१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

मौरीपालनबाट मनग्य कमाउदै कोहलपुरकी नन्दकला, वार्षिक १४ लाख आम्दानी

१५ असोज, बाँके । कोहलपुर नगरपालिका–१२ चप्परगौडीकी ४० वर्षीया नन्दकला सिजालीले मह बेचेर वार्षिक रु १४ लाख आम्दानी गर्दै आउनुभएको छ । एक सय ३० घार मौरीपालन गर्नुभएकी उहाँले मह बेचेर वार्षिक रु १४ लाख नाफा हुने गरेको बताउनुभयो ।

एक सय ३० घार मौरी लिएर चराउन सुर्खेतको लेकफर्सामा पुग्ने गरेको सिजालीले बताउनुभयो । उहाँ बाँके, बर्दिया र सुर्खेतसम्म व्यावसायिक मौरी पालकका रुपमा चिनिनुहुन्छ । नन्दकलाले आफूलाई मौरी चराउन कुनै मौसम वा स्थानले फरक नपर्ने बताउनुभयो ।

उहाँले घरमा मह प्रशोधनका उपकरणसमेत राख्नुभएको छ । श्रीमान् भारतीय सेनामा कार्यरत भए पनि सानैदेखि परिश्रममा रमाउने नन्दकलाले महिला आर्थिक रुपमा सक्षम हुनुपर्ने धारणा राख्नुभयो । महिला आर्थिक रुपमा समृद्ध भए समाज समृद्ध हुने धारणा राख्ने उहाँले परिवार, समाज र सरोकार भएका निकायले महिलालाई स्वरोजगार बनाउने सीप तथा तालिमको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

“स्वास्थ्यका लागि मह सेवन गर्नु रामो मानिने चिकित्सकहरु पनि बताउँछन् । मौरीपालन र मह उत्पादन गर्न भने सजिलो छैन”, नन्दकलाले भन्नुभयो, “प्राकृतिक रुपमा परिवर्तन भइरहने ऋतुहरुले यसमा प्रत्यक्ष असर पार्दछ ।” उहाँले बढी जाडो र बढी गर्मी हुँदा मौरीलाई बचाउँन कठिन हुने अनुभव सुनाउनुभयो । फूल नफुलेको समयमा कृत्रिम खानासमेत बनाएर खुवाउनुपर्ने उहाँले जानकारी दिनुभयो ।

एक ठाउँबाट अर्को ठाउँमा मौरी चराउनलाई ट्रकमा राखेर लैजाने गरेको नन्दकलाले बताउनुभयो । जङ्गलमा फूलेका प्राकृतिक फूलहरुको रस खुवाउनलाई चराउन जाँदा वनमा अरिङ्गाल, कमिला, बिछ्यू, चिवेचरा, मलसाँप्रोलगायत जीवबाट मौरीलाई बचाउन गााह्रो हुने उहाँको अनुभव छ ।

“समयसमयमा हाडनाता नहोस् भनेर रानीमौरीको नश्ल सुधार गरिरहनु पर्दछ”, नन्दकलाले भन्नुभयो, “नश्ल सुधारिएको रानीमौरीको मूल्य रु पाँच–छ लाखमा किन्नु पर्दछ । जुन सामान्य किसानलाई सजिलो छैन ।” जाडो समयमा बर्दियाको राजापुर, बेलुवा र गर्मी समयमा सुर्खेतको लेकफर्र्सासम्म मौरीलाई चराउन लग्ने गरेको उहाँले जानकारी दिनुभयो ।

एक सय ३० घार मौरीबाट वार्षिक करिब ३० क्विन्टल मह उत्पादन गर्ने गरेको बताउँदै नन्दकलाले तोरी, चिउरी र रुधिलो गरी तीन किसिमको महको मूल्य क्रमशः रु छ सय, रु सात सय र रु आठ सयपर्ने जानकारी दिनुभयो । मौरीको चाकाबाट निस्कने मैन, कुटलगायतको मूल्य पनि राम्रो पाइने उहाँको अनुभव छ ।

सात वर्षअघि रु ४० हजार लगानी गरेर १० घारबाट मौरीपालन  व्यवसायलाई सुरु गर्नुभएकी नन्दकलाले अहिले करिब रु २० लाखको मह बिक्री गर्ने गरेको बताउनुभयो । सबै खर्च कटाएर वार्षिक रु १४ नाफा हुने गरेको उहाँले जानकारी दिनुभयो ।

महको बजारमा माग बढी भएकाले बजारीकरणको समस्या नरहेको नन्दकलाले सुनाउनुभयो । “काठमाडौँ, पोखरा, बुटवललगायत सहरबाट पनि माग आइरहन्छ । हालसम्म कोहलपुर र नेपालगञ्जको माग पुर्याउन नै सकिएको छैन”, उहाँले भन्नुभयो ।

नन्दकलाले आगामी दिनमा मौरीलाई बस्न घारको सङ्ख्या बढाउँदै जाने योजना रहेको बताउनुभयो । स्थानीय सरकारले व्यवसायलाई विस्तार गर्न आर्थिक, प्राविधिक सहयोग गर्नुपर्ने भन्दै उहाँले आवश्यक सीप तथा तालिम पनि दिनुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलवार ०९:०७