९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

ओलीमाथि प्रचण्डको आरोप– कुर्सी बचाउन एसपीपी सम्झौता गर्नेतिर जाने स्थिति छ

२५ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता गर्न सक्ने आशंका गर्नुभएको छ । आज बिहान मकवानपुरमा  भएको पत्रकार सम्मेलनमा बोल्दै उहाँले ओली सरकारमाथि गम्भीर आरोप लगाउनुभएको हो ।

अमेरिकाले सैन्य सम्पर्क स्थापना गर्न एसपीपी विभिन्न देशहरूसँग सम्झौता गरेको छ । अमेरिकाको सुरक्षा नीतिसँग जोडिएको विषय भएका कारण पनि एसपीपी सम्झौता गर्न नहुने पक्षमा नेपालका राजनीतिक दल, बौद्धिक वर्गतथा नागरिक समाज लगायतले एसपीपी सम्झौताको व्यापक विरोध गरिरहेको छ ।

अध्यक्ष दाहालले भन्नुभयो-‘अहिलेका प्रधानमन्त्रीले एसपीपीलाई पनि अघिल्लोपटक नै सैद्धान्तिक सहमति दिइसकेको कुरा अमेरिकन मिडियाहरुमा आइसकेको छ र अमेरिकन सरकारले त्यसलाई आधिकारिक रुपमा भनी पनि सकेको छ । यो गम्भिर चिन्ताको विषय हो । त्यसकारण वर्तमान सरकार नेपालको राष्ट्रिय स्वाधिनताको सौदाबाजी गर्ने, आफ्नो कुर्सि बचाउनको निम्ति राष्ट्रप्रति घात गर्नेतिर अगाडि बढ्ने त होइन? त्यसमा अब सम्झौतै गर्नेतिर जाने हो कि भन्ने स्थिति छ ।’

अध्यक्ष दाहालले यस्ता विषयहरुमा जनतालाई सतर्क गराउन आवश्यकता रहेको पनि बताउनुभयो ।

यसअघि २०७८ सालमा पनि अमेरिकी सहयोग(एमसीसी) अनुमोदन भएकोमा व्यापक विरोध भएको थियो ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आईतवार ११:५३