२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

बैंक खाता रोक्का तथा फकुवासम्बन्धी विनियमावली जारी, यस्ता छन प्रावधान

३१ भदाै, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले बैंक खाता रोक्का तथा फकुवासम्बन्धी विनियमावली, २०८१ जारी गरेको छ । असोज १ गतेदेखि लागू हुने गरी राष्ट्र बैंकले विनियमावली जारी गरेको हो । बैंक खाता रोक्का राख्न तथा रोक्का रहेका बैंक खाता फुकुवा गर्ने सम्बन्धी व्यवस्थालाई थप स्पष्ट, पारदर्शी र व्यवस्थित बनाउन विनियमावली जारी गरिएको राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ११० को प्रयोजनको लागि नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ११० को उपदफा (२) को खण्ड (ण) ले दिएको अधिकार प्रयोग गरी सञ्चालक समितिबाट पारित गरेर विनियमावली तर्जुमा गरिएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तो छ खाता रोक्का वा फुकुवासम्बन्धी प्रक्रियाः

(१) प्रचलित कानुनको अधीनमा रही कुनै इजाजतपत्रप्राप्त संस्थामा रहेको खाता रोक्का गर्नको लागि अधिकारप्राप्त अधिकारीले सो कानुनको व्यवस्था स्पष्ट उल्लेख गरी देहायबमोजिमको व्यहोरा खुलाई राष्ट्र बैंकसमक्ष लिखित रूपमा अनुरोध गरेमा राष्ट्र बैंकले इजाजतपत्रप्राप्त संस्थालाई अविलम्ब खाता रोक्का गर्न निर्देशन दिनेछ ।

(अ)  प्राकृतिक व्यक्ति भएमा

क) खाता रोक्का गर्नुको स्पष्ट कारण ।

ख) खातावालाको नागरिकता, पासपोर्ट, राष्ट्रिय परिचयपत्र, वा अन्य यस्तै प्रकारको नेपाल सरकारले जारी गरेको निजको स्पष्ट परिचय खुल्ने आधिकारिक विवरण तथा निजको तीनपुस्ते विवरण ।

dainiki.com

(आ)  कानुनी व्यक्ति भएमा

क) खाता रोक्का गर्नुको स्पष्ट कारण ।

ख) फर्म, कम्पनी तथा संस्थाको खाता रोक्का गर्नुपर्दा खातावालाको आधिकारिक नाम, ठेगाना, दर्ता नम्बर र स्थायी लेखा नम्बर ।

(इ) कुनै निश्चित खाता मात्र रोक्का राख्नुपर्ने अवस्थामा रोक्का राख्नुपर्ने खाताको खाता नम्बर र खाता रहेको बैंकको विवरण ।

(ई) आशिक खाता रोक्का राख्नुपर्ने भएमा रोक्का राख्नुपर्ने खाताको खाता नम्बर, रोक्का राख्नुपर्ने रकम (अक्षर र अङ्कमा) र खाता रहेको बैंकको विवरण । तर प्रचलित कानुनमा खाता रोक्का गर्ने सम्बन्धी स्पष्ट व्यवस्था नभएको अवस्थामा वा अधिकार प्राप्त अधिकारीबाहेकका अन्य व्यक्तिबाट आएका पत्रका आधारमा खाता रोक्कासम्बन्धी प्रक्रिया अघि बढाउन राष्ट्र बैंक बाध्य हुने छैन ।

(२) प्रचलित कानुनबमोजिम कुनै कसुरको अनुसन्धानको सिलसिलामा अधिकारप्राप्त अधिकारीले राष्ट्र बैंकसमक्ष खाता रोक्का वा फुकुवाका लागि अनुरोध गर्नुपर्नेछ ।

(३) बैंक खाता रोक्का वा फुकुवाको लागि सम्बन्धित अधिकारप्राप्त अधिकारीले राष्ट्र बैंकमा पत्र पठाउदा यथाशीघ्र प्राप्त हुने गरी तोकिएको ठेगानामा पठाउनुपर्नेछ । यस्तो पत्र इमेलमार्फत समेत पठाउन सकिनेछ ।

४. बैंक खाता फुकुवा गरिनेः

खाता रोक्का राख्न अनुरोध गर्ने निकायको अधिकारप्राप्त अधिकारील आंशिक रोक्का रहेको खाता फुकुवा, निश्चित रोक्का रहेको खाता फुकुवा वा सम्पर्ण रोक्का रहेको खाता फुकुवा गर्न अनुरोध गरेबमोजिम रोक्का रहेका खाता फकुवा गर्न राष्ट्र बैंकले इजाजतपत्रप्राप्त संस्थालाई निर्देशन दिनेछ । तर, रोक्का रहेको खाता अदालतको आदेशबमोजिम फुकुवा गर्न इजाजतपत्रप्राप्त संस्थालाई राष्ट्र बैंकको निर्देशन अनिवार्य हुने छैन ।

यस्तो छ विनियमावली

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार १२:०२