२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

मारवाडी समितिको कब्जाबाट मुक्त भएको गौशाला धर्मशालाको सबै सेवा अब निःशुल्क

२३ असोज, काठमाडाैँ । पशुपति क्षेत्र विकास कोष र काठमाडौँ महानगरपालिकाबिच सातबुँदे सहमति भएपछि पशुपति गौशाला धर्मशाला खाली गराउन सुरू भएको छ । पशुपति गौशाला धर्मशाला सञ्चालन र व्यवस्थापन गर्ने सन्दर्भमा कोष र महानगरबीच सात बुँदे सहमति भएपछि महानगरको प्रहरी टोली गौशाला पुगेर बुधबार अपरान्ह धर्मशाला खाली गराउने काम गरेको छ ।

कोष र महानगरबिच भएको सहमतिमा मारवाडी सेवा समितिले व्यापार गरिरहेको पशुपति गौशाला धर्मशालामा अब गैरनाफामूलक र पूर्ण निःशुल्क रुपमा भक्तजनलाई सेवा दिने उल्लेख छ । तर अहिलेसम्म मारवाडी सेवा समितिले १९ वटा सटरबाट मासिक ३५ हजारभन्दा बढी असुल्ने तथा होटल, लज, रेस्टुरेन्ट, डायलासिस सेन्टर र व्यावसायिक प्रयोजनकै लागि जर्सी गाई पालेर दुध बेच्ने गरेको छ । समितिले धर्मशालामा व्यापार गरेर ५० लाख रुपियाँभन्दा बढी आम्दानी गरे पनि कोषलाई वार्षिक ५१ हजार रुपियाँ मात्रै बुझाउने गरेको छ ।

मारवाडी सेवा समितिले २१ वर्षदेखि कौडीको भाउमा कब्जा गरेको पशुपति गौशाला धर्मशाला काठमाडौँ जिल्ला अदालतको असोज १६ गतेको फैसलापछि कोषकै स्वामित्वमा आएको हो । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले गरेको फैसलापछि कोष सञ्चालक परिषद्को असोज २० गतेको निर्णयअनुसार कोष र महानगरपालिकाबिच धर्मशाला सञ्चालन र व्यवस्थापनसम्बन्धी सम्झौता भएको छ ।

मारवाडी सेवा समितिले २०६० मा श्रीपशुपतिनाथ अमालकोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) सँग भएको सम्झौता अनुसार वार्षिक ५१ हजार रुपियाँ ‘सहयोग’ बुझाएर होटल, लज, रेस्टुरेन्ट, डायलासिस सेन्टर र जर्सी गाई पालेर व्यापार गरी पशुपतिको सम्पत्तिमा रजाइँ गर्दै आएको थियो ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाका अनुसार कोष र महानगरपालिकाबिच भएको सहमतिमा काठमाडौँ महानगरपालिका–८, स्थित (साबिक पशुपति वडा नं. २ (क) कित्ता नम्बर ८३ को चार आना १५ पैसा दुई दाम, कित्ता नम्बर ८५ मा चार रोपनी १० आना र हाल वडा नं. ८ कित्ता नम्बार ३ को तीन रोपनी पाँच आना तीन पैसा तीन दाम कित्ता नम्बर १५ को चार रोपनी आठ आना एक दाम र कित्ता नम्बर १६ को ११ आना एक पैसा तीन दामको घरजग्गामा सञ्चालन गर्न सम्झौता भएको छ ।

डा. थापाले गौशाला चोकस्थित पशुपति गौशाला धर्मशालाको घरजग्गालाई काठमाडौँ महानगरपालिकाले गौशाला धर्मशाला तथा सामाजिक, धार्मिक कार्य तथा सेवाका लागि आवश्यक पूर्वाधारको विकास गरी सञ्चालन तथा व्यवस्थापन गर्ने सहमति भएको बताएका छन् ।

 

सहमतिपत्रमा घरजग्गा गैरनाफामूलक प्रयोजन, गौशाला धर्मशालाका रूपमा सञ्चालन व्यवस्थापन गरी धार्मिक सामाजिक कार्यमा उपयोग गर्ने समझदारी भएको छ । सहमतिपत्रमा गौशाला सञ्चालन गर्ने, पशुपतिनाथ मन्दिरमा आउने श्रद्धालु भक्तजनलाई निःशुल्क भोजन, अन्नदान स्वीकार गर्ने तथा आवास सेवा सञ्चालन गर्ने धर्मशाला सञ्चालन, निःशुल्क सार्वजनिक शौचालय सञ्चालन गर्ने भनिएको छ ।

डा. थापाका अनुसार निःशुल्क आधारभूत स्वास्थ्य सेवा सञ्चालन, विपत्मा परेका मानिसका लागि मानव सेवा व्यवस्थापन, सूचना केन्द्र सञ्चालन, सार्वजनिक पुस्तकालय स्थापना तथा सञ्चालन, सहरी स्वास्थ्य प्रवर्धन केन्द्र सञ्चालन र व्यवस्थापन समितिले उपयुक्त ठहर गरेका अन्य सामाजिक तथा धार्मिक कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ । डा. थापाका अनुसार सहमतिबमोजिमको गौशाला एवं धर्मशाला सञ्चालन तथा व्यवस्थापन गर्न दुई पक्षीय सम्झौता र कार्यविधि निर्माण नभएसम्मका लागि काठमाडौँ महानगरपालिका–८ का वडा अध्यक्ष आशामान संगत संयोजक रहने गरी व्यवस्थापन समिति गठन गरिएको छ ।

समितिमा काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन विभागका विभागीय प्रमुख र पशुपति क्षेत्र विकास कोषले तोकेका प्रतिनिधि दुई जना सदस्य, काठमाडौँ महानगरपालिकाका प्रमुखले तोकेको व्यक्ति एक जना सदस्य रहने छन् ।
सम्झौतापत्रमा गौशाला धर्मशाला सञ्चालन तथा व्यवस्थापन गर्न व्यवस्थापन समितिले आवश्यक योजना तथा कार्यक्रम, वित्तीय स्रोत व्यवस्थापन गर्न कोष र महानगरसँग समन्वय तथा सहकार्यका कार्यक्रम तय गर्न सक्ने उल्लेख छ ।

गौशाला धर्मशाला सञ्चालन, व्यवस्थापनसम्बन्धी सम्झौता भएको मितिबाट र कार्यविधि पहिलो पक्षको सञ्चालक परिषद्को स्वीकृतिपछि महानगरको नगर कार्यपालिकाबाट स्वीकृत भई स्थानीय राजपत्रमा प्रकाशित भएको मितिबाट लागु हुने छ ।

मारवाडी सेवा समितिले २०६० को सम्झौताभन्दा अघि नै धर्मशाला सञ्चालन गर्दै आएको बताएको छ । समितिका निवर्तमान अध्यक्ष कैलाशचन्द्र गोयलले धर्मशाला सञ्चालन ८४ वर्षदेखि सञ्चालन गरिरहेको, २०६० मा सहयोग सम्झौता भएको र आफूहरू मोही भएको दावी गर्नुभएको छ । २०६० मा सम्झौता हुँदा तत्कालीन अमालकोट कचहरीका तर्फबाट द्वारे कृष्णलाल वैद्य र सेवा समितिका तर्फबाट महासचिव शिवभगवान अग्रवालले हस्ताक्षर गरेको उहाँको दाबी छ ।

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार १५:३७