१५ माघ २०८१, मंगलवार | Tue Jan 28 2025

नेपाली यू–१९ महिला क्रिकेट टोली आज स्वदेश फर्कदैँ

२९ कात्तिक, काठमाडौँ । नेपाली यू–१९ महिला क्रिकेट टोली आज स्वदेश फर्कदैँछ । सन् २०२५ मा मलेसियामा हुने विश्वकप र एसिया कपमा स्थान सुरक्षित गरेको टोली आज स्वदेश फर्कन लागेको हो ।

यू–१९ महिला क्रिकेट टोली साँझ सवा ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने नेपाल क्रिकेट सङ्घ (क्यान) का प्रवक्ता छुम्बी लामाले जानकारी गराउनुभयो । उहाँले टोलीलाई विमानस्थलमा स्वागतका लागि तयारी भइरहेको समेत बताउनुभयो ।

युनाइटेड अरब इमिरेट्स (युएई) मा भएको आइसीसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको अन्तिम खेलमा युएईलाई आठ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो ।

एसिया छनोटका छ खेलमध्ये नेपालले पाँच खेलमा जित हासिल गरेको थियो भने एक खेलमा नेपाल पराजित भएको थियो । त्यस्तै यू–१९ महिला क्रिकेट टोलीले आगामी मंसिर ३० गतेदेखि मलेसियामा हुने एसीसी यू–१९ महिला एसिया कपमा सहभागी जनाउनेछ ।

एसिया कपमा नेपालसहित छ टोलीको सहभागिता रहने छ । एसियाली क्रिकेट परिषद् (एसीसी) अनुसार समूह ‘ए’ मा नेपालसहित भारत र पाकिस्तान छन् भने समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का र मलेसिया छन् । नेपालले आगामी पुस १ गते पाकिस्तानसँग र पुस २ गते भारतसँग प्रतिष्पर्धा गर्नेछ ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार १७:०१