७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

हुन्डाइको कोना जीएल इभी किन्दै हुनुहुन्छ ? यस्तो छ प्रयोगकर्ताको सुझाव

७ कात्तिक, काठमाडौँ । नेपालमा पछिल्लो समय इलेक्ट्रिक कारको प्रयोग व्यापक भएको छ । पेट्रोल र डिजेलमा लाग्ने खर्च धेरै हुने र इलेक्ट्रिक कार चढ्दा खर्च निकै कम हुने भएकाले धेरैले विद्युतीय कार रोजिरहेका छन । तर विद्युतीय कार बिक्री गर्ने बिक्रेताहरूले पर्याप्त सर्भिस सेन्टर समेत खोलेका छैनन् तर कार व्यपारका लागि भने आक्रमक विज्ञापन गरिरहेका छन ।

उपभोक्ताले खर्च बचतका नाममा अन्य कुरा नबुझी कार खरिद गर्दा भविष्यमा आइपर्ने समस्याका बारेमा भने खासै सोचेका छैनन् । सामान्य समस्या देखा पर्दा पनि त्यसको समाधानका लागि काम गर्ने जनशक्ति नेपालमा छैनन् । छोटो समयमै आक्रमक बजार बिस्तार भएको इभी कारले भोलिका दिनमा सिर्जना हुने समस्याका बारेमा व्यवसायी, राज्य  र उपभोक्ता कसैले पनि सोचेको देखिदैन ।

हुन्डाइको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि नेपाल भित्र्याएको कोना जीएल इलेक्ट्रिक कार किनेका ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष ध्रव अधिकारीले किनेको कार दुई सातादेखि ग्यारेजमा थन्किएको छ । डिस्प्लेमा रेड इन्डिकेटर देखाएका कारण मर्मतका लागि हुन्डाइएको धापासीमा रहेको सर्भिस सेन्टरमा लगेको कार अझै कति दिनमा निस्कन्छ भन्ने जानकारी छैन । अधिकारीले सामाजिक सञ्जाल मार्फत इभी किन्नेहरू सचेत रहन भन्दै अपिल गर्नुभएको छ ।

dainiki.com

उहाँले जनचेतनका लागि भन्दै सामाजिक सञ्जाल मार्फत भन्नुभएको छ, ‘सबैमा जन चेतनाको लागि मैले मेरो इलेक्ट्रिक (कोना हुन्डाई गाडी) को ईन्डिकेटरमा रातो बोलेर मर्मतको लागी हालेको आज २ हप्ता भयो अझै कति दिन लाग्नी हो थाहा छैन रे …!  यस्तो पाराले इलेक्ट्रिक कोना हुन्डाई गाडी तपाईहरू चढनु हुन्छ ..! !  गाडी किन्नु भन्दा अगाडी एक चोटी ठण्डा दिमाखले सोच्नु हुन सबैमा हार्दिक अनुरोध गर्दछु …!!!’

अधिकारीले दैनिकीसँग थप कुरा गर्दै सर्भिस सेन्टरले एक जनामात्र प्राविधिक रहेकाले अझै कति समय लाग्छ भन्न नसकिने भनेर जानकारी दिएको बताउनुभयो । हुन्डाइको कार नै मर्मतमा समस्या छ भने अन्य विद्युतीय गाडीको अवस्था के होला भन्ने गम्भीर प्रश्न तेर्सिएको छ । नयाँ गाडीमा खासै समस्या नहुने भएकाले तत्कालका लागि खासै समस्या नदेखिए पनि भोलिका दिनमा यसले बिकराल रूपमा लिने देखिएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार १७:४५