१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

झ्याप्ले खोलाको पहिरोमा अर्को बस पनि भेटियो, ७ जनाको शव फेला

१३ असोज, काठमाडौँ । धादिङको झ्याप्ले खोलाको पहिरोमा अर्को एक माइक्रो बस पनि भेटिएको छ । धुनिवेशी नगरपालिकाको वडा नम्बर ९ मा रहेको झ्याप्ले खोलामा पहिरो पन्छाउँदै खोजी गर्ने क्रममा अर्को माइक्रो बस पनि भेटिएको स्थानीय जनप्रतिनिधि विक्रमजंग रानाले दैनिकीलाई जानकारी दिनुभयो । उहाँले उक्त माइक्रोबसबाट ७ जनाको शव निकालिएको जानकारी दिनुभयो ।

पछिल्लो पटक भेटिएको माइक्रोबस एनबि मनकामना माइ यातायात प्रा।लि।को बा २ ख १३४५ नम्बरको हुनसक्ने अनुमान गरिएको छ । असोज ११ गते राति २ बजेर ३० मिनेटमा चितवनको पुल्चोकबाट काठमाडौँका लागि छुटेको उक्त माइक्रोबस सम्पर्कबिहीन रहेको थियो ।

सशस्त्र प्रहरीको सहायक प्रवक्ता समेत रहनुभएका डिएसपी शैलेन्द्र थापाले पनि आइतबार बिहान मात्रै पहिरो पन्छाउने क्रममा दुइ वटा सवारीबाट दश जना शव निकालिएको जानकारी दिनुभयो । यसअघि आइतबार बिहानमात्रै गोरखाबाट काठमाडौँ आउँदै गरेको बसका तीन जनाको शव निकालिएको थियो । यद्यपी उक्त बसलाई अझै पहिरोबाट निकाल्न सकिएको छैन ।

यसअघि शनिबार साँझ बुटवलबाट काठमाडौँ आउँदै गरेको एक माइक्रोबस र त्यसमा सवार १४ जनाको शव उद्धारकर्ताले फेला पारेका थिए । उद्धारकार्य अझै जारी रहेको छ । अहिलेसम्म यही झ्याप्ले खोलामा मात्रै २४ जनाको शव फेला परेको छ । अझै पहिरो पन्छाउने र सवारी साधन खोज्नेक्रम जारी नै छ ।

जनप्रतिनिधि बिक्रमजंग रानाले उद्धारस्थलबाटै आफ्ना आफन्तहरू हराइरहेको भए सम्पर्क गरिदिन अनुरोध गर्नुभएको छ । पहिरो तलसम्म पुगेको छ । अहिलेसम्म हराएको भनिएको आधारमा बढी खोजतलास भैरहेको छ । त्यसकारण रानाले कोही आफन्तहरू यात्रामा रहेको तर सम्पर्कमा नआएको भए जानकारी गराउन अनुरोध गर्नुभएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आईतवार ११:१०