिबेला अन्नपूर्ण फार्मिङका सञ्चालकहरू नरेन्द्रलाल प्रधान, केदारनाथ श्रेष्ठ, सजनी श्रेष्ठ, सोहिनी श्रेष्ठसहित चारजनाको नाममा सेयर हस्तान्तरण भएको थियो। सोही फार्मिङमा २०७३ सालमा विकेश श्रेष्ठ सेयर सदस्य भएको र अहिले सम्पूर्ण स्वामित्व लिएपछि त्यसलाई प्लटिङ गरेर बेच्न लागेको अवस्थामा राज्यले नेपाल ट्रस्टको जग्गा भएको जनाउँदै अनुसन्धान अघि बढाएको हो। अन्नपूर्ण फार्मिङका सञ्चालकको नाता सम्बन्ध  माअोवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डको परिवारसँग जोडिएको बुझिएको छ ।

शेरा दरबार १८४ रोपनी जग्गा नै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएकै बेलामा उनको स्वकीय सचिवालयमा रहेका विकेश श्रेष्ठका नाममा सेयर हस्तान्तरण भएको देखिएको छ। तत्कालीन भूमिसुधार सचिव मोहनकृष्ण सापकोटाको आदेशमा अन्नपूर्ण फार्मिङमा श्रेष्ठका नाममा सेयर हस्तान्तरणमा सहमति दिइएको खुलेको छ।

२०७३ साउन ९ गते माओवादी अध्यक्ष दाहाल दोस्रोपटक प्रधानमन्त्री भएका थिए। उनी प्रधानमन्त्री भएका बेला भूमिसुधार मन्त्रालयमा मोहनकृष्ण सापकोटा सचिव थिए। उनी पनि माओवादीनिकट कर्मचारी हुन्। सापकोटा २०७२ मंसिर २१ मा भूमिसुधार सचिव भएका थिए। दाहाल प्रधानमन्त्री भएपछि अन्नपूर्ण फार्मिङमा श्रेष्ठको प्रवेश भएको थियो। उनले त्यतिबेला ५ करोड ६७ लाख ५० हजार रूपैयाँ लगानी गरेको कम्पनी रजिस्ट्रारको कार्यालयबाट उपलब्ध कागजातमा उल्लेख छ। ‘तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालकै निर्देशनमा भूमिसुधार सचिव मोहनकृष्ण सापकोटाले विकेश श्रेष्ठको नाममा जग्गा दिने निर्णय गराएका रहेछन्,’ भूमिसुधार मन्त्रालयका एक अधिकारीले भने।

प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री हुँदा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा परेको उजुरीमाथि छानबिन गर्न खोज्दा रोकिएको थियो । त्यतिबेला सिआइबी प्रमुखमा किरण बज्राचार्य थिइन् भने नारायणकाजी श्रेष्ठ गृहमन्त्री थिए। गृहमन्त्रीले यो विषयमा अनुसन्धानलाई अघि बढाउन खोज्दा पनि प्रधानमन्त्रीले रोकेका थिए । माअोवादी केन्द्रका स्थानीय नेताहरूको अनुसार दाहाल परिवार नै सो जग्गामा जोडिएको छ।

२०७३ सालमा श्रेष्ठले सेयर लिएपछि शेर दरबारमा अस्थायी र स्थायी संरचना तयार भएको छ । केही माअोवादी नेतारूले त्यहाँ बनेको एउटा घर प्रचण्ड पत्नी सीताका लागि बनेको भनेर विगतदेखि नै चर्चा गर्ने गरेका थिए । उक्त जग्गा केही बिक्री भैसकेको र केही बैना भएको समेत नागरिक दैनिकले उल्लेख गरेको छ ।

बारसहितको फार्मिङ कम्पनीका नाममा बनाइएको जग्गामा आवादी तीन कित्ता मात्र छन्। पाँच कित्तामा पर्ती (सरकार) जग्गा, तीन कित्तामा पोखरी, एक कित्तामा केरा र एक कित्तामा बगैंचा रहेको जग्गाधनी श्रेस्ता किताबमै उल्लेख छ।

पर्ती, पोखरी, केरा र बगैंचा भएका जग्गाहरू स्वतः सरकारी जग्गा हुने भए पनि ती जग्गाहरूसमेत फार्मिङ प्रालिका नाममा नापी भएको पाइएको छ। उक्त स्थानमा नै रानीको दरबारका रूपमा चर्चिएका जग्गाहरू कित्ता नं. ७९, ८० र ८१ (८१ लाई टुक्र्याएर हाल कित्ता नं. १७५२ र १७५३ बनाइएको) छ भने हेलेन शाहबाट बट्टार निवासी रजनी श्रेष्ठ र वर्षा बस्नेत (चित्रकार) को संयुक्त नाममा करिब २० रोपनी जग्ग्गा बिक्री गरेको पाइएको छ।

उक्त जग्गाका धनीहरूले ८१ नं. को कित्ता टुक्राएर वर्षा बस्नेतका दाजु तादी गाउँपालिका नर्जामण्डप स्थायी घर भएका वसन्तबहादुर बस्नेतलाई मिति २०८० माघ १५ गते नौ आना जग्गा पाँच लाख रूपैयाँमा बिक्री गरेको पाइएको छ। ८१ नं. को कित्ताबाट टुक्राएपछि बाँकी ६ रोपनी जग्गा बट्टार निवासी रजनी श्रेष्ठ र वर्षा बस्नेत (चित्रकार) को संयुक्त नाममा कित्ता नं. १७५३ बनाएर राखिएको छ।  रजनी नेपाली कांग्रेसका नेता ध्रुवललाल श्रेष्ठको पत्नी हुन भने वर्षा राप्रपाका पुराना नेता धननारायण चित्रकारका बुहारी हुन त्यस्तै बसन्त कानुनन व्यवसायी हुन ।

कृषि प्रयोजनका लागि कम्पनी खडा गरेर त्यसलाई व्यक्तिका नामबाट कम्पनीमा लगिएको तथ्य फेला परेको छ। ‘२०६९ सालतिर वा आसपासको समयमा अन्नपूर्ण प्रालिलाई विकेश श्रेष्ठसहितका व्यक्तिले खरिद गरेको र त्यसपछि उनीहरू नै यहाँको जग्गा संरक्षकका रूपमा एकै पटक देखा परेका छन । कागजी रूपमा भने अन्नपूर्ण फार्मिङमा श्रेष्ठ सेयर सदस्यका रूपमा २०७३ सालमा मात्रै प्रवेश भएको देखिन्छ।

श्रेष्ठ सीता दाहालका मामाकी छोरीका पति (नातामा साढुभाइ) रहेको कतिपय माअोवादी नेताहरूले बताउने गरेका छन । यद्यपि यो विषयमा कहीँकतैबाट पुष्टि भने हुन सकेको छैन। उनी २०६४ सालमा दाहाल प्रधानमन्त्री हुदाँ स्वकीय सचिवको जिम्मेवारीमा रहेको र उनले उक्त प्रालि खरिद गरेपछि २०७३–७४ को समयमा सीता दाहाल तीन–चारपटक शेरास्थित जग्गामा आएको पनि स्थानीयले बताएका छन्।

‘जग्गा र भूगोल मन परेको भनेपछि सीता दाहालको आग्रहमा विकेश श्रेष्ठले तीनतले पक्की सुविधासम्पन्न घर निर्माण गरेका थिए तर सीता दाहालको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि यहाँ बस्न आउन नसकेको र निर्माण सम्पन्न भएपछि उक्त घर हालसम्म नै उपभोगविहीन छ,’ ती स्थानीयले भने।

२०७३ सालमा अन्नपूर्ण फार्मिङको सेयर सदस्यका रूपमा प्रवेश गरेका विकेश श्रेष्ठले अहिले सम्पूर्ण स्वामित्व लिएपछि त्यसलाई प्लटिङ गरेर कतिपय अवस्थामा जग्गाको बैनासमेत लिएका थिए। फार्मिङको नाममा जग्गा लगे पनि प्रयोजनविहीन बनाएर राखिएको थियो। माओवादीको केन्द्रीय सदस्यसमेत भइसकेकाले त्यो जग्गालाई पहुँचका आधारमा प्लटिङ सुरु गरिएको थियो।

जग्गा प्लटिङ गरेको विषयमा भूमिसुधार मन्त्रालय नुवाकोटस्थित मालपोत कार्यालय झस्किएको छ। ‘जग्गा पलटिङ गरेको विषयमा हामीले सरकारी निकायलाई उजुरी गरिसकेका छौं,’ नुवाकोट विदुर नगरपालिका–२ का एक स्थानीयले भने। उनका अनुसार एक सय ८४ मध्ये एक सय ६१ रोपनी जग्गा अन्नपूर्ण फार्मिङको नाममा छ।

सुरुमा २०३५ फागुन १२ गते शेरा दरबार र त्यसले चर्चेको कि.नं. ८२, ८३, ८४, ८७, ८८, ८९, ९०, ९२, ९३, ९४, ९५, ९७ र ९८ गरी १३ कित्ताको १६४–१३–०२–०१ क्षेत्रफलको जग्गा गौरीशंकर फार्मिङका नाममा नापी भएको नापी कार्यालय नुवाकोटको अभिलेखमा देखिन्छ।

जग्गा भूमिसुधार ऐन जारी भएपछि हदबन्दीका कारण शेरा दरबार र त्यसले चर्चेका जग्गा राजा महेन्द्रको भाइ अधिराजकुमार बसुन्धराकी पत्नी हेलेन शाह र विजया राज्यलक्ष्मी शाहको अंशमा परेको र सो जग्गा व्यक्तिका नाममा हदबन्दीका कारण नापी हुन नसकेपछि गौरीशंकर फार्मिङका नाममा नापी गराइएको थियो।

सो दरबारको जग्गा गौरीशंकर फार्मिङका नाममा नापी भए पनि सञ्चालक तथा सेयरधनी हेलेन शाह र विजया राज्यलक्ष्मी शाह नै थिए। गौरीशंकर फार्मिङका नामको संस्था मिति २०२७ फागुन २८ मा स्थापना भएकोमा सो संस्था मिति २०३६ असार १ को निर्णयले अन्नपूर्ण फार्मिङमा परिणत भएको देखिन्छ।

२०४४ असार ११ गतेको तोक आदेशले मालपोत कार्यालयको स्रेस्तामा गौरीशंकरलाई काटेर अन्नपूर्ण फार्मिङ उल्लेख गरिएको थियो। त्यसपछि २०५२ सालसम्ममा विजया राज्यलक्ष्मी शाहका नाममा रहेको कम्पनीको सेयर जयन्ती शाहको नाममा गएको देखिएको छ।

२०५२ मा हेलेन शाह र जयन्ती शाहका नाममा रहेको सम्पूर्ण सेयर नरेन्द्रलाल प्रधान, केदारनाथ श्रेष्ठ, सजनी श्रेष्ठ, सोहिनी श्रेष्ठ चार जनाका नाममा हस्तान्तरण भएको थियो। त्यसपछि २०७३ असारमा तीन सेयर दाखिला खारेजको निर्णयले विकेश श्रेष्ठ शेयर कित्ता संख्या पाँच लाख ६७ हजार पाँच सयको मूल्य ५ करोड ६७ लाख ५० हजार रूपैयाँमा किनबेच भएको देखिन्छ।

त्यसैगरी अजयकुमार सूर्यवंशीका नाममा अर्को सेयर छ। सेयर कित्ता संख्या ४ लाख ६० हजार चार सय १० को मूल्य ४ करोड ६० लाख ४१ हजार किनबेच भएको देखिन्छ। त्यसैगरी नुवाकोटको विदुर नगरपालिका–४ बस्ने ध्रुवलाल श्रेष्ठ, सेयर कित्ता संख्या ४५, हजारको मूल्य ४५ लाख रूपैयाँमा किनबेच भएको देखिन्छ।

यसैगरी काठमाडौं नागार्जुन नगरपालिका–७ बस्ने सुमन पारिक कित्ता संख्या ४५ हजारको मूल्य ४५ लाखसमेत गरी चार जनाका नाममा ११ करोड १७ लाख ९१ हजार सेयर खरिद–बिक्री भई जग्गा कम्पनीका नाममा लगेको देखिएको छ। २०८० मंसिर १० गतेसम्म उनीहरूमध्ये विकेश श्रेष्ठ र अजयकुमार सूर्यवंशी यथावत् रही विकेश श्रेष्ठका छोरा मनोबल श्रेष्ठ सेयर कित्ता संख्या ९० हजारको मूल्य ९० लाखमा नयाँ सेयर धनी ल्याइएको थियो। हाल सेयर धनी तीनजना मात्र छन्। श्रेष्ठद्वय बाबुछोरा हुन्।

प्रकाशित मिति : १२ पुष २०८१, शुक्रबार ०९:५४