कात्तिक ३० गतेदेखि त्रिभुवन विश्वविद्यालय ठप्प पार्ने चेतावनी
२१ कार्तिक, काठमाडौँ । कात्तिक ३० गतेदेखि त्रिभुवन विश्वविद्यालयमा कार्यरत आंशिक करार शिक्षकहरूले विश्वविद्यालय ठप्प पार्ने चेतावनी दिएका छन् । गत साउन १८ गते आंशिक प्राध्यापक संघसँग भएको सहमति कार्यान्वयन नगरिएको भन्दै शिक्षकहरूले यस्तो चेतावनी दिएका हुन् ।
त्रिभुवन विश्वविद्यालय सेवा आयोगले कात्तिक ३० गते उपप्राध्यापक पदको परीक्षा सञ्चालन गर्दैछ । उक्त आयोगले २०७७ सालमा आह्वान गरेका उपप्राध्यापक पदको विज्ञापन अनुसार परीक्षा सञ्चालन गर्न लागेको हो ।
आंशिक शिक्षकहरूले भने उक्त परीक्षा रोकेर आफूहरूलाई करार बनाउने प्रक्रिया अगाडि बढाउन माग गरेका हुन् ।
साउन २३ गते बसेको कार्यकारी परिषद् बैठकले आंशिकसँग गरिएको सहमति अनुसार रिक्त दरबन्दीमा करार सेवाको शिक्षक सहायक पदमा नियुक्ति प्रक्रिया अगाडि बढाउन तीन सदस्यीय स्थलगत अध्ययन कार्यटोली गठन गर्ने निर्णय गरिएको थियो ।
सोही कार्यदलको प्रतिवेदनका आधारमा शिक्षक सहायक नियुक्ति कार्यविधि निर्माण गरी शिक्षक सहायक पदको प्रक्रिया सम्बन्धित क्याम्पस/केन्द्रीय विभागमार्फत अगाडि बढाउने निर्णय गरिएको थियो । तर, अहिलेसम्म यो प्रक्रिया अगाडि नबढाएको भन्दै संघर्ष समितिका अध्यक्ष लिम्बूले कात्तिक ३० गतेदेखि सञ्चालन हुने परीक्षा रोक्ने चेतावनी दिएका हुन् ।
लिम्बूले यस पटक पनि आफूहरूलाई करार नगरेमा श्रम अदालत जाने समते चेतावनी दिए ।
प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार ११:२१








