१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

उपभोक्ताको गुनासो- हरेक सामान किन्दा बार्गेनिङ गर्नुपर्छ, महँगो छ

१८ असोज, काठमाडौँ । काठमाडौँ उपत्यकामा दसैँ लागेसँगै बजारमा किनमेल गर्ने मानिसहरुको चहलपहल सुरु भएको छ ।  उपत्यकाका मुख्य बजार न्युरोड, असन, महाबौद्ध, भोटाहिटी, भृकुटी मण्डपलगायतका बजारमा दसैँको लागि किनमेल गर्न उपभोक्ताहरु बजारमा निस्कँदा बजार चहलपलह देखिन थालेको हो ।

तर व्यापारीहरुले भने विगतको तुलनामा ७५ प्रतिशत व्यापार कम भएको र बजारलाई दसैँ नलागेको बताइरहेका छन् ।

तर उपभोक्ताहरुले भने हरेक सामान विगतको तुलनामा महङ्गो रहेको गुनासो गरेका छन् ।

काठमाडौँको न्युरोड,महाबौद्ध,भोटाहिटी र भृकुटी मण्डप लगायतका मुख्य बजारमा दसैँका लागि किनमेल गर्न आएका सर्वसाधरणले सोचेको भन्दा बजार महँगो रहेको प्रतिक्रिया दिएका छन् । व्यवसायी तथा व्यापारीहरुले पनि गत वर्षको तुलनामा २० प्रतिशतसम्म बजार मूल्य बढेर आएको स्वीकार गरेका छन् । काठमाडौँको असनमा किनमेल गर्न आएका पूर्णचन्द्र भट्टले विगत वर्षको तुलनामा बजार धेरै महँगो भएको र हरेक सामान किन्दा बार्गेनिङ गर्नुपरेको बताए ।

उनले कुनैपनि पसलहरूमा महिला, पुरुष तथा बालबालिकाले लगाउने कपडामा मूल्य सूचीहरु नभएको बताए ।

उनले सरकारले सबै व्यवसायी दर्ता र वस्तुको मूल्यसूची राख्ने व्यवस्था गर्नुपर्ने भन्दै पसलमा मूल्यसूचि नहुँदा व्यापारीहरुले जति भने पनि हुने अवस्था देखिएको बताए । उनले पसलैपिच्छे एउटै समानको मूल्य फरक–फरक भन्ने गरेको पनि बताए ।

उनले सरकारले बजारलाई नियन्त्रण गर्न आवश्यक रहेको भन्दै बजार नियन्त्रण नभए आम सर्वसाधरण जनता मूल्यवृद्धिको मारमा परिरहेने अवस्था रहेको समेत बताए ।

अर्को सुकेधाराबाट किनमेलको लागि आएकी रुपा गुरुङको भनाई पनि त्यस्तै रहेको छ । उनले विगतको तुलनामा बजारमा सामानको मूल्य २ सय रुपैयाँ भएपनि महँगो भएको पाइएको बताइन् ।

त्यस्तै, भक्तपुरबाट न्युरोडमा किनमेल गर्न आएकी क्रिषा भट्टराईले भने फरक प्रतिक्रिया दिएकी छन् । उनले विगतको भन्दा अहिले सस्तोमा समान पाउन थालेको बताउदै पहिले एक हजार रुपैयाँ भन्दा तलको मूल्यमा कुनैपनि सामान नपाउने अवस्थामा अहिले एक हजारमा राम्रो एक जोर लुगा किन्न सकिने अवस्था रहेको बताइन् ।

अधिकांश उपभोक्ताहरुले बजार महँगो भएकाले यो वर्षको दशैँ महँगो हुने भएको प्रतिक्रिया दिए ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार १७:०२