२२ कार्तिक २०८१, बिहीबार | Thu Nov 7 2024

गुरुकुलमा थुनिएका ३३ जनाको सेनाको हेलिकप्टरबाट उद्धार

१२ असोज, सिन्धुली । बाढीका कारण थुनिएका सुनकोशी गाउँपालिका–१ स्थित आदिलिङ्ग कुशेश्वर महादेव मन्दिर परिसरमा रहेको गुरुकुलका ३३ जनाको उद्धार गरिएको छ । उनीहरुको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

सुनकोशी नदीको बीच भागमा अलपत्र परेका गुरुकुलका २६ बटुक (विद्यार्थी), तीन शिक्षक, दुई कर्मचारी र मन्दिरका दुई पुजारीको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो । उनीहरु शुक्रबार रातिदेखि सुनकोशीको बाढीमा फसेका थिए । सुनकोशी नदीको बाढी र रोशी खोलाको बाढी मन्दिर रहेको क्षेत्रमा पसेपछि उनीहरु बीच भागमा थुनिएका थिए ।

मन्दिरको चारैतिर बाढी पसेपछि सुरक्षित स्थानमा जान नसकेका गुरुकुलका सबैजनाको सकुशल उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी लीलाप्रसाद शर्माले बताउनुभयो । मन्दिर परिसरमा थुनिएकाहरुलाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले शुक्रबारदेखि नै प्रयास गरेको उहाँले बताउनुभयो । उनीहरुले उद्धार गर्न नसकेपछि काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टर मगाउनुपरेको प्रजिअ शर्माले बताउनुभयो ।

रोशी र सुनकोशी नदीको बाढीले सुनकोशी–५ मुल्कोट र गोलञ्जोर गाउँपालिका–७ खुर्कोट बजार समेत डुबानमा परेका छन् । दुम्जाका पाँच घर बाढीले बगाएको छ । दुम्जा र नेपालथोक बीचको बिपी राजमार्गको केही भाग बाढीले बगाएको छ । अहिले सो क्षेत्रमा यातायात सेवा बन्द छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार १९:०९