८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

२०५८ देखिका विद्यार्थीले मौका परीक्षा दिन पाउने, त्रिविले जारी गर्यो यस्तो सूचना

८ असोज, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले समय सीमा कटेका कारण परीक्षा दिन नपाएका विद्यार्थीहरूलाई मौका परीक्षा दिन पाउने अवसर दिएको छ ।

त्रिवि परीक्षा सुधार समितिका अध्यक्ष एवम् शिक्षाध्यक्ष प्राध्यापक डा। खड्ग केसीको अध्यक्षतामा सोमबार बसेको बैठकले वार्षीक प्रणाली अन्तर्गत २०५८ यता र सेमेष्टर प्रणाली अन्तर्गत २०६९ यताका विद्यार्थीले मौका परीक्षा दिन पाउने निर्णय गरेको हो ।

त्रिविले यो निर्णयको सूचना मंगलबार सार्वजनिक गरेको छ । मौका परीक्षामा त्रिवि अन्तर्गतका मानविकी तथा समाजशास्त्र, शिक्षा, व्यवस्थापन, कानून संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका विद्यार्थीहरु सहभागी हुन पाउने सूचनामा जनाइएको छ ।

समितिले त्रिविबाट सञ्चालन हुने कुनै पनि परीक्षामा एआई प्रयोग गरेको भेटिए त्यस्ता विद्यार्थीको परीक्षा रद्द गर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलवार १०:३२