नेपाल र भारतको सम्बन्ध बहुआयामिक छ: मन्त्री गुरुङ
२६ कात्तिक, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल–भारतको सम्बन्ध भौगोलिकसँगै सांस्कृतिक, सामाजिक, शैक्षिकलगायत बहुआयामका रुपमा प्रगाढ रहँदै आएको बताउनुभएको छ ।
बागबजारस्थित काठमाडाैँ मोडेल कलेजमा आज भएको ‘भारत–नेपाल फ्रेन्डसीप समिट २०२४ः ग्लोबलाइजेशन एन्ड सोसियो–इकोनोमिक डेभलोपमेन्ट’ कार्यक्रममा मन्त्री गुरुङले नेपाल र भारतको शैक्षिक सम्बन्ध बलियो हुनसके दुवै देशबिचको ज्ञान सीप तथा कला कौशल आदानप्रदानमा सहज हुने बताउनुभयो ।
“दिगो विकासका लागि दुवै मुलुक सहकार्य गरेर अघि बढ्दै आएका छौँ”, मन्त्री गुरुङले भन्नुभयो ।
समिटले बौद्धिक र शैक्षिक बसह सिर्जना गर्ने तथा कुशल शैक्षिक नेतृत्व निर्माण गर्न सघाउ पुग्ने उहाँले धारणा राख्नुभयो । कार्यक्रममा मन्त्री गुरुङले हौसलास्वरुप विभिन्न शैक्षिक विधाका अब्बल व्यक्तित्वलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।
ग्लोबल लिड्र्स फाउन्डेशनको प्रमुख आयोजना र काठमाडौँ मोडेल कलेजको सह–आयोजनामा उक्त समिट सम्पन्न भएको हो । फाउन्डेशनका प्रिन्सिपल रमेश त्रिपाठीले शैक्षिक क्षेत्रमा बहस गर्न समिट आयोजना गरिएको बताउनुभयो ।
प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार १७:२४