१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

दुप्चेश्वरको दोहनमा स्थानीय सरकार, मन्दिरको भेटीबाट पार्टी कार्यकर्तालाई तलब

१५ असोज, नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा अवस्थित प्रसिद्ध धार्मिकस्थल दुप्चेश्वर मन्दिरको संरक्षणको नाममा स्थानीय सरकारले लाखौँ सरकारी पैसा खोलामा बगाउन खोजेको भन्दै बिरोध भएको छ । दुप्चेश्वर गाउँपालिकाले पर्यटन विभाग अन्तर्गतको योजनामा नदी किनारामा पर्खाल लगाउन थालेपछि स्थानीयले त्यसको बिरोध गरेका हुन ।

मन्दिरको भेटिमा गोसाइकुण्ड घुम्न हिँडेको गाउँपालिकासहित मन्दिरका जागिरेहरू ।

मन्दिरको मुनीबाट बग्ने सूर्यमती अर्थात तादी नदीको अतिक्रमण रोक्ने नाममा गाउँपालिकाले सरकारी बजेटबाट खोलामाथि नै अतिक्रमण गर्न सुरू गरेको भन्दै स्थानीय समेत रहनुभएको नेकपा एमालेको बागमती प्रदेश कमिटीका सचिवालय सदस्य बलराम आचार्यले राज्यको लगानी पानीमा नबगाउन अपिल गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुक मार्फत राज्य को ठूलो लगानी पानीमा नबगाउन र नदी माथि संस्थागत अतिक्रमण नगर्न अपिल गर्नुभएको छ ।

नदीकै ढुंगा निकालेर नदीमा पर्खाल लगाउने काम गरिदै ।

नेकपा माओवादी केन्द्रका नेता समेत रहेका गाउँपालिका अध्यक्ष शंकर थापाकै योजनामा नदी मन्दिर संरक्षणको नाममा नदीमा पर्खाल लगाउन सुरू गरिएको बुझिएको छ । यद्यपी दैनिकीले यसबारे गाउँपालिकाको धारणा बुझ्न खोज्दा उहाँ सम्पर्कमा आउन चाहनु भएन । दैनिकीले यहाँ नम्बरमा पटक पटक फोन गर्दा पनि उहाँले उठाउनु भएन ।

हामीले पालिकाको धारण के रहेछ त भनेर अध्यक्ष थापाको फोन नउठेपछि प्रमुख प्रशासकीय अधिकृत कृष्ण देवकोटासँग सम्पर्क गर्दा उहाँले आफू पालिकामा हाजिर भएको केही दिनमात्र भएको र विषयका बारेमा जनताको गुनासोमात्र सुनेकाले यथार्थ बुझेर जानकारी दिने बताउनुभयो ।

नदीमै डोजर चलाएर त्यहीको ढुंगा, गिटी र बालुवा प्रयोग गरेर काम गर्दा नाफा पर्याप्त हुने भएपछि गाउँपालिकाले सोही अनुसार काम गरिरहेको छ । नदीको बीचमै डोजेर चलाएर त्यहीँको ढुंगा झिकेर खोलामै पर्खाल लगाउने काम भएको छ । स्थानीयहरूले आवाज उठाए पनि स्थानीय सरकारले भने वेवास्ता गरिरहेको छ ।

डोजरको सहायताले नदी किनारमै सडक बनाउने र माथिको माटो फाल्ने काम गरिदैँ ।

बिगतमा हिरारत्न हाइड्रोपावरको नाममा नेकपा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले नदी नै कब्जा गर्न खोज्दा आन्दोलित बनेका दुप्चेश्वरवासी गाउँपालिकाले संस्थागत रूपमा राज्यको लगानी नदीमा बगाउने प्रयत्न गरिरहँदा भने त्यति चर्को स्वरमा बोल्न सकिरहेका छन ।

योजना तर्जुमाको भन्दा फरक स्पेसिफिकेशनमा ठेक्का खुलाएर पालिकाले ठेक्कामै भ्रष्टाचार गरेको समेत पालिका स्रोतले दैनिकीलाई जानकारी दिएको छ । यसबारेमा दैनिकीले छुट्टै समाचार प्रस्तुत गर्नेछ । मन्दिरमा पछिल्लो समय भेटी समेत दुरूपयोग भएको छ । गाउँपालिकाले मन्दिरको संरक्षणका नाममा नेकपा मओवादी केन्द्रका कार्यकर्ता भर्ति गरेर भक्तजनाले चढाएको भेटी कार्यकर्तालाई तलब खुवाउन प्रयोग गरिरहेको छ । केही अघि मन्दिरकै भेटि दुरूपयोग गर्दै गाउँपालिका अध्यक्षसहितको एउटा जम्बो टोली गोसाइकुण्ड यात्रामा समेत गएको थियो । अहिले करिब १० जनाले मन्दिरको भेटीबाट तलब खाइरहेको पालिका स्रोतले बतायो ।

नदी ढुंगा निकालेर नदीमै लगाइएको पर्खाल ।

दोस्रो पशुपतिको उपमा पाएको दुप्चेश्वरमा एकमात्र फल माग्दा प्राप्त हुने जनविश्वास रहेको छ । मन्दिरको संरक्षणका लागि पछिल्लो पटक स्थानीय, प्रदेश र संघीय सरकारले बजेट बिनियोजन गरेर विभिन्न कामहरू पनि गरिरहेका छन । मन्दिरमा पहिलो पटक मन्त्रीको हैसियतमा तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पूजाअर्चना गर्नुभएको थियो । उहाँले त्यस समय संघीय सरकारका तर्फबाट पाँच करोड भन्दा बढी बजेट समेत बिनियोजन गराइदिनुभएको थियो । त्यसपछि दुप्चेश्वर मन्दिरमा धार्मिक पर्यटकको संख्या ह्वात्तै बढेको दुप्चेश्वर गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष किशोर आचार्यले जानकारी दिनुभयो । मन्दिर संरक्षण समितिकाका पूर्व अध्यक्ष समेत रहनुभएको उहाँले तत्कालीन मन्त्री ढकालले पूजाअर्चना गरेर मन्दिरका बारेमा गरेको चर्चापछि पर्यटकहरू बढेको बताउनुभयो ।

माथिदेखि नदीमा माटो फ्याँकेर पर्खाल लगाउने तयारी हुँदै ।

दुप्चेश्वर महादेव मन्दिर नुवाकोट जिल्लाको तत्कालीन राउतबेसी गाविसमा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । जिल्ला सदरमुकामदेखि ३५ किलोमिटर पूर्वको राउतवेशी गाविसको गौचरनमा रहेको मन्दिरमा विशेषत सन्तान नहुनेहरू सन्तान माग्न पुग्नेगरेका छन ।

पौराणिक कथनअनुसार चार सय वर्षअघि स्थानीय एक तामाङको दुहुनो गाई हराएपछि खोजी गर्दै जाँदा पहरोमा दुध चढाइरहेको भेटिएकाले उक्त ठाउँमा दुग्धेश्वर महादेव रहेको विश्वासमा प्रत्येक वर्ष धान्य पूर्णिमाका दिन विशेष मेला लाग्दै आएको छ । दुग्धेश्वर महादेवको अपभ्रंश हुँदै अहिले दुप्चेश्वर महादेव नाम रहन गएको जनविश्वास छ ।

दुप्चेश्वर मन्दिरमा दर्शन गर्न र पूजा गर्न नेपालका धेरै जिल्लाका नागरिकहरू जाने गरेका छन । मन्दिरको विशेष मेलाहरूमा भने नुवाकोट, राजधानी काठमाडौँ, धादिङ, रसुवालगायत मुलुकका विभिन्न जिल्लाबाट भक्तजनको बाक्लो उपस्थित हुनेगरेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलवार १२:०७