१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

नुवाकोटको ककनी-२ मा माओवादीका मिलन घिमिरे दोब्बर मतान्तरमा विजयी

१७ मंसिर, नुवाकोट । नुवाकोटको ककनी गाँउपालिका वडा नं २ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का कृष्ण घिमिरे (मिलन) निर्वाचित हुनुभएको छ ।

आइतबार भएको उपनिर्वाचनमा घिमिरेले एक हजार ८५ मत प्राप्त गर्दै बिजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत शुभाषबाबु पुरीले जानकारी दिनुभयो । उहाँका अनुसार घिमिरेका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सूर्य जिम्बा तामाङले पाँच सय ८७ मत प्राप्त गर्नुभयो ।

यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का यमबहादुर लामाले तीन सय ४१, राष्ट्रिय स्वतन्त्र पार्टीका मङ्गलसिद्वि तामाङले ८३, राष्ट्रिय प्रजातन्त्र पार्टीका खेमबहादुर थापाले २८, मङ्गोल नेशनल अर्गनाइजेसनका किरण तामाङले २६ मत प्राप्त गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का मानबहादुर लामाले (तामाङ) २३, नागरिक उन्मुक्ति पार्टीका अमृत तामाङले १६ र नेपाल मजदुर किसान पार्टीका माइली माया तामाङले १४ मत प्राप्त गर्नुभएको छ । साथै स्वतन्त्र उम्मेदवारद्वय सोनु तामाङ र रमेश पुडासैनीले एक/एक मत पाउनुभयो ।

गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तिलकबहादुर लामा ८८८ मतसहित विजयी हुनुभएको थियो । अहिले विजयी घिमिरेले माअोवादी केन्द्रको चुनाव चिन्हमा ७३४ मत प्राप्त गर्नुभएको थियो ।

त्यस्तै नेकपा एमालेका प्रेमबहादुर तामाङले २०५ मत प्राप्त गर्नुभएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीको गोविन्द घिमिरेले २०३ मत, नेकपा एकीकृत समाजवादीका मानबहादुर लामाले ८२ मत ल्याउनु भएको थियो भने स्वतन्त्र उम्मेदवार सिताराम घिमिरेले ७ मत प्राप्त गर्नुभएको थियो ।

समाजवादीका लामाले एमालेका यमबहादुरको नाममा लिखित सहमति गरेर अन्तिम समयमा समर्थन जनाउँदा पनि उहाँको चिन्हमा समेत २३ मत परेको छ । उहाँको लिखित सहमति विवादित समेत बनेको थियो । माथिल्लो तहका नेताहरूले उहाँको उम्मेदवारी कायमै रहेको भन्दै सामाजिक सञ्जाल रंग्याएका थिए । यद्यपी मानबहादुर आफैँ उम्मेदवार हुँदा अघिल्लो निर्वाचनमा ८२ मत प्राप्त भए पनि अहिले भने २३ मात्र प्राप्त भएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार ०३:५५