१७ पुष २०८१, बुधबार | Wed Jan 1 2025

एउटै गाउँबाट वर्षेनी निर्यात हुन्छ करोडौँको सुन्तला

-हुमाकान्त पोखरेल

१२ मंसिर, गुल्मी । विगतदेखि नै सुन्तला खेती गर्दै आएका पिपलधाराका विष्णु प्रसाद खनालको २९ रोपनी जग्गामा सुन्तलाको बगैचा छ । बगैँचामा भएका कुल एक हजार चार सय सुन्तलाका बिरुवामध्ये आठ सयले उत्पादन दिइरहेका छन् भने बाँकी छ सय बिरुवाले अर्को बर्षबाट क्रशमः उत्पादन दिनेछन् । गत बर्ष प्रति केजी ५० रुपैँयाका दरले २६ टन सुन्तला बिक्रीबाट १३ लाख रुपैँया आम्दानी गर्नुभएका खनालले यो बर्ष पनि उत्पादन राम्रो भएको बताउनुभयो । पेशाले शिक्षक समेत रहनुभएका खनालले बिहान बेलुका र बिदाको समयमा सुन्तला खेती गर्दै आउनुभएको छ ।

गत बर्ष कृषि ज्ञान केन्द्रको सहयोगमा उहाँले सिँचाईको लागि पोखरी समेत निर्माण गर्नुभएका विष्णुको फर्मबाट परिवारका सदस्यबाट हुने श्रम बाहेक बार्षिक तीन सय दिन रोजगारी समेत सिर्जना हुने गर्दछ । पिपलधाराका वडाध्यक्ष समेत रहेका बाबुराम खड्काले पनि ४० रोपनी क्षेत्रफलमा सुन्तला खेती गरेका छन् । जसमा ३५० बोटले फल दिएका छन् । कृषिसँगै जनसेवा गर्ने चाहाना राखेका वडाध्यक्ष खड्काले यो बर्ष मात्रै हजार बिरुवा लगाएकोले निकट भविष्यमा आम्दानी बढेर ६० लाख पुग्ने बताउनुहुन्छ ।

गत बर्ष सबै सुन्तला प्रतिकेजी ५५ रुपैँयामा ९० क्विन्टल सुन्तला बिक्री गरी छ लाख आम्दानी गर्नुभएका केशव खनालको बगैँचामा पनि अहिले एक हजार सुन्तलाका बोट छन् । जसमध्ये अहिले दुई सय बिरुवाले फल दिइरहेका छन् भने बाँकी आठ सय बिरुवा कलमे र नयाँ लगाएकाले केही बर्षमा फल दिनेछन् । उहाँले चक्लाबन्दी गरेर पनि सुन्तलाका बिरुवा लगाउनुभएको छ ।

६० प्रतिशत नागरिक सुन्तला खेतीमा आवद्ध भएको पिपलधाराबाट गत बर्ष मात्रै चार करोडको सुन्तला निर्यात भएको थियो । दुई हजार रोपनी जग्गालाई सुन्तला पकेट एरियाको रुपमा निर्धारण गरिएकोमा उक्त जग्गालाई पाँच हजार रोपनीसम्म विस्तार गर्ने योजना वडाको छ । सुन्तला लिनको व्यापारिहरु बगैँचामै आउने भएकोले बजारको कुनै समस्या छैन । पिपलधाराको सुन्तला स्थानीय बजार हुदैँ तम्घास, अर्घाखाँची, पाल्पा, बुटबल लगायतका स्थानमा पुग्ने गर्दछन् ।

सुन्तला खेती नगदेबाली समेत भएको र कम लगानीमा बढी आम्दानी आम्दानी गर्न सकिने भएकोले किसानको आकर्षण बढ्दो छ । राज्यले सुन्तला खेतीमा लाग्ने रोक किराको समयमै समाधान गर्ने, भण्डारण गर्ने व्यवस्था मिलाउने र उचित मूल्यको व्यवस्था मिलाएमा किसानहरुलाई थप राहत हुने थियो कि ?

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार १७:४३