४ पुष २०८१, बिहीबार | Thu Dec 19 2024

इप्पान स्थापनाको २५ वर्ष, `लिडिङ द इनर्जी प्रस्पोरेटी’ भन्ने नारा स्थापित गर्ने

४ पुस, काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले आफ्नो स्थापनाको २५ औं वार्षिकोत्सवको अवसरमा विशेष कार्यकम सहित ‘इप्पान रजत जयन्ती, २०८१’ ‘लिडिङ द इनर्जी प्रस्पोरेटी’ भन्ने नारासहित मनाउने भएको छ।

बिहीबार मेरियट होटलमा पत्रकार सम्मेलन गर्दै इप्पानले रजत जयन्ती मनाउन लागेको जानकारी दिएको छ । इप्पानका महासचिव बलराम खतिवडाले लगानीको हिसाबले नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो र ५०० भन्दा धेरै ऊर्जा उत्पादक कम्पनीहरु सदस्य रहेको ऊर्जा उद्यमीहरुको छाता संस्था इप्पानको यो २५ वर्षे यात्रालाई विशेष स्मरण गराउँदै यस अवधिमा भएका उपलब्धी र प्रगतिहरुलाई प्रस्तुत गर्नको लागि विशेष कार्यकमसहित इप्पानको रजत जयन्ती मनाउन लागिएको जानकारी दिनुभयो ।

उहाँले वि.स. २०५७ साल माघ ४ गते स्थापना भएको इप्पानले विभिन्न आरोह अवरोह पार गर्दै नेपालको ऊर्जा विकासका लागि महत्वपूर्ण २५ वर्ष समर्पीत गरेको बताउनुभयो । उहाँले भन्नुभयो `देशलाई लोडसेडिङ मुक्त गरी खुद विद्युत निर्यातकर्ता मुलुक बनाउनमा इप्पानको महत्वपूर्ण योगदान रहेको छ । देशको कुल विद्युत जडित क्षमता करिब ३३०० मेगावाट पुग्दा निजी क्षेत्रको सहभागीतामा मात्रै २६०० मेगावाट अर्थात कुल जडित क्षमताको करिव ८० प्रतिशत विद्युत उत्पादन हुनु‌का साथै करिब ४१०० मेगावाट क्षमताका आयोजनाहरु निर्माणाधीन र ४३०० मेगावाट क्षमताका आयोजनाहरु विद्युत खरिद विकी सम्झौता (पीपीए) सम्पन्न गरी वित्तिय व्यवस्थापनको पर्खाइमा रहेका छन् ।´

महासचिव खतिवडाले १२ हजार ५०० मेगावाट क्षमताका आयोजनाहरु पीपीएको पर्खाइमा रहेका छन् भने त्यतिनै क्षमताका आयोजनाहरु अध्ययनको विभभिन्न चरणमा रहेको पनि बताउनुभयो। इप्पानले आयोजनाहरुको अध्ययन देखि निर्माणसम्मका विभिन्न चरणमा निजी क्षेत्रको अगुवाइमा १५ खर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको र सरकारलाई वार्षिक खबौं रुपैयाँ रोयल्टी तिर्दै अर्थतन्त्रमा उल्लेखनीय योगदान पनि पुऱ्याइरहेको दाबी समेत गरेको छ ।

गाउँगाउँमा बाटोघाटो, पुलपुलेसा पुऱ्याउँदै स्थानीयस्तरमा शिक्षा, स्वास्थ्य र पूर्वाधारमा ठूलो रकम सामाजिक उत्तरदायित्व अन्तर्गत निजी क्षेत्रले खर्च गरिसकेको इप्पानले जनाएको छ । महासचिव खतिवडाले भन्नुभयो `देशव्यापी रुपमा विद्युत उत्पादनसँगै विकास निर्माणका कार्यमा महत्वपूर्ण योगदान पुऱ्याएको निजी क्षेत्रको छाता संस्थाको हैसियतमा इप्पानले आफ्नो २५ औं वार्षिकोत्सव ‘इप्पान रजत जयन्ती, २०८१’ यही माघ ४ गते मेरियट होटल काठमाडौंमा भव्य रुपमा मनाउँदै छौं। रजत जयन्तीको अवसर पारेर इप्पानको २५ वर्षको यात्रा समेटिएको ऊर्जा समृद्धि विशेष स्मारिका प्रकाशन गर्दैछौं भने विभिन्न अतिरिक्त क्रियाकलापहरु पनि आयोजना गर्न लागेका छौं ।´

प्रकाशित मिति : ४ पुष २०८१, बिहीबार १४:०६