१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले थाले पूर्वप्रधानमन्त्रीहरूसँग परामर्श

१० मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा जानुअघि पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र मन्त्रीहरुसँग परामर्श सुरु गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सोमबार मध्याह्न छलफल आयोजना गर्दै प्रधानमन्त्री ओलीले परामर्श सुरु गर्नुभएको हो । उक्त छलफलमा प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलगायत सहभागी हुनुभएका थिए । तर छलफलमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा भने उपस्थित छैनन्। सभापति देउवा सोमबार जनकपुर जानुभएकाले सिंहदरबारमा अनुपस्थित रहनुभएका हुन् ।

यही मंसिर १७ गते प्रधानमन्त्री ओली चीन भ्रमणमा जाँदै हुनुहुन्छ । यो मिति घोषणा उहाँले गत शुक्रबार दरबारमार्गमा आयोजित पार्टीको सभामार्फत् गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले पछिल्लोपटक सत्ता सम्हालेको १०० दिनसम्म पनि भारतबाट भ्रमणको निम्तो नपाएपछि चीन भ्रमणको गृहकार्य सुरु गर्नुभएका थिए । सोही गृहकार्यअनुसार नै प्रधानमन्त्री ओलीले सोमबार पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र मन्त्रीहरुसँग छलफलमा जुट्नुभएका हुन् ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार १२:३०