सङ्घीयता कार्यान्वयनका निम्ति तीनवटै तहबीच सहयोग, समन्वय र सहकार्य हुनुपर्छ: अध्यक्ष दाहाल
९ पुस, ललितपुर । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संविधानको मर्मअनुसार सङ्घीयता कार्यान्वयन गर्न तीनवटै तहका सरकारबीच सहयोग, समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिनुभएको छ ।
सङ्घीय संसद् सचिवालय र गैरसरकारी संस्था फेड्रलिजम एण्ड लोकलाइजेशन सेन्टरद्वारा ‘सङ्घीयता, राष्ट्रियसभा र आगामी कार्यभार’ विषयमा आज यहाँ आयोजित छलफलमा उहाँले सङ्घीयतालाई सुदृढ बनाउन आर्थिक समृद्धि, सुशासन र सामाजिक न्याय सुनिश्चित हुनुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो, “राष्ट्रियसभालाई प्राप्त जिम्मेवारी सक्रियाताका साथ पूरा गर्ने, कमजोरी सच्च्याउँदै उपलब्धिको रक्षा हुनेछ ।”उहाँले जनताको बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन प्रणालीलाई सुदृढ तुल्याउन संसद् र तीन तहका सरकार मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले लोकतन्त्र र सङ्घीयतालाई सबल बनाउन संविधानले दिएका जिम्मेवारी सबैले समयमै पूरा गर्न आवश्यक छ भन्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सङ्घीयता कार्यान्वयनमा देखिएका कमीकमजोरी सुधार गरी सुशासन गर्ने, राष्ट्रिय एकतालाई सुदृढ तुल्याउने र जनसहभागितामा आधारित समावेशी विकासलाई कार्यान्वयनमा सबैको साझा धारणा आवश्यक भएको बताउनुभयो ।
नेकपा (एकीकृत समाजवादी) का नेता वेदुराम भुसालले राष्ट्रियसभाले सङ्घीयता सबलीकरणका लागि विधिको शासन पालना गर्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकायले सङ्घीयता कार्यान्वयन गर्न आवश्यक कानुन शीघ्र निर्माण गर्नुपर्ने बताउनुभयो ।
सेन्टरका अध्यक्ष खिमलाल देवकोटाले सङ्घीयता कार्यान्वयनसम्बन्धी संस्थाका निर्णय कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रियसभाका पूर्वसदस्य प्रकाश पन्थले जनप्रतिनिधिको पनि प्रतिनिधिमूलक थलोका रुपमा रहेको राष्ट्रियसभा र प्रदेशसभा सङ्घीयताको मेरुदण्ड हो भन्नुभयो ।
सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले कुनै पनि शासन प्रणाली आफैमा असल वा खराब नभई त्यसको नेतृत्व गर्ने व्यक्तिको कार्यशैलीमा त्यो निर्भर रहने बताउनुभयो ।
राष्ट्रियसभा सचिव डा सुरेन्द्र अर्यालले संविधानको मर्मअनुरुप सम्बद्ध सबैले काम गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रकाशित मिति : ९ पुष २०८१, मंगलवार १७:२२