२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

बाढी–पहिरोको क्षतिबारे सातै प्रदेशका मन्त्रीसँग ऊर्जा मन्त्रीको छलफल

२१ असोज, काठमाडौँ ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले लगातारको अबिरल बर्षाले बाढी–पहिरोका कारण देशभर भएको क्षतिबारे सातवटै प्रदेशका मन्त्री तथा सचिवसँग छलफल गर्नुभएको छ ।

मन्त्री खड्काले आइतबार सातवटै प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री र सचिवसँग ‘भर्चुअल बैठक’ गरी बाढीपहिरोका कारण भएको क्षतिबारे र अब गर्नुपर्ने कामका बारेमा जानकारी लिनुभयो। उक्त बैठकमा मन्त्री खड्काले देशभर बाढीपहिरोका कारण भएको क्षतिबारे ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा अर्बौं रूपैयाँको क्षति पुगेको भन्दै यसलाई पुनर्निर्माणका लागि तीनवटै सरकार सहकार्य गरेर अगाडि बढ्नुपर्ने पनि बताउनुभयो ।

छरिएर रहेको बजेटलाई एक ठाउँमा राखेर खर्च गर्नका साथै दुई ठूला पार्टी मिलेर मजबुद सरकार बनेकाले जनतालाई अनुभूति हुने खालको काम गर्नुपर्ने मन्त्री खड्काले सबै प्रदेशका सरकारलाई आग्रह गर्नुभयो ।

त्यस्तै, बैठकमा ऊर्जा सचिव सुरेश आचार्यले पनि बाढीपहिरोका कारण नयाँ आयोजना सम्पन्न गर्न कठिनाइ भइरहेको भन्दै पुराना आयोजना पुनः निर्माण र सकिन लागेका आयोजनालाई सम्पन्न गर्न सबै लाग्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार १३:११