६ पुष २०८१, शनिबार | Sat Dec 21 2024

संकटकालमा राति २ बजे मोहन सरसँग पढ्न जाँदा…

-सनतकुमार शर्मा

सल्यान सदरमुकाम खलंगाको हिमदृश्य अंग्रेजी स्कुलमा कक्षा ६ मा पढ्दै गर्दा हाम्रा सहपाठीमध्येबाट एक जना साथीले भन्यो— हाइस्कुलको मोहन सर त म्याथमा खतरा हुनुहुन्छ रे । जस्ता पनि प्रब्लमहरू छुमन्तरमै समाधान गरी दिनुहुन्छ रे । लामाचौताराको पाठशालामा ट्युसन पढाउने कुरा छ रे । हामी पनि पढम् है ।

मैले ‘हुन्छ’ भनेर सहमति जनाएँ । त्यो दिन स्कुल छुट्टी भएपछि घर नफर्केर सिधै लामाचौताराको खड्गदेवी स्कुल पुग्यौँ । त्यहाँ लुहापिङको हाइस्कुलमा पढ्ने कक्षा ६ देखि १० सम्मका विद्यार्थी जम्मा भएका थिए ।

म निजी स्कुलमा पढे पनि मेरा दाजु तथा दिदीहरू सरकारी स्कुलमै पढ्नुभएको हो । उहाँहरूबाट मैले मोहन सरबारे थोरै भए पनि सुनेकै थिएँ । त्यसैले पाठशालामा ट्युसन पढाउनुहुन्छ भन्ने सुन्नासाथ त्यहाँ पुगेको थिएँ । त्यसभन्दा पहिले म मोहन सरलाई चिन्दिनथेँ ।

ट्युसन कक्षा सुरु हुने भयो । मेरो पहिलो दिन थियो । पहिलो पिरियड म्याथकै रहेछ । कक्षामा होहल्ला बढी थियो । अचानक चुस्स दाह्री पालेको, मैलो कोठे सर्ट, निलो प्यान्ट र गोल्डस्टार जुत्ता लगाएको दुब्लो मानिस हातमा चक र डस्टर बोकेर प्रवेश गर्नुभयो । एकाएक कक्षाकोठाको होहल्ला सन्नाटामा परिणत भयो ।

कक्षा शान्त बन्यो, मसहित नयाँ विद्यार्थीको परिचय लिनुभयो अनि कक्षा अगाडि बढ्यो । अंकगणितका हिसाब सिकाउन थाल्नुभयो । साह्रै सरल र सहज अनुभूति भयो । मनमा खुसीको सीमा नै रहेन । एवं रितले कक्षा चल्दै गयो । गणितका हिसाबहरू सजिला लाग्न थाले ।

केही समयपछि खड्गदेवीको ट्युसन कक्षा पनि अवरुद्ध भयो अनि कक्षा ६ को वार्षिक परीक्षा पनि भयो । सबैभन्दा राम्रो नतिजा पनि गणितमै आयो । कक्षा ७ को पढाइमा सरसँग मेरो सम्पर्क भएन । मैले आफ्नै स्कुलको भरमा कक्षा ७ उत्तीर्ण गरेँ ।

कक्षा ८ मा जिल्लास्तरीय परीक्षा हुन्थ्यो, त्यसैले पढाइमा अलि मेहनत गर्नुपर्ने थियो । त्यो समयमा हाम्रो स्कुलमा म्याथ पढाउने राम्रो शिक्षक भएको जस्तो मलाई लाग्दैन किनभने हामीभन्दा अघिल्लो ब्याचहरू कक्षा ९ र १० का विद्यार्थीलाई पनि बिहान र बेलुकाको समय मिलाएर मोहन सरले नै पढाउनुहुन्थ्यो ।

म र मेरा सहपाठीहरू सन्देश, सञ्जीव, रञ्जित, विष्णु, विमर्श, सरला, चेतना र रुमिनाले मोहन सरसँगै म्याथ पढ्ने सल्लाह ग¥यौँ । अनि सरको घरमा पुगेर अनुरोध ग¥यौँ । सरले आफूसँग समय कम भए पनि तिमीहरू पढ्छौ भने म समय निकालेर पढाउँछु भन्नुभयो ।

हामी खुसी भयौँ । सोही बखत ‘सर फी कति हो ?’ भनेर सोध्न पाको थिएन । ‘तिम्रो सम्पत्ति कति छ ? सबै दिन सक्छौ ?’ भनेर प्रतिप्रश्न गर्नुभयो । हामी सबै चुपचाप बस्नुको विकल्प नै भएन । सरले विद्यार्थीका लागि न रात भन्नुभयो, न गर्मी, न जाडो, न हिउँद, न बर्खा, न त चाडपर्व नै भन्नुभयो ।

विद्यार्थीहरू निखार्न र तिखार्नका लागि आफ्नो कुनै ख्याल नै गर्नुभएन । सबै विद्यार्थीलाई निःशुल्क रूपमा शिक्षा बाँडिरहनुभयो । यस्ता महान् शिक्षक पाउने हामी इतिहासकै भाग्यमानी विद्यार्थी हौँ ।

मोहन सरको घरमा एउटा गोठ पनि थियो । गाईबाख्रा नभएपछि सो गोठको तल्लो तलालाई कक्षाकोठा र माथिल्लो तलामा टाढाका विद्यार्थी बस्ने गर्थे । कक्षा ८ को जिल्लास्तरीय परीक्षा पनि पास गरियो । अब त ९ कक्षा पढ्ने भइयो । झन् पढाइको चाप पर्नु स्वाभाविक नै भयो । स्कुल सुरु भएदेखि नै हाम्रो पढाइ सुरु भइहाल्यो । निरन्तर बेलुका सरकै दलानमा पटकी/गुन्द्री ओछ्याएर हाम्रो कक्षा चल्ने गथ्र्याे ।

साथी सन्देश आफ्नो घरको काममा अलि व्यस्त हुन्थ्यो । किनकि उसको ठूलो किराना तथा फेन्सी पसल थियो । र, छ पनि । ऊ समय समयमा पसलको सामान लिन दाङ–काठमाडौँ जान्थ्यो । ऊ सामान लिन गएका बेला उसको क्लास छुट्थ्यो । अनि बेलाबेला सरले ‘सन्देश तिमी त पूर्णेको जून जस्तो बेलाबेला मात्र झुल्किन्छौ त ? यसरी कहाँ हुन्छ ? एसएलसी परीक्षा दिने विद्यार्थीले अलि मेहनत गर्नुपर्छ,’ भन्नुहुन्थ्यो ।

यस्तै प्रकारले कक्षा ९ पनि सकियो । अब त १० कक्षा अर्थात् एसएलसीको विद्यार्थी पो भइयो । १० कक्षाको पढाइ सुरु भयो, गत वर्ष जस्तै सरसँग कक्षा पनि सुरु भयो ।

ऐच्छिक गणित विषय मलाई अलि कठिन लाग्थ्यो । बेलुकाको कक्षा निरन्तर चल्दै थियो । ऐच्छिक गणितमा अलि मेहनत गर्नुपर्ने भएपछि सरसँग डराईडराई बिहान पनि पढाइदिन अनुरोध गरेँ । सरले बिहान ५ः३० बजे मलाई क्याम्पस पढाउन जानुपर्छ, त्योभन्दा अगाडि आउछौ भने आऊ भन्नुभयो । हामीले हुन्छ भन्यौँ र भोलिपल्टदेखि बिहान ४ बजे सरको घरमा पुगेर पढ्न थाल्यौँ ।

देशमा संकटकाल चलेको थियो । माओवादी र सरकारबीच दिनहुँ जस्तो भिडन्त चलेको थियो । दिनहुँ मान्छे मरेका समाचार आइरहन्थे । बेलुका ७ बजेदेखि बिहान ४ बजेसम्म हिँडडुल गर्न निषेध गरिएको थियो ।

एक दिन बेलुका स्कुलबाट फर्कने क्रममा बाटोबाटोमा अनि नाकानाकामा पुलिस र आर्मीहरू तैनाथ थिए । बाटो हिँड्ने मानिसलाई केरकार गर्दै थिए— कहाँबाट आएको ? कहाँ जाने हो ? बन्दुक बोकेर दौडेको कोही देखेको हो ?

आज किन यस्तो गरेका छन् भनेर मनमा जिज्ञासा लागेको थियो ।

त्यतिकैमा गणेशस्थाननजिक पुगेपछि थाहा भयो कि एक जना माओवादीले बैंकको गार्डको बन्दुक खोसेर लगेको । घरमा आजभोलिको जस्तो बिजुलीबत्ती पनि नहुने हुँदा लालटिन र टुकीको जोहो गर्नुपथ्र्याे । राति टुकी बालेर पढेका दिन भोलिपल्ट बिहान मुख धुँदा नाकबाट कालो ध्वाँसो हातभरि आउने गरेको ताजै छ । कहिलेकाहीँ त पढ्न बस्दा निद्राले झुलाउँथ्यो र टुकीको ज्योतिले कपालसमेत जलेको छ ।

बिहान ३ः३० बजे उठ्ने, फ्रेस हुने, झोला बोक्ने, पढ्न जाने दिनचर्या नै बनेको थियो । यता डाँडागाउँबाट सुधा आचार्य, माला भण्डारी, रञ्जित बस्नेत र म जान्थ्यौँ । ४ बजे सरको घरमा पुग्थ्यौँ ।

मसँग घडी थिएन । एक दिन निद्रा खुलिहाल्यो । यसो हेरेको बाहिर उज्यालो थियो ।

अहो ! आज त ढिलो भइहाल्यो, मलाई नबोलाई साथी गएछन् भन्ने ठानेर ज¥याकजुरुक उठेर मुख धोई झोला बोकेर हिँडिहालेँ । हिँड्दै जाँदा अरू दिनको भन्दा सुनसान थियो । सानो लाइट बाल्दै अगाडि बढेको थिएँ । नेपाल बैंकभन्दा अगाडि हनुमानस्थाननजिक पुगेको थिएँ ‘हल्ट, स्टप’ भन्ने आवाज आयो ।

म झसंग भएँ अनि टक्क अडिएँ । ‘हेन्डसप्’ फेरि आवाज आयो । मैले दुवै हात माथि उठाएँ । बादल सरको घरतिरबाट टाउकोमा लाइट बालेर हातमा बन्दुक ताक्दै एक जना आयो । मेरो दायाँबायाँ र पछाडिबाट चार÷पाँच जना बन्दुक ताकेर मतर्फ आए । मेरो सातो उड्यो । मैले टेकेको जमिन भासिएको जस्तो भयो ।

टाउकोमा लाइट बालेको मान्छेले टाढैबाट ‘को हो ? कहाँ जान लागेको ?’ भनेर सोध्यो । मैले आफ्नो परिचय दिँदै ‘एसएलसी परीक्षा आउन थाल्यो, मोहन सरसँग ट्युसन पढ्न जान थालेको’ भनेर जवाफ दिएँ । ‘यति रातिमा केको ट्युसन ? तँ माओवादी होस् ?’ भनेर जंगियो । अनि मलाई थाहा भयो, बैंकको सुरक्षाको लागि खटिएको आर्मी भनेर ।

‘म विद्यार्थी हुँ । माओवादी होइन । बिहान ४ वजे सरले पढाउनुहुन्छ । त्यहीँ पढ्न जाँदै छु’ डराउँदै भनेँ ।

‘अझ झुट बोल्छस् ? अहिले कति बज्यो ?’

मेरा हात गलिसकेका थिए । मैले हात बिस्तारै तल झार्न खोजेँ । त्यत्तिकैमा ‘पुनः हात माथि, किन तल ?’ भनियो । फेरि हात माथि तन्काउँदै ‘४ बज्यो होला’ भनेँ ।

उनीहरू सबै चारैतिरबाट नजिक आए । मेरो अनुहारमा लाइटले फोकस गरेका छन् । मैले आँखा राम्रोसँग देख्न पनि सकेको छैन । यत्तिकैमा अलि नजिक आएर हेडलाइटवालाले ‘झोलामा के छ ?’ भन्यो । मैले ‘किताबकापी छ’ भनेँ ।

उसले खोलेर देखा भन्यो । तर एउटै हातले खोल् पो भन्छ । मैले एउटा हात माथि उठाउँदै अर्को हातले झोला तल राखेर खोलेँ अनि किताबकापी देखाएँ । किताबका पाना पल्टाउन लगाए उनीहरुले ।

मैले सोही गरेँ । अब साँच्ची विद्यार्थी भएको पुष्टि भयो अनि झोलामा पनि विस्फोटक पदार्थ नभएको प्रमाणित भएपछि भने, ‘हेर भाइ अहिले रातको २ बजेको छ । यस्तो संकटकालको बेला रातिमा हिँड्ने काम नगर्नू, फेरि तातो गोली खानुपर्ला ।’

सम्झाउने काम गरेर मलाई छोडियो । म डराईडराई सरको घरमा पुगेर पेटीमा टुसुक्क बसिराखेँ ।

भित्र कोठामा घुरघुर घुरेको र स्वाँस्वाँ आवाज आइरहेको थियो । धेरै लामो समय कुरेपछि भाले बासेको आवाज आयो । केही बेरपछि सरको बहिनी उठ्नुभयो । दैलो लिप्नुभयो । उहाँले आज कति बिहानै आको त भन्नुभयो । मैले अँ आज चाँडै आएँ भनेँ । उहाँले सरलाई उठाइदिनुभयो । सरले पनि सनत आज त चाँडै आएछौ भन्नुभयो ।

मैले हजुर भनेर जवाफ दिएँ । हाम्रो पढाइ अगाडि बढ्यो । सरको बहिनीले मरीच राखेको पिरोपिरो कालो चिया खान दिनुभयो । बिहानको ५ बजेपछि अब क्याम्पस जानुपर्छ, आजलाई यत्ति नै भन्नुभयो सरले अनि सर क्याम्पस लाग्नुभयो । म घर आएँ ।

यो सबै कथा मैले आमालाई सुनाएँ । आमा पनि तर्सनुभयो । आमाले यो सबै कथा दाइहरूलाई सुनाएपछि मेरा लागि एउटा टेबुल घडी किनिदिनुभयो । अनि, त्यही घडीको तालमा मेरो दिनचर्या अगाडि बढ्यो ।

यस्तैमा सरले हाइस्कुलमा पढाउन छोड्नुभयो । हामीलाई जिज्ञासा लाग्यो किन सरले छोड्नुभयो भनेर पछि बुझ्दै जाँदा शिक्षा ऐन, शिक्षा नियमावलीले शिक्षकहरूको योग्यताको प्रमाणपत्र खोज्न थालेपछि सरसँग मावि र क्याम्पसमा पढाउने कागजको खोस्टो नभएपछि छोड्नुपरेको रहेछ ।

एसएलसीपछि उच्च शिक्षा अध्ययन गर्न काठमाडौँ पुगेँ । विज्ञान विषय पढ्न क्याम्ब्रिज कलेजमा भर्ना भएँ । कलेज पढ्दा म्याथ पिरियडमा सधैँ मोहन सरको याद आउन थाल्यो । मोहन सरले कति सरल र सहज ढंगले पढाउनुहुन्थ्यो । त्यहाँ त शिक्षक आयो ह्वाइट बोर्डमा मार्करले खरर हिसाब गर्यो गयो ।

दसैँ बिदाको बेला म्याथ बुक बोकेर घर आउने अनि नजानेका नबुझेका हिसाब सरसँग सिक्थेँ । सर ज्ञान बाँड्ने कुरामा कहिल्यै पनि पछि पर्नुभएन । सरलाई कुनै कुराको लोभ अनि मोह भएन ।

सरको बानी चुरोट र रक्सी अलि बढी नै पिउने थियो । कतिपय साथीहरूले त सरले तानेर फालेको चुरोटको ठुटो उठाएर तान्यो भने सरको जस्तै हिसाब खरर गर्न सकिन्छ भनेर ठुटो तान्छन् भन्ने सुनेको थिएँ । एउटा त्रिकोणमितिको समस्या समाधान गर्दा सर एकछिन रोकिनुभयो, घोत्लिनुभयो अनि एउटा खुकुरी चुरोटको खिल्ली सल्काउनुभयो । एक–दुई पटक मात्र के तान्नुभएको थियो, कलम सरर बगेर समाधान नहुँदासम्म रोकिएन । (धूमपान हानिकारक छ, यो संयोग मात्र हुन सक्छ ।)

सर एकपटक अलि ठूलै बिरामी पर्नु भएछ । नाकबाट रगत बगेको बग्यै भएछ । काठमाडौँको टिचिङ अस्पतालमा भर्ना हुनुभएको कुरा जानकारी भयो । म कक्षा १२ मा पढ्थेँ, काठमाडौँमै थिएँ । हाम्रो ब्याचका सबै साथीलाई खबर गरेँ अनि सरलाई भेट्न गयौँ । नाक अप्रेसन गरेर पट्टीले बन्द गरेको अवस्थामा सरलाई देख्दा साह्रै भावुक भएँ म ।

त्यो दिनभरि हामी सरसँगै अस्पतालमा बस्यौँ । त्यो दिन सरले जीवनजगत्का बारेमा धेरै कुरा सिकाउनुभयो । नैतिक र इमानदार बन्न प्रेरणा दिनुभयो । सरको शिक्षा र प्रेरणाले आज जहाँ छु, खुसी छु ।

सल्यान जिल्लाको शिक्षाको नक्षत्र आदरणीय गुरु मोहनसिंह थापालाई द्वन्द्वकालको समयमा विद्यालयको अध्यापन सकेर घर फर्कने क्रममा नेपाली सेनाका तत्कालीन लेफ्टिनेन्ट विदुर थापाले गरेको धरपकड खेदपूर्ण र निन्दनीय छ ।

एसएलसी परीक्षा दिएर बसेकी मेरी साथी हालकी जीवनसाथी सुधा आचार्यलाई खाली बस्नु हुँदैन आऊ, स्कुल पढाऊ भनी आग्रह गर्नुभयो मोहन सरले । सो समयमा सरले विष्णु मेमोरियल एकेडेमी (पछि नाम परिवर्तन भएर एमएम एकेडमी) नामको विद्यालय सञ्चालन गर्नुभएको थियो ।

सुधाले पढाउन थालेको एक महिना नपुग्दै एसएलसीको नतिजा आयो अनि उच्च शिक्षाका लागि बाहिर जानुपर्ने भयो । सरले सुधालाई दिएको नगद चार हजार रुपैयाँ उनको जीवनको पहिलो कमाइ भयो र सधैँ स्मरणयोग्य भयो । यसरी उहाँका हजारौँ विद्यार्थी जसरी हामी दम्पती उहाँप्रति आजीवन ऋणी, कृतज्ञ र धन्य छौँ ।

(सल्यानका शिक्षासेवी मोहनसिंह थापा (२०१० असोज १९–२०७१ जेठ २४) को जन्मजयन्तीका अवसरमा असोज १९ गते शनिबार सल्यानमा सार्वजनिक हुने पुस्तक ‘मोहन सरः व्यक्ति र स्मृति’बाट । पुस्तकमा ४५ जनाका लेखका साथै मोहन सरका डायरीका पाना, तस्बिर, दस्तावेज संगृहीत छन् । पुस्तकका संरक्षक मोहन सरका भाइ भूपेन्द्रसिंह थापा तथा बहिनी सोबिता थापा हुन् भने पुस्तकका सम्पादक मोहन सरका विद्यार्थी प्रवीण भण्डारी र विमल आचार्य ।)

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार १९:१८