११ पुष २०८१, बिहीबार | Thu Dec 26 2024

प्रतिशोध, रवि र प्रदर्शनको तमासा

-किरण देउजा

अस्ति (कात्तिक १२ गते) बिहान काठमाडौँको–कोटेश्वर महादेवस्थान मन्दिर नजिकै एक चिया पसलमा अन्दाजी ३० देखि ३५ वर्षका दुई युवा गफीदै थिए । एक युवाले भन्दै थिएः– ‘जान्नेलाई छान्ने भनेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई सपोर्ट गरियो । तर अहिले त सहकारी ठग, लुटेरा र भ्रष्टहरूको क्लब पो बनाएछन ! रवि लामिछाने भनेको साह्रै राम्रो नेता हुन् भनेर सामाजिक सञ्जाल मार्फत सपोर्ट समेत गरियो तर उनी त आर्थिक अपराधका मास्टर माइन्ड नै रहेछन । सूर्य थापा नेतृत्वको संसदीय विशेष समितिले दिएको प्रतिवेदन पढेपछि थाहा भयो रवि त नेताको भेषमा ठगीको सााम्राज्य खडा गरिरहेका रहेछन् । सामाजिक सञ्जाल र सञ्चार माध्यम हेरेर क्लिन चिट कि कारबाही भन्नेबारेमा दुबिधामा थिएँ । तर प्रतिवेदनको चार ठाउँमा रविको सन्दर्भ पढेपछि रविकोबारेमा रहेको भ्रमबाट मुक्त भएँ ।’ उनको कुरा सुनेर अर्को साथी पुर्पोराेमा हात राख्दै वैकल्पिक भनेकाहरूकै विकल्प खोज्नुपर्ने भएपछि देश कसरी उँभो लागोस् भन्दै उदास बने ।

म त ती युवाहरूको कुरा सुनेर ट्वाँ परे । रविबारेको भ्रम त उनी पत्रकारितामा हुँदा गरेका ब्लेकमेलिङका सूचनाहरूपछि नै तोडिएको थियो । तर पछिल्लो पटक उनले ग्यालेक्सी टिभीका लागि जिबी राईलाई अर्बौ उठाउने सपनामा डुबाएर गरेको संगठीत सहकारी ठगीको काण्डबाट यो देश भ्रष्टाचारी र अपराधीहरूका लागि स्वर्गै रहेछ भन्ने निष्कर्षमा पुगेँ ।

त्यत्रो अपराधमा एकपछि अर्को हुँदै जोडिएका लामिछाने छोटो समयमै दुई पटक गृहमन्त्री बने त्यो पनि आश्चर्यजनक रूपमा । उनको उदय जस्तै अन्त्य पनि फिल्मी शैलीमै हुन्छ भन्ने त थियो तर यतिधेरै ठगीको साम्राज्य बनाएका छन भन्नेबारेमा चाहिँ कल्पना पनि गरेको थिइन । संसदमा नेपाली कांग्रेसले संसदीय छानबिन समितिको माग गर्दा पनि नयाँ पार्टीको भएर बिरोध गरेका होलान नि त भन्ने अलिअलि भ्रम थियो । तर सूर्य थापा नेतृत्वको संसदीय विशेष समितिको प्रतिवेदन पढेपछि सबै भ्रमबाट मुक्त भएँ ।

पत्रकारिता र राजनीति दुबैमा प्रतिशोधको भारी बोकेर हिँडेका उनै लामिछानेको रिहाइका लागि भएको सडक प्रदर्शनमा उनी माथि राजनीतिक प्रतिशोध भएको भनेर नारा लाग्दा रवि समर्थकले उनकैबिरूद्धमा  नाराबाजी गरेको अनुभुति भैरहेको छ । किनकी रविले पत्रकारितादेखि राजनीतिसम्म भाषण र व्यवहार दुबैमा प्रतिशोधको भारी बोकेर हिँडे । रविको आग्रह र पूर्वाग्रह सबै छताछुल्ल नै छ । यसमा मैले थप व्याख्यात्मक टिप्पणी गरिरहनुपर्छ जस्तो लाग्दैन ।

अरु पार्टीका कार्यकर्ताहरुलाई “झोले र दास“ भन्ने, आफूलाई “जान्नेसुन्ने“ भन्ने केही नामै मात्रको नयाँ (विचारहिन) दलको समर्थकहरू, पुरानो दलको भन्दा– महाझोले अनि दास मात्र होईन दासकै पराकाष्ठा रहेछन् भन्ने नेपाली राजनीतिको पछिल्ला दिनहरूको सिंहावलोकन गर्ने हो भने प्रष्ट हुन्छ ।

तीन उदाहरणः

१. गतसाल नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएको मुद्दामा काङ्ग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँड पक्राउ परे । उनी पटक पटक मन्त्री भएका पूर्व गृहमन्त्री थिए । तर काङ्ग्रेसका कुनै नेता–कार्यकर्ताहरुले केही अवरोध पनि गरेनन, रूवाबासी पनि गरेनन् ।

२. गतसाल नै नक्कली शरणार्थीकै मुद्दामा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ परे । पूर्वमन्त्री र वर्तमान सांसद समेत रहेका रायमाझी पक्राउ पर्दा कुनै पनि एमालेका कार्यकर्ताले सरकारविरूद्ध नाराबाजी गरेरनन् बरू एमालेले रायमाझीलाई सचिवबाट निलम्बन गर्यो ।

३. गतसाल नै नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परे । तर कोही माओवादी कार्यकर्ता सडकमा आएर उफ्रिएनन् । उनीहरूले सरकारलाई गाली हैन दोषी देखिए कारबाही गर भने । अदालती प्रक्रियामा सहयोग गरे ।

यी तीन उदाहरणले के भन्न सकिन्छ भने तीन दलका तीन जना नेताको अपराध  स्वयं उनीहरूको मात्र थियो । कोही व्यक्तिले गल्ती र कमजोरी गर्दा सम्बन्धितले कर्मको फल भोग्नुपर्छ भन्ने सिद्धान्तमा ती दल र तीनका कार्यकर्ताले व्यवहार देखाए ।

तर रवि लामिछाने माथिको उदाहरण जस्तै आफ्नो कर्मको फल प्राप्तिको अभियानमा जोडिँदा सडकमा सयौँ मानिसहरू रोइकराइ गरेर म पनि सँगै मर्छु भन्नुको पछि उनीहरूको पनि अपराधको इतिहास देखिन्छ । धेरैले रविसँगै आफ्नै अपराध पखाल्न खोजेको देखिन्छ भने रास्वपाका अधिकांश नेता सहकारी ठगीमा योजनावद्ध ढंगले काम गरेको देखिन्छ । अझै भनौँ सहकारी ठगहरूको सेक्रेट क्लब रास्वपा बन्न पुगेको देखिन्छ । सडकमा घाँटीको नशा फुलाएर कराउनेदेखि प्रधानमन्त्री निवासमा रविलाई जोगाइदिनु भन्दै केपी शर्मा ओलीको पाउमा लम्पसार पर्न जानेहरू सबैजसो विभिन्न अपराधमा जोडिएकाहरू रहेका छन् ।

आफूलाई नयाँ भन्ने तर,

– लोकतन्त्र को आधारभूत कुरा नबुझेका

– कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बीच शक्ति पृथकीकरणको सिद्धान्त नबुझेका

– अनुसन्धानको लागि पक्राउ गर्दा नै पुर्पक्षका लागि जेल जाने भन्ने बुझेका

– अदालतले प्रमाण हेर्छ, अनुहार हेर्दैन भन्ने नबुझेका

तथाकथित नयाँ हुँ भन्नेहरु भन्दा त, लोकतन्त्र र न्यायपालिका प्रती विश्वास हुने पुरानो दलका कार्यकर्ता नै अब्बल देखियो, हैन् ?

– आर्थिक रुपमा अपारदर्शी

– चारित्रीक र नैतिकता रुपमा स्खलित

– आफ्नै सहकर्मीको आत्महत्या दुरुत्साहन आरोप लागेको

– आफ्नै ड्राइभरको दुर्घटनामा रहस्यमय मृत्यु/निधन भएको

– अरुलाई आमचकारी तहको गाली–गलौज गरेर चर्चामा आएका

– द्वन्दताका भगौडाको पक्षमा लाग्ने चै महाभेडा हुन् । हैन ?

जतिसुकै ठूलो कुरा गरे पनि, ढाकाराम श्रेष्ठलाई आरोप लाग्दा सार्वजनिक कार्यक्रमबाट कारबाही गरेका रवीले, आफू सहकारी ठगीको संगठित अपराधको अनुसन्धानमा प्रहरीको हिरासतमा रहँदा कार्यवाहक सभापति समेत अरुलाई दिएका छैनन् । उल्टै देशको प्रधानमन्त्रीलाई अपराधि घोषणा गरेर भ्रम छर्दैछन ।

रास्वपा सरकार हुँदा गर्यो चै के ?

निर्वाचन ताका उनले उत्तेजक भाषण गरे । विभिन्न काण्डहरुको आरोपितलाई पक्राउ गर्ने ।

– कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको हत्यारा हप्ता दिनमा नै पत्ता लगाउने ।

– जिबी राइलाई आकाश–पातल जतासुकै बाट पनि खोजेर ल्याउने घोषणा गरे तर…

– सरकारका गएको केही दिनमै सयौं जनालाई विदेशबाट दिनहुँ रोजगारीको लागि युवाहरूलाई फिर्ता ल्याउने घोषणा गरे …

आफू सञ्चारकर्मबाट आएका थिए । पहिलोपटक सरकारबाट बाहिरिनुपर्दा २०७९ माघ २२ गते पत्रकार सम्मेलन गरेर मिडिया हाउस घेर्ने सम्मको धम्की दिए।

– आलोचना गर्ने मिडिया हाउसका प्रकाशक र पत्रकारमाथि गालीगलौज

– मिडिया हाउस घेर्ने र भीडको नेतृत्व गरेर आफूअनुसार कारबाही गर्ने धम्की

–नेपालको नागरिकता नै नभएको व्यक्ति सांसद र गृहमन्त्री भएको विषयमा मिडियाले लेखेको समाचार सर्वोच्च अदालतबाट समेत सावित भएको वास्तविकता ओझेल पार्न खोज्दै लामिछानेले भने, ‘नेपाली पत्रकारिताको लेबल भएन’

पत्रकार सम्मेलनमा उनी झन्डै सवा घण्टा कान्तिपुरसहित मिडिया हाउस, प्रकाशक र पत्रकारहरूको नामै किटेर गालीगलौजमा उत्रिए । ‘अब आधारविहीन समाचार लेख्यो भने म कान्तिपुर घेर्न आउँछु । कान्तिपुरमा कुनै पनि आधारसहित हाल्नुस् नो प्रब्लम । तपाईंसँग रिडर छन् होला, मसँग पनि शुभचिन्तक छन्, तपाईंको पत्रिकामा सब्सक्राइबर छन् होला, मसँग पनि मेरो सत्कर्मले जोडेका साथीहरू छन् । सबैलाई लिएर घेर्न आउँछु, गलत समाचार लेख्नुभयो भने, गलत हेडलाइन लेख्नुभयो भने,’ उनले चेतावनी दिँदै भने, ‘खबरदार आई विल नट टोलरेट दिस् । फाइट ब्याक गर्छु । सही ढंगले लेख्नुस् चल्छ । तर गलत ढंगले लेखेमा कुनै पनि मिडियालाई मान्दिनँ ।’ उनले आफ्नोबारेमा लेखिएका कुन समाचार गलत हुन् भन्न सकेनन् । त्यति मात्र हो र, ऋषि धमलालाई जोकर भन्न भ्याए । जीवन नै पत्रकारितामा समर्पण गरेकाहरुलाई दलाल आदि भने तल्लो स्तरमा गाली दिए । अझ १२/१५ भाईको संज्ञा समेत दिए।

केही समयपछि त्यो गल्ती थियो भनेर माफी समेत मागे। उनले अन्टसन्ट प्रश्न गर्दै टुडिखेलमा लगेर ब्याक किक हान्छु भनेर थर्काउने रवीले आजको दिनसम्म मिडियाबाट भागिरहे । जनताको प्रश्नको उत्तर समेत दिन सकेका छैनन् ।

त्यो भन्दा ठूलो कुरा उनको सिंगो पार्टी नै कुसुचनाको जगमा खडा भएको देखिन्छ। गलत सूचना र कुसूचना मा अन्तर छ। नियत खराब राखेर बोलिने झुठलाई कुसुचना भनिन्छ। चुनावमा बुढा नेताहरु …. ( त्यो नारा राख्नु ) पछि तिनै नेता सँग झुकेर सरकारमा एक पटक होइन दुई पटक सहभागी भए। उनमा पुराना नेतामा गगन थापा जति पनि राजनीतिक संस्कार देखिएनन्। गगनले ती भूतपूर्व प्रधानमन्त्रीको क्लब भन्ने गरेको प्रचण्ड र ओली नेतृत्वको सरकारमा सहभागी नभएर आफ्नो राजनीतिक नैतिकता र वैधतालाई अक्षुण राखेका छन्। रविसँग त त्यो वैधता पनि समाप्त भएको छ उनले नैतिकता गगन थापासँग सिक्दा हुन्छ। गगन पुरानो लागेको भए सि के राउतसँग सिक्दा पनि हुन्छ। उनी आफू सरकारमा सहभागि हुन हतार नगरिकन आफ्ना साथीहरूलाई सत्तामा पठाएर सत्ता बुझ्ने कोसिस गरिरहेका देखिन्छन्।

कु सूचनाको उदाहरण आफूले गल्ती गर्दा मलाई केही थाहा छैन भन्नु पनि हो। सर्वोच्चको फैसला अनुसार नागरिकता विहिन बन्न पुग्दा अलिक शान्त देखिन्थे। तर त्यसको ठीक एक वर्ष पछि सर्वोच्चको फैसला र संसदीय समितिको प्रतिवेदन अनुसार सहकारी प्रकरणमा पक्राउ पर्दा उनी उत्तेजित भएका छन्, अत्तालिएका छन्। चौथी पत्नी निकितासँग कोर्ट  म्यारिज गरेको चार महिना पछि नगरकोटमा दिएको भोज पनि सहकरीबाट आएको पैसामा खर्च गरिएको निकिता सँगै सहकारीमा संलग्न नेपालका पहिलो भ्रष्ट्राचार विरोधी अभियन्ता मानिने भरत जंगमले खुलासा गरेका छन्।

कु सूचनाको उदहारण संसदीय प्रतिवेदनले क्लिन चिट दियो भनेर भीडलाई बहाकाउनु हो। त्यो भीडमा एक से एक पत्रकार जगदीश खरेल देखि सबै सामेल भए। संसदीय समितिका संयोजक लाइ पनि अल्मालाइयो । महाभारतमा ’ असोस्थमा मर्यो ’ भन्ने आवाज सुन्दा दोर्ण ले त्यसको सत्यापन गर्न एक पटक युधिष्ठिरलाई सोध्न चाहेका थिएं। तर युद्धको तुमुल ध्वनिमा असिस्वाथमा हात्ती हो कि मान्छे भन्ने प्रष्ट हुन पाएन। द्रोण आफनो छोरो मरेको पीरले सन्तापमा परे। यँहा त सार्वजनिक रूपमा उपलब्ध १२०० पेज को प्रतिबेदन थियो। सर्वोच्च अदालतको फैसला थियो। यसमा प्रतिशोध कुनै गुन्जायस नै थिएन। त्यसको ठीक उल्टो रवि र उनको पार्टीले सहकारी पीडितहरु सँग प्रतिशोध लिइरहेको थियो, तिमीहरू मलाई फसाउने , तिमी हरु मलाई जेलमा राखेर नय्या पाउन योग्य हुँदैनौं भनेर ।

कुनै बेला माओवादी भूमिगत भएर खुला भएर आउँदा सरकारी र निजी गुठी को जग्गा कब्जा गर्ने अभियानमा थिए भने रविको रश्वपा स्थापना पूर्व देखि नै सहकरी कब्जा र लुट को अभियानमा रहेको घाम जत्तिकै छर्लङ्ग भएको छ। राजनीतिक मंच लाइ टेलिभिजन स्टुडियोमा बदलेका अदालतलाई समेत मिल्ने भए स्टुडियो बनाई दिने थिए। तर न्नाय मूर्तिहरुको अगाडि उनको सीप चल्न सकेन।अदालतको आफ्नो मभअयचगm हुन्छ। अदालतमा बहस हुँदा उनको पार्टीको झण्डै सबै सांसद र आधा केन्द्रीय समिति अदालतमा उपस्थित थिए। एउटा ’ पात्रता ’ विहिन नेतालाई सर्वोच्च कमान्डर माने पछि उनको पछि लाग्नेको नियति नै त्यस्तै हुन्छ।

अरूलाई सत् प्रतिशत खराब भनेर आएको रस्वपा यो २८–३० महिना २– साढे दुई वर्षको अवधिमा कति प्रतिशत सही साबित हुन सक्यो, सिंगो पार्टी आज रवि सँगै हिरासतमा छ। कार्यवाहक सभापति पनि दुई हप्ता हुँदा सम्म कसैलाई दिएका छैनन्। यस्तो पदलोलुप कार्य त ज्ञानेन्द्रको थुनामा पर्दा शेर बहादुर देउवाले पनि गरेका थिएनन्, उनले तत्काल नै गोपालमान श्रेष्ठ लाइ कार्यवाहक दिएका थिए। आज रश्वपामा फरक मत राख्ने स्वतन्त्रता पनि छैन त्यो पार्टी रविको फ्यान को पार्टीबाट बिस्तारै उनका दासहरुको पार्टीमा रूपान्तरित भएको छ। विकल्प खोजदा र नयाँ रोज्दा नेपाली जनताले यति धेरै धोका र निराशाको शिकार कसैबाट पनि हुनु परेको थिएन।

चौक्टा खान पुगेका १० लाख मतदाता झोलमा डुब्न पुगेको दुःखान्त नेपाली लोकतन्त्रको इतिहासमा एउटा कालो धब्बा बनेर रहनेछ। उनको वाल हठ र उनका दास समर्थकको रवैया हेर्दा भीरबाट लडेको चौपायालाई राम राम भन्न सकिने तर जोगाउन नसकिने अवस्थामा पुगेको देख्न सकिन्छ। रवि पक्राउ पर्दा प्रतिशोध भनेका सि के राउतले एक हप्ता पनि नहुँदै किन उनको आन्दोलनलाई समर्थन फिर्ता गरे, रविले त्यति मात्र बुझ्न सके उनको घैंटोमा घाम लाग्नेछ। विधिको साशन र भीडको राजनीति अलग कुरा हुन्। पोखराको जेल बसाइले उनलाई सद्बुद्धि दिन सकोस्। हाम्रो नेताले कपालमा लगाउने जेल र मेहेन्दी पाएनन भनेर रोइलो गर्नु भन्दा हाम्रो नेता पनि सहकरी प्रकरणमा छानबिनका लागि पक्राउ परेका ६०० अरु नागरिक जस्तै हुन भनेर सामान्य अर्थमा बुझ्न सके बेस हुनेछ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार ०८:३२