२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

शान्ति सेनामाथि भएको आक्रमणको नेपालसहित ३४ राष्ट्रले गरे निन्दा

२९ असोज, काठमाडौँ । दक्षिणी लेबनानमा तैनाथ शान्ति सेनामाथि इसराइलले गरेको आक्रमणको नेपालसहित ३४ राष्ट्रले निन्दा गरेका छन् । परराष्ट्र मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै युनाइटेड नेशन इन्टरिम फोर्स इन लेबनान (युएनआईएफआइएल)का शान्ति सैनिकहरूमाथि भएको आक्रमणको निन्दा गरेको हो।

यस्तै उक्त द्वन्द्धमा सामेल रहेका ३४ वटै राष्ट्रलाई शान्ति सैनिकको सुरक्षाको सुनिश्चितता गर्न पनि अनुरोध गरेको छ।

परराष्ट्र मन्त्रालयको उक्त विज्ञप्तिमा ३४ वटै राष्ट्रले दक्षिणी लेबनान र मिडल इस्टमा स्थिरता र शान्ति ल्याउनु मुख्य उद्देश्य रहेको युएनआईएफआइएल मिशन र यसको गतिविधिलाई समर्थन रहेको उल्लेख गरिएको छ। आइतबार लेबनानमा रहेको युएनआईएफआइएलको बेसमा इसराइली डिफेन्स फोर्सले आक्रमण गरेको थियो। उक्त आक्रमणमा कम्तिमा १५ जना सामान्य घाइते भएको र इसराइली सेनाको बेसमा रहेको मुख्य गेट भत्काएको युएनआईएफआइएलले जनाएको छ।

आइतबार इसराइली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई हिजबुल्लाहले शान्ति सैनिकलाई ‘मानव ढालको’ रूपमा प्रयोग गरेको भन्दै दक्षिण लेबननमा तैनाथ शान्ति सैनिकहरूलाई ‘खतराको बाटोबाट’ हटाउन आह्वान गरेका थिए भने युएनआईएफआइएलले आफ्ना स्थानहरू छाड्न अस्वीकार गरेको छ।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलवार ११:५१