नेता
-लक्ष्मण सिटौला
कुनै पार्टीको
झोले कार्यकर्ता मात्रै कति हुनु?
मलाई पनि नेता हुन मन लागेको छ
गलाभरी माला र
टाउका भरी अबिर लाउदै
यो लाटाे सहरमा
एउटा गज्जबको जुलुस निकाल्न मन लागेको छ
सयौं कार्यकर्ताको भिडमा बसेर
युटुबे,फेसबुके र टुइटरे पत्रकारलाइ
अन्तर्वार्ता दिदै
ताली पाँउन मन लागेको छ
सबै सबै बेरोजगार सडक घुमन्ते मान्छेहरुको
नमस्ते खान मनलागेको छ
तिम्लाइ मात्रै किन?
अब मलाई पनि नेता हुन मन लागेको छ
बर्षको सोर्ह अरबको तरकारी
र पैतिस अरबको चामल
अनि छब्बीस करोडको दातको खुइ निकाल्ने
सिन्को भारतबाट किन्ने
कृषिप्रधान देशको कृषिमन्त्री हुन मनलागेको छ
अल्सि स्वादे भुसतिघ्रे
गणेशमानको भाषामा भन्ने हो भने
मलाई पनि “भेडा”हरुको नेता हुन मन लागेको छ
किनकि हामी असललाइ होइन
खराबलाई भोट हाल्छौ
मलाई पनि तिनै खराब भोटरहरुले दिएको
खराब भोटबाट जित्ने
सात पुस्तालाइ कमाउने
कमाउ साम्सद हुन मन लागेको छ
एक बोतल बियर
एक प्लेट मासु र
पाँच सयको नोटमा बिक्छौ हामी र
जिताउछौ तिनै पुराना लाल गद्दारहरुलाइ
अनि भन्छौं मेरो गाउँको बिकास भएन
न तपाईंले बिकास चाहनु भो ?
न नेताले बिकास गर्न चुनाव जितेको हो?
भोट दिने र भोट लिने उस्तै हुन
यी लाल गद्दारलाई हराउन पनि
मलाई एकफेर
करोडौं खर्चेर पनि नेता हुन मन लागेको छ
कोहि साम्सद ज्यानमारा
कोहि मन्त्री मानव तस्करीको भिडमा
ती लाजको पसाराका अगाडि
मलाई पनि नेता भनाउन मन लागेको छ
चुनाव जितु या हारु
मलाई समानुपातिकबाट भए पनि
साम्सद हुन मन लागेको छ
एक चोटि मौका त मिलोस हजुर
मलाई पनि सात पुस्तालाई पुग्ने
सम्पत्ति कमाउन मन लागेक छ
त्यसैले पनि मलाई एकफेर र्याल झारेर भएपनि
नेता हुन मन लागेको छ
छोरीलाई मेयर
बुहारीलाई मन्त्री
जुवाइलाइ जियम
काकालाई ठेक्का
सम्धीलाई राजदुत
स्वास्नीलाई आरक्षण
सालोलाइ चान्सलर
मीतलाई भिसी बनाउन मन लागेको छ
झोले कार्यकर्ता मात्रै कति हुनु ए हजुर !
मलाई पनि नेता हुन मन लागेको छ
प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहीबार १४:१६