१ कार्तिक २०८१, बिहीबार | Thu Oct 17 2024

राष्ट्रिय वाणिज्य बैंकद्वारा ११७ जना नवनियुक्त अधिकृतहरुलाई पूर्व सेवाकालिन तालिम प्रदान

१ कात्तिक, काठमाडाैँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट प्रदेशगत रुपमा छनौट भएका ११७ जना नवनियुक्त अधिकृतहरुलाई चौध दिने पूर्व सेवाकालिन तालिम बिहिबारबाट काठमाडौंमा सञ्चालन गरिरहेको छ ।

तालिमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत देबेन्द्ररमण खनालले प्रतिस्पर्धी बजारमा बैंकले लिएको उद्धेश्य कार्यन्वयनमा यो ठुलो संख्याको जनशक्तिको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । जनताको ठुलो विश्वास बैंक प्रति रहेको हुँदा व्यवसायीक ढङ्गबाट कार्य गर्ने सोच बनाउनु पर्ने बताउनुभयो ।

उहाँले विभिन्न प्रक्रिया पश्चात बैंकले एकपटक ठुलो संख्यामा युवा अधिकृतहरुलाई नियुक्ति दिएर बैंकिङ्ग क्षेत्र मार्फत देश र नागरिकको सेवा गर्ने अवसर प्रदान गरेको बताउनुभयो । अरु सहायक स्तरका कर्मचारीहरुको भर्ना प्रक्रिया छिट्टै पूरा भएपछी बैंकले दिने सेवा र उत्पादकत्व बढ्ने बताउनुभयो ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत खनालले नवनियुक्त सहायक प्रबन्धक, उपप्रबन्धक, प्रबन्धक र बरिष्ठ प्रबन्धक तहका जम्मा ११७ जना अधिकृतहरुलाई बैंकको कर्मचारी सेवा विनियमावली बमोजिम शपथ समेत गराउनु भएको थियो ।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरु सरस्वती अधिकारी, देवेश प्रसाद लोहनी, मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले नवनियुक्त अधिकृत कर्मचारीहरुलाई बधाई तथा शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतरु पवन रेग्मी, विनयरमण पौडेल, दुर्गा कुमारी कँडेल, रामकुमार थापा र तालिम तथा सिकाई विकागका विभागीय प्रमुख पद्य्मा लक्ष्मी जि.सी. लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २९४ वटा शाखा कार्यालय, ३१२ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहीबार १७:४१