५ कार्तिक २०८१, सोमबार | Mon Oct 21 2024

प्रचण्डका कारण विपक्षी नेताको बिचल्ली, बालुवाटारमा प्रचण्ड नदेखेपछि निराश हुँदै फर्किए

५ कात्तिक, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ पार्टीका नेतालाई चिया पिउने नाममा विपक्षी दलको बैठक बोलाएर विवादित बनाएको एक साता नपुग्दै सोमबार फेरि अर्को घटना भएको छ ।

आफू जुम्ला पुग्नुभएका प्रचण्डले सोमबार समयमै सूचना नदिँदा अन्य विपक्षी नेता कहिले सिंहदबार त किहले बालुवाटार गरेर बिचल्लीमा पर्नुभएको छ । पार्टीको कार्यक्रममा सहभागी हुन जुम्ला पुग्नु भएका प्रचण्डको सचिवालयले विपक्षी मोर्चामा रहनुभएका अन्य पार्टीका नेतालाई समयमै सूचना नदिएर बालुवाटारमा बिचल्लीमा पारिदिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग अपरान्ह ४ बजेर ३० मिनेटका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समय लिएको थियो । मन्त्रिपरिषद् बैठक अचानक स्थगित गर्नुपर्ने नयाँ परिस्थिति सिर्जना भएपछि प्रधानमन्त्रीले विपक्षी मोर्चाका लागि सिंहदबारको साटो प्रधानमन्त्री निवास बालुवाटारमा निम्तो दिनुभएको थियो । स्थान परिवर्तन भएको जानकारी विपक्षी नेताहरूले पाए पनि प्रचण्ड ४ बजेर ३० मिनेटमा नपुग्ने जानकारी पाएनन् ।

४ बजे सिंहदरबारको केन्द्रीय चमेना गृहमा रहनुभएका आम जनता पार्टीका अध्यक्ष प्रभु साह र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता समेत रहनुभएका विपक्षी मोर्चाको कार्यदलका सदस्य शिशिर खनाल हतारहतार बालुवाटार लाग्नुभयो । साह स्कोरपियोमा बालुवाटार लाग्नुभयो भेन खनाल स्कुटर चढेर बालुवाटार हुइँकिनुभयो । तर बिडम्बना उहाँहरू ४ बजेर ३० मिनेटको साइत छोप्न बालुवाटार पुग्दा ज्ञापनपत्रको नेतृत्वकर्ता प्रचण्ड बालुवाटार पुग्नुभएको थिएन ।

त्यहाँ पुगेर विपक्षी नेताहरूले पूर्व प्रधानमन्त्री समेत रहनुभएका प्रचण्डको सोधीखोजी गर्दामात्र थाहा भयो उहाँ त जुम्लाको कार्यक्रमबाट काठमाडौँ फर्किनुभएको नै रहेनछ । त्यसपछि प्रचण्डको समय लाग्ने जानकारीसहित ज्ञापनपत्रको समय राति ८ बजेका लागि तय भयो ।

नयाँ समय तय भएसँगै हस्याङफस्याङ गर्दै बालुवाटार पुग्नुभएका साह र खनालसहितका नेता ट्वाँ पर्दै बालुवाटारबाट निस्कनुभयो । अब राति ८ बजे विपक्षी मोर्चाले ज्ञापन पत्र बुझाउने कार्यक्रम छ । मोर्चामा रहेका अधिकांश दल फुट्ने तयारीमा रहेका कारण सरकारले राजनीतिक दल सम्बन्धी ऐनमा केही संशोधनसहित अध्यादेश जारी गर्ने तयारी गरेपछि विपक्षी दलहरू हारगुहारमा लागेका छन् ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार १७:५१