३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

सहकारी छानविन समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश

३१ भदौ, काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले कार्यादेशअनुसार तयार पारेको प्रतिवेदन संसद्लाई बुझाउनु भएको छ । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सभापति थापाले प्रतिवेदन पेश गर्नुभएको हो ।

समितिमा परेका उजुरीका आधारमा समस्याको जरैदेखि तथ्य जानकारी लिएर सम्पादन गरेको थापाले जानकारी दिनुभयो । उहाँले छानबिनका क्रममा ५६ वटा बैठक बसेको र पछिल्लो बैठकमा प्रधानमन्त्री आफैँ उपस्थित भएर सहकारी समस्या समाधानमा प्रतिबद्धता जनाउनुभएको उल्लेख गर्नुभयो । ४५१ जनासँग छलफल गरेको, ४७ जना सहकारी सञ्चालकसहित अन्य ८ जनासहित ५५ जनासँग सोधपुछ गरेको थापाले बतजाउनुभयो ।

 गत जेठ १५ गते बसेको प्रतिनिधिसभाको बैठकले नेकपा (एमाले)का सांसद सूर्य थापाको नेतृत्वमा संसदीय छानबिन विशेष समिति गठन गरेको थियो । समितिमा एमालेबाट सरिता भुसाल, नेपाली काङ्ग्रेसबाट बद्री पाण्डे र ईश्वरीदेवी न्यौपाने, नेकपा (माओवादी केन्द्र) बाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुवबहादुर प्रधान सदस्य रहनुभएको थियो ।

सभापति थापाले समितिले ४० वटा सहकारीको वित्तीय विश्लेषण गरेको संसद्लाई जानकारी गराउनुभएको छ । उहाँले कार्यादेशमा रहेर महत्त्वपूर्ण १४ वटा सुझाव पेस गरेको बताउँदै सहकारी क्षेत्र धर्मराए पनि प्रचुर सम्भावना रहेको उल्लेख गर्नुभयो ।

सहकारी क्षेत्रमा ‘फेक’ ऋणी कायम गर्ने प्रवृत्ति रहेको बताउँदै सभापति थापाले कानुनविपरित हुने काम बन्द गर्न सक्नुपर्ने सुझाव दिनुभएको छ । सभापति थापाले प्रतिवेदनले सिफारिस गरेका विषयहरू सरकारलाई कार्यान्वयनमा लैजान संसदबाटै निर्देशन दिन माग समेत गर्नुभयो । उहाँले सहकारी क्षेत्रमा मडारिएको कालो बादल प्रतिवेदनले फाँटने विश्वास समेत व्यक्त गर्नुभयाे ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार १५:५८