३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

मेटमणि चौधरीलाई कारबाही गर्न झलनाथ खनालको माग

१ असोज, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले उपमहासचिव मेटमणि चौधरीलाई कारबाही गर्न माग गर्नुभएको छ ।

नेता खनालले सोमबार एक विज्ञप्ति जारी गर्दै चौधरीले राष्ट्रियता विरोधी र देशद्रोही अभिव्यक्ति दिएको भन्दै कडा कारबाही गर्न माग गर्नुभएको हो ।

खनालले विज्ञप्तिमार्फत् यस्ता अभिव्यक्ति दिनेलाई कारबाही गरेर पार्टीलाई स्वच्छ, दृढ, देशभक्त र समाजवादी पार्टीका रूपमा स्थापित गर्न माग गर्नुभएको हो ।

विज्ञप्तिमार्फत खनालले भन्नुभयो, ुयो त स्वरै आना राष्ट्रियता विरोधी र देशद्रोही अभिव्यक्ति पनि हो । पार्टीजस्तो देशभक्त, समाजवादी र क्रान्तिकारी पार्टीका निम्ति यो त लज्जा र घृणाको विषय पनि हो। यस्तो अवस्थामा अविलम्ब यस्ता व्यक्तिहरूलाई कडा कारबाही गर्न, यस्ता दूषित तत्वहरूबाट हाम्रो जस्तो क्रान्तिकारी र देशभक्त पार्टीलाई मुक्त बनाउन र पार्टीलाई एउटा स्वच्छ, दृढ, देशभक्त र समाजवादी पार्टीका रूपमा स्थापित गर्न म पार्टी नेतृत्व पंक्ति समक्ष जोडदार माग गर्दछु ।ु​

एक टेलिभिजन अन्तर्वार्तामा उपमहासचिव चौधरीले कालापानी, लिम्पियाधुरा र लिपुलेक भारतको भएको र भारतले नै दाबी गर्न पाउने बताउनुभएको थियो । उहाँको अभिव्यक्तिलाई लिएर पार्टीले स्पष्टीकरण सोधे पनि कारबाही भने गरेको छैन ।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलवार १२:२२