१ कार्तिक २०८१, बिहीबार | Thu Oct 17 2024

एभरेष्ट बैंकको ३० औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

१ कात्तिक, काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले ३० औं वार्षिकोत्सव मिति २०८१ साल कार्तिक १ गते का दिन भव्यताका साथ मनाएको छ ।

उक्त्त अवसरमा बैंकको प्रधान कार्यालय, लाजिम्पाटमा रक्तदान तथा बैंकमा लामो समयसम्म सेवा गर्ने कर्मचारीहरुलाई दीर्घ सेवा पदक तथा कदर पत्र वितरण गरिएको छ ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम घोषणा समेत गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, दैवी प्रकोप, वातावरण संरक्षण, संस्कृति प्रबर्धन लगायतका क्षेत्रहरूमा सहयोग तथा परोपकारी कार्य गर्दै आइरहेको छ ।

३० औं वार्षिकोत्सवको अवसरमा काठमाण्डौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताललाई भवन निर्माण कार्यका लागि बैंकको तर्फबाट रु एक करोडको आर्थिक सहयोग गरेको छ ।

उक्त कार्यक्रममा एभरेष्ट बैंकका संचालक समितिका अध्यक्ष बालगोपाल बैद्य र प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रुपमा अस्पतालका अध्यक्ष प्रा। डा। भगवान कोइरालालाई उक्त चेक हस्तान्तरण गर्नुभयो । यसबाट अस्पताल निर्माणमा थप टेवा पुग्ने र बालबालिकाहरुले सुलभ तथा गुणस्तरीय स्वास्थ सेवा प्राप्त गर्ने बैंकले विश्वास लिएको जनाएको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत नै बैंकले नेपाल रेडक्रस सोसाइटी, बागबजार काठमाडौँको सहकार्यमा रक्तदान कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा बैंकका कुल ४८ जना कर्मचारीले रक्तदान गरेका छन् ।

पञ्जाव नेशनल बैंक, भारत, संगको संयुक्त लगानीमा स्थापित यो बैंक स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइमा रहेको छ । करिब १४ लाख ग्राहक संख्या रहेको यस बैंकका देशभर १२९ शाखा कार्यालय, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु र १६७ एटिएम मेशीनसहित विश्वब्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले बिभिन्न ३२ स्थानबाट नेपाल सरकारको राजस्व संकलन कार्य समेत गर्दै आइरहेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहीबार १८:००