२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

वाणिज्य बैंकहरुको नयाँ ब्याजदरः १० बैंकले घटाउँदा २ वटाले बढाए, यस्तो छ अन्यको ब्याजदर

३१ भदाै, काठमाडौँ । वाणिज्य बैंकहरुले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । वाणिज्य बैंकहरुले असोज १ गतेदेखि लागू हुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । सोमबार प्रकाशित ब्याजदरअनुसार सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये सरकारी २ वटा बैंकले ब्याजदर बढाएका छन् भने १० वटा बैंकले ब्याजदर घटाएका छन् । यस्तै ८ वटाले भने स्थिर राखेका छन् ।

असोज महिनाका लागि बैंकहरुले मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ औसत ६.३९८ प्रतिशत र संस्थागत तर्फ ५.१०२ प्रतिशत ब्याजदर तोकेका छन् । व्यक्तिगत तर्फ औसतमा ०.१३० प्रतिशत र संस्थागत तर्फ ०.१५ प्रतिशत बिन्दुले ब्याजदर घटाएका हुन् । भदौ महिनाका लागि बैंकहरुको औसत ब्याजदर व्यक्तिगत तर्फ ६.५२८ प्रतिशत र संस्थागत तर्फ ५.२५८ प्रतिशत रहेको थियो।

१० वटा बैंकले ब्याजदर घटाए

असोज महिनाका लागि एनआइसी एशिया बैंकले व्यक्तिगत तर्फ ७.१८ प्रतिशत र संस्थागत तर्फ ६.१८ प्रतिशत व्याजदर निर्धारण गरेकाे छ । यसअघि भदाै महिनाका लागि ७.४१ प्रतिशत व्याजदर निर्धारण गरिएकाे थियाे । यस्तै एनएमबि बैंकले व्यक्तिगत तर्फ ६.५ प्रतिशत र संस्थागत तर्फ ५.५ प्रतिशत ब्याजदर ताेकेकाे छ ।

यसैगरी, कुमारी बैंकले व्यक्तिगततर्फ ६.०१ प्रतिशत र संस्थागततर्फ ५.०१ प्रतिशत व्याजदर सार्वजनिक गरेकाे छ । यस्तै प्राइम बैंकले व्यक्तिगत तर्फ ६.२५ प्रतिशत र संस्थागत तर्फ ४.५ प्रतिशत व्याजदर ताेकेकाे छ । यसैगरी सानिमा बैंकले व्यक्तिगत तर्फ ५.९ प्रतिशत संस्थागत तर्फ ४.३ प्रतिशत व्याजदर प्रकाशित गरेकाे छ । यस्तै नेपाल एसबिआई बैंकले व्यक्तिगत तर्फ ६ प्रतिशत र संस्थागत तर्फ ५ प्रतिशत ब्याजदर सार्वजनिक गरेकाे छ ।

यसैगरी, नबिल बैंकले व्यक्तिगत तर्फ ६.७५ प्रतिशत र संस्थागत तर्फ ५.७५ प्रतिशत व्याजदर दिने भएकाे छ । यस्तै एभरेष्ट बैंकले व्यक्तिगत तर्फ ६ प्रतिशत र संस्थागत तर्फ ५ प्रतिशत ब्याजदर सार्वजनिक गरेकाे छ । यसैगरी, राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत तर्फ ६ प्रतिशत र संस्थागत तर्फ ५ प्रतिशत ब्याजदर निर्धारण गरेकाे छ। भदौमा भने बैंकले व्यक्तिगत र संस्थागत तर्फ क्रमशः ६.०७ प्रतिशत र ५ प्रतिशत ब्याजदर निर्धारण गरेकाे थियाे ।

यसैगरी, सानीमा बैंकले ६.२ प्रतिशतबाट घटाएर ५.९ प्रतिशत व्याजदर कायम गरेकाे छ ।

दुई सरकारी बैंकले बढाए ब्याजदर

असोज महिनाका लागि सरकारी दुई बैंकले ब्याजदर बढाएका छन् । कृषि विकास र नेपाल बैंकले व्याजदर बढाएका छन् । यी दुई बैंकले व्यक्तिगत तर्फ क्रमशः ०.००५ प्रतिशत र ०.७ प्रतिशत बिन्दु बढाएका छन् ।

कृषि विकास बैंकले मुद्दति निक्षेपको व्यक्तिगततर्फ ६.०७ प्रतिशत र नेपाल बैंकले ५.९५ प्रतिशत ब्याज प्रदान गर्ने भएका छन् । कृषि विकास बैंकले भदाै महिनाका लागि व्यक्तिगत तर्फ ६.०६५ प्रतिशत र संस्थागत तर्फ ४.२५ प्रतिशत ब्याज प्रदान गरेको थियो । यस्तै, नेपाल बैंकले भदौ महिनाका लागि व्यक्तिगत तर्फ ५.२५ प्रतिशत र संस्थागत तर्फ ४ प्रतिशत ब्याज प्रदान गरेकाे थियाे ।

८ बैंकको ब्याजदर यथावत

असोज महिनामा ९ वटा बैंकले ब्याजदर यथावत राखेका छन् । ती बैंकहरुले भदौ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका हुन् । असोज महिनाका लागि व्याजदर यथावत राख्नेमा प्रभु बैंक, ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, स्ट्यान्डर्ड चार्टर्ड, माछापुच्छ्रे बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, हिमालयन बैंक र सिद्धार्थ बैंक रहेका छन्। यी बैंकले भदौकै ब्याजदरलाई असोजमा निरन्तरता दिएका छन्।

भदौमा व्यक्तिगत मुद्दति निक्षेपमा प्रभुले ६.१० प्रतिशत, ग्लोबल आइएमईले अधिकतम ६.२५ प्रतिशत, माछापुच्छ्रेले ६.५० प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगाले ६.५० प्रतिशत र सिद्धार्थ बैंकले ६.५० प्रतिशत ब्याजदर दिएका थिए।

त्यस्तै लक्ष्मी सनराइज र स्ट्यान्डर्ड चार्टर्डले पनि ब्याजदर स्थित राखेका छन्। यी बैंकले असोजमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम क्रमशः ६.५० प्रतिशत र ७ प्रतिशत दिने भएका छन्।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार १४:३३