३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

ठूला भनिएको पार्टीका व्यक्तिहरू काण्डै काण्डका माला भिरेर हिँडेका छन्: झलनाथ खनाल

३ असोज, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधान बनेको ९ वर्ष बितिसक्दा पनि देशका श्रमजीवि र किसानको जीवनमा खासै परिवर्तन नआएको बताउनुभएको छ ।संविधान दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले ठूला भनिएका दलको नेतृत्व तहकै व्यक्तिहरू काण्डै काण्डको माला भिरेर हिँडिरहेको पनि बताउनुभयो ।

उहाँले ठूला पार्टीहरूलाई प्रश्नसमेत गर्नुभएको छ । ‘आखिर कहाँ गयो त्यत्रो विपुल बजेटको लगानी ? किन मुठ्ठीभरका माथिल्ला वर्गका भ्रष्टाचारी, तस्कर, कालाबजारी र दलाल पुँजीपतिहरू मात्र अरबपति खरबपति बन्दै गइरहेका छन ?

खनालले जनता महँगीको मारमा पिल्सिनुपरेको,युवा र विद्यार्थीहरू विदेश जान बाध्य भएकादेखि एउटै पार्टीले दुई तिहाई बहुमत पाउँदासम्म काम गर्न नसकेको बताउनुभयो । साथै संविधानको भाग ४ मा उल्लिखित कामहरूलाई मात्रै पनि ठीक ढंगले लागू गरेको भए देश अघि बढ्ने उहाँको भनाइ छ।

उहाँले मुलुकमा राजनीतिक,सामाजिक, सांस्कृतिक संकट, आर्थिक गहिरिदै गएको र राष्ट्रियता माथिको संकट पनि चर्को बनिरहेको बताउनुभयो ।

खनालले संविधानमा उल्लेखित प्रगतिशील र समाजवादी पक्षलाई केलाउँदै ती पक्षहरूको रक्षाका निम्ति दृढतापूर्वक खडा हुन पनि आह्वान गर्नुभएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार १२:४७