६ मंसिर २०८१, बिहीबार | Thu Nov 21 2024

भूपेन्द्रलाई अमेरिकामा दुई पदक

२५ कात्तिक, काठमाडौँ । ट्रेडिसनल चाइनिज मार्सल आर्टस् फेडरेसन, अमेरिकाद्वारा आयोजित १५औँ गोल्डेन ड्रागन च्याम्पियनशिपमा नेपालका भूपेन्द्र गुरुङले दुई रजत पदक प्राप्त गरेका छन् ।

अमेरिकाको क्यालिफोर्नियामा भएको उक्त प्रतियोगितामा भूपेन्द्रले दुई स्पर्धामा भाग लिएर दुई रजत प्राप्त गरेका हुन् । प्रतियोगितामा उनले ३६ वर्षमाथिको उमेर समूहमा ताइची र ट्रेडिसनल चाइनिज फम्सतर्फ प्रतिस्पर्धा गरेका थिए ।

उक्त प्रतियोगितामा विभिन्न ३० राष्ट्रका दुई सय ५० भन्दा बढी खेलाडीको सहभागिता रहेको थियो । भूपेन्द्रको यो पाँचौँ अन्तर्राष्ट्रिय पदक हो । यसअघि उनले विभिन्न तीन अन्तर्राष्ट्रिय प्रतियोगितामा तीन स्वर्ण पदक जितेका थिए ।

उनले सन् २०१८ मा जर्मनीमा भएको विश्व च्याम्पियनशिप, सन् २०१९ मा थाइल्यान्डमा भएको सातौँ, विश्व कुङ्फु च्याम्पियनशिप र सन् २०२२ मा बेलायतका भएको युरोपियन च्याम्पियनशिपमा स्वर्ण पदक जितेका थिए । सन् २०२२ मा भारतको लखनऊमा भएको १४औँ कुङ्फु च्याम्पियनशिपमा भूपेन्द्रले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आईतवार २२:००