४ कार्तिक २०८१, आईतवार | Sun Oct 20 2024

पक्राउको ८ घण्टापछि रवि लामिछाने कास्की प्रहरीको हिरासतमा

३ कार्त्तिक, पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका पूर्व गृहमन्त्री रवि लामिछानेलाई कास्की प्रहरीको हिरासतमा पुर्याइएको छ।  पक्राउको ८ घण्टापछि लामिछानेलाई हिरासत प्रवेश गराइएको हो ।

शुक्रबार साँझ ६ः४५ बजे काठमाडौँको वनस्थलीबाट पक्राउ परेका लामिछानेलाई शनिबार बिहान २ः४५ बजे जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा पुर्याइएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट एसपी होबिन्द्र बोगटीको नेतृत्वमा खटिएको प्रहरी टोलीले लामिछानेलाई काठमाडौँबाट पक्राउ गरी कास्की प्रहरीको जिम्मा लगाएको हो ।

सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि अदालतबाट अनुमति लिएर लामिछानेलाई पक्राउ गरिएको हो । पोखरा पुर्याउने बित्तिकै लामिछानेलाई पहिला पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा लगेर स्वास्थ्य परीक्षण गरी हिरासत लगिएको छ ।

हिरासत प्रवेश गरेको केही समयमै लामिछानेलाई राष्ट्रिय स्वतन्त्र पार्टीका दुई जना उपाध्यक्ष डिपी अर्याल र स्वर्णिम वाग्ले तथा पत्नी निकिता पौडेलले भेटिसकेका छन । वाग्ले हवाइ मार्गबाट पोखरा पुगेका हुन भने अर्याल र पौडेल लामिछानेकै पछिपछि सडक मार्गबाट पोखरा पुगेका हुन ।

जिल्ला प्रहरी कार्यालय अघि चितवनबाट लगिएका तीन दर्जन जति रास्वपाका कार्यकर्ताले नाराबाजी समेत गरेका छन । उनीहरूले सहकारी ठगीको आरोपमा पक्राउ परेका रवि लामिछाने जिन्दावाद भन्दै सहकारी पीडितलाई न्याय दे भन्ने नारा लगाएका थिए । पोखरा लानेक्रममा सडकमा पनि कतै रवि समर्थकले नाराबाजी गरेका थिए भने कतै सहकारी पीडितहरूले कडा कारबाहीको माग गर्दै नाराबाजी गरेका थिए ।

 

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार ०६:५३