११ पुष २०८१, बिहीबार | Fri Dec 27 2024

पाँच अर्बको कुरा ‘च्याप्टरक्लोज’, धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त

१० मंसिर, काठमाडौँ । सरकारले धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गरेको छ । सोमबार अबेर बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा व्यवासयिक पृष्ठभूमिका श्रेष्ठलाई नियुक्त गरेको हो । झण्डै एक वर्षदेखि धितोपत्र बोर्डको अध्यक्ष रिक्त रहेको थियो । २०८० सला पुस २० गतेदेखि बोर्ड नेतृत्वबिहीन भएको थियो । तत्कालीन अध्यक्ष रमेश हमालको कार्यकाल सकिएसँगै बोर्डको अध्यक्ष नियुक्तिको विषय चरम विवादित बनेको थियो ।

आइतबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष  प्रा डा शिवराज अधिकारीको संयोजनमा रहेको सिफारिस समितिले नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरेको थियो । सोही सिफारिसको आधारमा श्रेष्ठले अध्यक्षमा नियुक्त हुनुभएको छ । श्रेष्ठसहित डा नवराज अधिकारी र मुक्ति श्रेष्ठको नाम अध्यक्षका लागि सिफारिस भएको थियो ।

यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा नै अध्यक्ष नियुक्तिको विषय गिजोलिएको थियो । तत्कालीन सरकारले अध्यक्षका लागि पाँच अर्बको डिल गरेको विषय सार्वजनिक चर्चाको विषय समेत बनेको थियो । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बोर्डको अध्यक्षको नियुक्तिको विषयमा पाँच अर्ब डिलको विषयले समस्या ल्याएको बताउनुभएको थियो ।

dainiki.com

प्रधानमन्त्री ओलीले आफ्नो पार्टी सरकारमा भएको तर निर्णय प्रक्रियामा नभएको समयमा आफूलाई तत्कालीन प्रधानमन्त्री र अर्थमन्त्रीले बोर्ड अध्यक्ष हुनेबाट पाँच अर्ब लिन लागेको विषय पत्रिकामा लेखाएको बताउँदै सोही विषयमा आफूले चासो देखाएपछि तत्कालीन प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री वर्षमान पुनलाई छटपटी चलेको बताउनुभएको थियो ।

उहाँले त्यस समय भन्नुभएको थियो,  ‘त्यसबेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ थिए भने अर्थमन्त्री वर्षमान पुन थिए । हाम्रो पार्टी सरकारमा भए पनि हामी न निर्णय गर्ने ठाउँमा थियौँ । त्यति चाहिँ भनेको हो– तपाईंहरूले हरेक परिस्थितिलाई लाभ लिने अवसरका रूपमा प्रयोग नगर्नू । देशको अवस्था नाजुक छ, यसमा कमिसनखोरी गर्ने, कमिसन खाने, पैसा लिएर नियुक्ति, पैसा लिएर नियुक्ति, पैसा लिएर सरुवा बढुवा, कमिसन लिएर ठेक्का दिने वा काम लिने जस्ता कुराहरू र कमिसनका भरमा खेलबाड हुने कुराहरूलाई यस्तो चल्दैन यो नगरौँ भनेको थिएँ ।’

बोर्डले नेतृत्व पाएसँगै पाँच अर्बको डिल भएको भन्ने हल्लाको पनि ‘च्याप्टरक्लोज’ भएको छ । आफूले भनेको स्वार्थ समूहको व्यक्तिलाई नियुक्ति दिलाउने प्रयास असफल भएपछि आरोपको रूपमा जे पनि भनिदिने संस्कार नेपाली राजनीतिमा बढ्दै गएको छ । बोर्ड अध्यक्षको सोमबारको नियुक्तिले पाँच अर्ब डिलको हल्ला पनि त्यस्तै संस्कारको शिलशिला भएको पुष्टि गरिदिएको छ। भ्रष्टाचारीको मुख पनि नहेर्ने प्रधानमन्त्रीको संकल्प र उहाँको नेतृत्वको मन्त्रिपरिषद् बैठकले गरेको यो नियुक्तिले धितोपत्र बजारले नयाँ जीवन पाउने अपेक्षा गरिएको छ ।

प्रचण्ड सरकारले सुरू गरेको पक्रिया टुंगोमा

सरकारले बोर्डको अध्यक्षका लागि नयाँ पक्रिया सुरू गर्ने सम्भावना पनि थियो तर अध्यक्षमा नियुक्ति हुनुभएको श्रेष्ठले पुरानै पक्रियालाई निरन्तरता दिनुपर्ने भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेपछि सरकार थप संकटमा परेको थियो । पुरानै पक्रियामा बोर्डको अध्यक्ष नियुक्तिको काम अघि बढाउन खोज्दा आकांक्षी बनेकाहरूले नै अन्तरवार्ता बहिष्कार गर्नेसम्मको काम गरेर असहयोग गरेका थिए । वर्तमान सरकारले बाध्यताले पुरानै सरकारले अघि बढाएको काम निष्कर्षमा पुर्याएको छ ।

बोर्ड अध्यक्ष बन्नका लागि १९ जनाले आवेदन दिएका थिए । आवेदक मध्येबाट ५ जनाको नाम सर्टलिस्ट हुँदा सन्तोष नारायणसँगै बोर्डकै २ जना कार्यकारी निर्देशकद्वय डा। नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठ, बीमा प्राधिकरणका पूर्व अध्यक्ष चिरञ्जीवि चापागाई र नेप्सेका सीईओ कृष्णबहादुर अधिकारी पर्नुभएको थियो । उहाँहरू मध्ये नेकपा माओवादी निकटका चापागाइले अन्तिम पटकको अन्तरवार्ता पनि बहिष्कार गर्नुभयो ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार २०:०६