९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्ता सकियो, अब बस्ने मन्त्रिपरिषद् बैठकबाट बोर्डले नयाँ अध्यक्ष पाउने

९ मंसिर, काठमाडाैँ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि तय भएको अन्तरवार्ता सकिएको छ। आज अर्थ मन्त्रालयमा भएको अन्तरवार्तामा दुई जना उपस्थित हुनुभएकाे थियाे भने एक जना आज पनि अनुपस्थित हुनुभयाे ।

आज नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा.नवराज अधिकारी र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की उपस्थित हुनुभएकाे छनौट समितिले जनाएकाे छ । उपस्थित अधिकारी र कार्कीकाे अन्तरवार्ता सकिएको छ। तर अर्का उम्मेदवार तत्कालीन बिमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईँ यस पटक पनि उपस्थित हुनुभएन।

सर्टलिस्ट’मा परेका पाँच जनामध्ये चापागाईं, कार्की र अधिकारी पहिलोपटक अन्तर्वार्तामा सहभागी नभएका बोर्ड अध्यक्षका उमेदवार हुनुहुन्छ । अध्यक्ष सिफारिस समितिले पहिलोपटक सर्टलिस्टमा परेकालाई असार २ गते अन्तर्वार्ता र प्रस्तुतीकरणका लागि बोलाएको थियो ।

पाँचजनामध्ये सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठ असार २ गते नै अन्तर्वार्ता तथा प्रस्तुतीकरणमा सहभागी हुनुभएकाे थियाे ।  अर्थ मन्त्रालयका स्रोतका अनुसार चारजना उम्मेदवार अन्तर्वार्तामा सहभागी भएको र एकजना नभएको अवस्थामा अध्यक्ष छनौट प्रक्रिया रोकिँदैन। अब बस्ने मन्त्रिपरिषद्को बैठकबाट धितोपत्र बोर्डले नयाँ अध्यक्ष पाउनेछ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आईतवार १३:१३