२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

पूर्व गृहमन्त्री रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी

२ कात्तिक, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहनुभएका पूर्व गृहमन्त्री रवि लामिछानेका विरूद्धमा पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेलाई पक्राउ गर्न शुक्रबार अनुमति दिएको जिल्ला अदालत कास्कीले जनाएको छ । अदालतका अनुसार लामिछानेसहित १३ जनाका नाममा पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले माग गरे अनुसार अदालतले पक्राउ पुर्जी जारी गरेको हो । नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीको सभापतित्वमा बनेको संसदीय विशेष समितिले गरेको सिफारिस कार्यान्वयनका लागि प्रहरीले लामिछानेविरूद्ध पक्राउ माग गरेर अदालतमा निवेदन दिएको हो ।

पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन आरोपमा पक्राउ पर्ने भएपछि लामिछाने अहिले पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा कार्यकर्ता र पत्रकार जम्मा गरेर बस्नुभएको छ । संसदीय समितिको प्रतिवेदनको परिच्छेद ८ मा सहकारी ठगी प्रकरण सहकारी ऐन २०७४, मुलुकी अपराध संहिताको किर्तेसम्बन्धी दफा, संगठित अपराध निवारण ऐन २०७० र सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ का कानुन आकर्षित हुने उल्लेख छ।

पोखराको सूर्यदर्शन, चितवनको साहारा, बुटवलको सुप्रिम र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडियामा मात्र ६५ करोड ५४ लाख रुपैयाँ ल्याइएको थियो, कम्पनीमा अध्यक्ष जीबी राई र प्रबन्ध निर्देशक लामिछाने रहनुभएको थियो । जिबी अहिले पनि फरार रहनुभएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार १७:३३